१२ असार २०८३, शुक्रबार

सोमालियाको मोगादिसुस्थित एक होटलमा आक्रमण, पाँच जनाको मृत्यु

मंसिर २५, २०७६
सोमालियाको मोगादिसुस्थित एक होटलमा आक्रमण, पाँच जनाको मृत्यु

सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

तीन सर्वसाधारणसहित पाँच व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । लामो समयसम्म होटेलमा गरिएको कब्जापछि पाँँच आक्रमणकारी पनि मारिएका सो स्रोतले थप जानकारी दिएको छ । 

मंगलबार साँझको समयमा भएको यस आक्रमणको इस्लामिक समूह ‘अल शबाब’ले जिम्मा लिएको छ ।

राजधानी मोगादिसुमा अवस्थित सो होटल राजनीतिज्ञ, उच्चस्तरीय सैनिक अधिकारी र कुटनीतिज्ञहरु भेला हुने प्रख्यात स्थलको रुपमा रहेको बताइन्छ । 

‘हाम्रा बहादुर सुरक्षा अधिकारीहरुले ‘एसवाइएल’ होटलमा भएको यस आतंककारी आक्रमणलाई अन्त्य गरे, यस अवस्थामा सरकारी अधिकारी र पाहुनालगयात ८० भन्दा बढी व्यक्ति होटेलमा रहेका थिए,’ प्रहरीद्वारा जारी एक विज्ञप्तिमा बताइएको छ । 

यस आक्रमणमा परी तीन सर्वसाधारण र दुई सुरक्षा अधिकारी मारिएको पुष्टि भएको छ । त्यसगरी नौ सर्वसाधारण र दुई सैनिक सामान्य घाइते भएका छन् । 

आक्रमणकारीहरूले प्रहरीको पोशाक लगाएर होटेलमा आएकाले उनीहरुलाई कुनै अनुसन्धान बिना नै होटेलमा प्रवेश गर्न दिइएको प्रत्यक्षदर्शीले एएफपी समाचार समितिलाई बताएको छ । 

आक्रमणकारीहरुले बन्दुक र ग्रेनेडलगायतका हतियारले आक्रमण गरेका थिए । यसअघि यसै होटल र नजिकैको स्थानमा भएका तीन भीषण आतङ्ककारी आक्रमणको पनि अल शबाव समूहले नै जिम्मा लिएको थियो । 

टर्कीका राष्ट्रपति रेसेप तयिप एर्डोगानको भ्रमणको पूर्वसन्ध्यामा जनवरी २०१५ मा यसै होटलमा भएको एउटा आत्मघाती कारबम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको थियो ।

फेब्रुअरी २०१६ मा एसवाइएल होटलनजिकै पीस गार्डेनको छिमेकमा पर्ने स्गामामा भएको दुईवटा विस्फोटमा परी १६ व्यक्तिको ज्यान गएको थियो ।

सन् २०१६ को नै अगस्टमा यसै होटेलमा भएको आत्मघाती कारबम आक्रमणमा परी १५ व्यक्तिको ज्यान गएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्