
बुटवलको कालिकानगरका सुजल र साहस भण्डारी न्यु होराइजन माविमा पढ्छन् । विद्यालय नपुगुन्जेल ठूला र साना सडक पार गर्नुपर्छ । उनीहरूलाई आमा रञ्जुले प्रत्येक बिहान विद्यालय पुर्याउँछिन् र छुट्टी भएपछि लिन पनि पुग्छिन् । ‘एक्लै बाटो काट्न डर लाग्छ,’ सुजलले भने, ‘सधैं ममीको हात समातेर स्कुल पुग्छौं ।’ सुजलका अनुसार मुख्य सडकमा गाडीको रफ्तार धेरै हुन्छ ।
बुटवल–भैरहवाको ६ लेन सडकमा बनाइएको आकासे पुल र पुलैमुनि जेब्रा क्रसबाट सडक पार गर्दै विद्यार्थी । तस्बिर : घनश्याम/कान्तिपुर
भित्री सडकमा पनि गाडी धेरै हुन्छन् । सडकमा जेब्राक्रस छैन । ‘जहाँ गाडीको चाप कम देखिन्छ, त्यहींबाट सडक पार गर्नुपर्छ,’ रञ्जुले भनिन् ।
रञ्जुका कान्छा छोराको छुट्टी ३ बजे हुन्छ । जेठो छोराको पढाइ ४ बजे सकिन्छ । त्यसैले रञ्जु छोरा लिन दुईपटक विद्यालय पुग्नुपर्छ । ‘मसित हिँड्दा त छोराहरू आत्तिन्छन्,’ उनले भनिन्, ‘एक्लै पठायो भने झन् के होला !’ न्यु होराइजनमै नर्सरीमा अध्ययनरत आविष्कार भट्टराईकी आमा सरिताले छोरालाई सुरक्षित ढंगले विद्यालय पुर्याउन आफैं जानुपरेको बताइन् । ‘आफू नजाने हो भने बसस्टप लगेर गाडी चढाउनुपर्छ,’ उनले भनिन्, ‘विद्यालय समयमा भित्री सडकमा भीडभाड हुने भएकाले अरू काम थाती राखेर छोरा छाड्न/लिन आउने गरेकी छु ।’
रञ्जु र सरिताजस्तै थुप्रै अभिभावकले सडकमा जोखिम रहेका कारण छोराछोरीलाई आफैं विद्यालय पुर्याउने र त्यहाँबाट ल्याउने गर्छन् । न्यु होराइजनमा कक्षा ८ मा पढ्ने ओजस्वी आचार्य, कक्षा ७ का पूर्णिमा श्रेष्ठ र प्रज्ञा रानाले भित्री सडकमा पनि विद्यालय परिसर नजिक जेब्राक्रस हुनुपर्ने बताए । ‘भीडका कारण सडक पार गर्न गाह्रो हुन्छ,’ ओजस्वीले भनिन्, ‘आँखा झिमिक्क गर्यो कि गाडी ठोक्किन आइसक्छ ।’
बुटवल–बेलहिया ६ लेन सडकसँग जोडिएको कालिका माविमा अध्ययनरत नीरञ्जन चौधरीले आकाशे पुल बनेपछि ढुक्क भएको बताए । ‘जेब्राक्रसबाट हिँड्दा पनि गाडी रोकिँदैनन्,’ ११ कक्षामा अध्ययनरत उनले भने । उनका साथीहरू मोहम्मद उस्मान, सराफत अली, आकाशराज भट्ट, धीरेन्द्र विक र सुदीप जीसीले सडकमा गाडीको लापरबाही देखेर हिँड्न मन नलाग्ने बताए । भित्री सडक होस् या मुख्य राजमार्ग, पैदलयात्रीका लागि जोखिमयुक्त रहेको सराफत अलीले बताए । ‘जेब्राक्रसबाट पार गरे पनि चालकले हतपत गाडी रोक्दैनन्,’ उनले भने, ‘मौका छोपेर पार गर्नुपर्छ ।’
पाल्पाको तानसेनस्थित कक्षा–८ मा अध्ययनरत आस्मा रेग्मीलाई विद्यालय आउजाउ गर्दा सडक पार गर्नुपर्छ । बर्तुङ–तानसेन सडक खण्डअन्तर्गत काजीपौवाबाट सडक पार गरेपछि मात्र विद्यालय पुगिन्छ । ‘सडक काट्ने बेला डर लाग्छ,’ उनले भनिन् ।