२१ जेठ २०८३, बिहीबार

अज्ञात रोगले मर्न थाले बंगुर

मंसिर २७, २०७६
अज्ञात रोगले मर्न थाले बंगुर

सप्तरीमा अज्ञात रोगको संक्रमणले बंगुर धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

रुपनी गाउँपालिका–६ मा किसानले सञ्चालन गरेको बंगुर फार्ममा संक्रमण फैलिएर बंगुर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

३ दिन बितिसक्दासमेत रोगको पहिचान हुन सकेको छैन । ‘रोगको पहिचान हुन नसक्दा उपचार नपाएर बंगुर मर्ने क्रम जारी छ,’ फार्म सञ्चालक कुलानन्दप्रसाद चौधरीले भने, ‘रोगको पहिचान हुन नसक्दा उपचारसमेत गराउन पाइएको छैन ।’

सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि रोकथाममा चासो नदिँदा फार्म नै रित्तो हुँदै गएको चौधरीले दुःखेसो गरे । 

शरीर काम्ने, तापक्रम बढ्ने, मुखबाट र्‍याल बग्ने जस्ता लक्षण देखिएको १ घण्टा नबित्दै बंगुर मर्ने गरेका सञ्चालक चौधरीले बताए । बुधवारसम्म ५० बंगुर मरिसकेपनि सम्बन्धित पक्ष गम्भीर नभएको उनको गुनासो छ । 

फार्ममा अझै १५ बंगुरमा संक्रमण देखिएको छ । अज्ञात रोगबारे पशु स्वास्थ्य प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले समेत फार्ममै आएर जानकारी लिए पनि रोग पहिचान हुन सकेको छैन ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाका प्रमुख फुलगेन यादवले संक्रमण देखिएका बंगुरको रगत संकलन गरी परीक्षणका लागि पठाइएको जानकारी दिए । परीक्षणको प्रतिवेदन आएलगत्तै ठोस उपचार गरिने जनाउँदै उनले तत्कालका लागि संक्रमित क्षेत्रमा पशु स्वास्थ्य प्राविधिक टोली खटाइने बताए ।

बंगुर मर्ने क्रम नरोकिएपछि सो स्थानमा फार्म सञ्चालन गरेका अन्य किसानसमेत चिन्तित भएका छन् । सो स्थानमा मात्रै करोडौं लगानी गरेर भद्रकुमारी लामा, सुबास राई, सञ्जमान तामाङ लगायतले बंगुर फार्म सञ्चालन गरेका छन् ।
पशु स्वास्थ्य सम्पर्क केन्द्रका प्रमुख सूर्यनारायण शर्माले रोग फैलिएको पुष्टि गर्दै सोबारे माथिल्लो निकायमा जानकारी गराइएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्