१८ असार २०८३, बिहीबार

हिमपातले अवरुद्ध राजमार्ग सञ्चालन

मंसिर २८, २०७६
हिमपातले अवरुद्ध राजमार्ग सञ्चालन
फाइल फोटो

लगातारको वर्षासँगै परेको हिमपातका कारण शुक्रवार दिउँसोबाट अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अहिले सञ्चालन भएको छ ।

सडक डिभिजन कार्यालयको डोजर, स्थानीय र प्रहरीको सहायतामा राजमार्ग शनिबार दिउँसोबाट सञ्चालन गरिएको हो । 

लामो समयपछि राजमार्ग सञ्चालन भएपछि अहिले उक्त क्षेत्रमा शुक्रवारदेखि रोकिएका सवारी साधन तथा यात्रु आ–आफ्नो गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए ।

हिमपातले राजमार्ग अवरुद्ध हुँदा पहाडदेखि तराई जाने तथा तराईबाट पहाडका लागि आउँदै गरेका सयौं यातायातका साधन तथा यात्रु शुक्रवार रातिदेखि उक्त राजमार्गको हगुल्ट भन्ने ठाउँमा अलपत्रमा परेका थिए । हिमपातसँगै चिसो बढेकाले यहाँको जनजीवन प्रभावित भएको छ ।  

हिमपातका कारण अवरुद्ध राजमार्ग खुलाइएपनि सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क भने अझै सञ्चालन भएको छैन । पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लामा सञ्चार सम्पर्क जोड्नका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावरमा हिमपातका कारण खराबी आएकाले शुक्रवार रातिदेखि सञ्चार सम्पर्क अवरुद्ध भएको हो ।

अवरुद्ध भएको सञ्चार सञ्चालन गर्न अझै समय लाग्ने नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ । 

शुक्रवार रातिदेखि टेलिफोन सेवा, नेपाल टेलिकमद्वारा वितरण गरिएको एडीएसएल लगायतका इन्टरनेट सेवा पनि पूर्णरुपमा अवरुद्ध भएको छ । 

ल्यान्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएपनि मोबाइल सेवा तथा हटस्पोट इन्टरनेट सेवा भने आंशिक रुपमा सञ्चालन रहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्