
कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्षको विशेष कुर्सीमा प्रधानमन्त्री केपी शर्मा ओली नै बसेका छन् ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली विशेष कुर्सीमा बसे भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्य नेताहरूसरह सोफामा बसेका थिए ।
मंसिर ४ गते बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिएको थियो । कार्यकारी अधिकार पाएपछि प्रचण्डले मंसिर १८ र मंसिर २३ गते नेकपा सचिवालय बैठकको अध्यक्षता गरेका थिए ।
आइतवार बसेको बैठकमा भने अध्यक्ष प्रचण्ड नेता माधवकुमार नेपालसँगै सोफामा बसेका थिए ।
अस्वस्थताका कारण पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवाल बैठकमा ओली सहभागी भएका थिएनन् ।
प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि तेस्रो सचिवालय बैठक बस्दा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली आइतवार पहिलोपटक सहभागी भएका हुन् ।
बालुवाटारमा बसेको बैठकमा अध्यक्ष ओली केहीबेर सहभागी भएको र आफ्नो स्वास्थ्य अवस्थामा तीव्र ढंगले सुधार आइरहेको जानकारी बैठकपछि प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीलाई गराए ।
बैठकमा नेताहरूले अध्यक्ष ओलीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका थिए ।
मंसिर १० गते ओलीको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।
आइतवार बसेको सचिवालय बैठकले दिउँसो बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गरेको थियो ।
प्रवक्ता श्रेष्ठका अनुसार स्थायी कमिटी बैठकका लागि सीमा समस्या लगायत पाँचवटा एजेन्डा तय भएका छन् ।
नेकपाको स्थायी कमिटी बैठक १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।
नेकपा सचिवालयले तय गर्यो स्थायी कमिटी बैठकको कार्यसूची, यी हुन् ५ एजेन्डा