०१ साउन २०८३, शुक्रबार

प्रचण्डको अध्यक्षतामा धुम्बाराहीमा शुरू भयो नेकपाको स्थायी कमिटी बैठक

मंसिर २९, २०७६
प्रचण्डको अध्यक्षतामा धुम्बाराहीमा शुरू भयो नेकपाको स्थायी कमिटी बैठक

प्रमुख सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू भएको छ ।

अघिल्लो वर्ष मंसिर २९ गतेयता नेकपा स्थायी कमिटी बैठक पहिलोपटक बसेको हो । ठ्याक्कै एक वर्षपछि बसेको बैठकको अध्यक्षता पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । यसका अलावा विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक र नेपाल भारत सीमा विवादका विषयमा पनि बैठकमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजै बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटीका लागि पाँच बुँदे कार्यसूची तय गरेको थियो ।

नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीलगायत नेताहरूसँग छलफल गरी स्थायी कमिटीमा पेश गर्ने दस्तावेज तयार गरेका हुन् ।

स्थायी कमिटी बैठकमा अध्यक्ष ओली भने स्वास्थ्यका कारण सहभागी छैनन् ।

यसअघि मंसिर २३ को सचिवालय बैठकले पार्टीका सदस्यको अभिलेखीकरण, नवीकरण र प्रशिक्षण अभियान सञ्चालनबारे संगठन विभागले दिएको कार्ययोजनालाई अघि बढाउनेलगायतका निर्णय गरेको थियो ।

उक्त बैठकले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेलगायत यसअघि सचिवालयले गरेका निर्णयलाई समावेश गरी विधान संंशोधनको प्रस्ताव आजको स्थायी कमिटी बैठक र आवश्यकताअनुसार केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने निर्णय पनि गरेको थियो । 

यसैगरी केन्द्रीय निकाय र विभागका सदस्यको पूर्णताका लागि सम्बन्धित प्रमुख र उपप्रमुखले सात दिनभित्र महासचिवमार्फत प्रस्ताव पेश गर्न सोही बैठकले आग्रह गरेको थियो । तर सचिवालयको आजको बैठकमा स्याथी कमिटीको एजेण्डाबाहेक अरू विषयमा प्रवेश नगरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यही मंसिर ४ गते बसेको सचिवालय बैठकले नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार र अर्का अध्यक्ष प्रचण्डले पार्टीको काम हेर्ने गरी कार्यविभाजन गरेको थियो ।

कार्यविभाजनपछि पार्टीको काममा प्रचण्डको सक्रियता बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्