२५ जेठ २०८३, सोमबार

काँग्रेसभित्र शक्ति संघर्ष बढ्दो, पौडेल समूहद्वारा बैठक बहिष्कार

मंसिर ३०, २०७६
काँग्रेसभित्र शक्ति संघर्ष बढ्दो, पौडेल समूहद्वारा बैठक बहिष्कार
फाइल तस्वीर

नेपाली कांग्रेसभित्र अब हुने १४ औं महाधिवेशनलक्षित शक्ति संघर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति संघर्षले उचाइ लिएको हो ।

संस्थापन पक्ष अरू एक वर्ष अवधि थप्न चाहन्छ भने अर्को पक्ष कार्यतालिकासहित महाधिवेशन गराउने शर्तमा मात्रै अवधि थप्नुपर्ने अडानमा छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने पक्षमा चर्को दबाब दिँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई बहिष्कार गरेको छ ।

अघिल्लो बैठकमा पौडेल पक्षका दुई नेता आएर महाधिवेशनको कार्यतालिका आउनुपर्ने अडान राख्दै बाहिरिए पनि आइतबारको बैठकमा कोही पनि उपस्थित भएनन् । त्यति मात्र होइन, केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा वरिष्ठ नेता पौडेल भने उपत्यकाबाहिर छन् । कुल ८४ सदस्यीय कार्यसमितिको बैठकमा बहुमत सदस्य उपस्थित भएको जानकारी पार्टी सचिवालयले दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयमा छलफल गरी निर्णय पनि सार्वजनिक गरेको छ तर संगठनलाई दूरगामी असर पर्ने खालका निर्णय भने गरिएको छैन । बैठकमा उपसभापति विमलेन्द्र निधिले शनिवार राति दुवै पक्षबीच भएको छलफल सहमतिनजिक पुगिएको जानकारी गराएका थिए । सभापति देउवाले उपसभापति निधिलाई सहमतिको वातावरण बनाउने जिम्मेवारी सुम्पिएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्