
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले आफ्नै पार्टी नेतृत्वको सरकारका काम प्रभावकारी नभएको गुनासो गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन माथिको छलफलमा भाग लिँदै सदस्यले कतिपय राम्रा काम भएपनि सरकारका कतिपय निर्णय विवादास्पद भएका भन्दै सदस्यले आलोचना गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार बसेको स्थायी समिति बैठकका सचिवालय सदस्य वामदेव गौतमसहित १२ जना सदस्यले धारणा राखेका छन् । कतिपय सदस्यले सरकारको काम कारवाहीको आलोचना गरेका नेता रघुजी पन्तले जानकारी दिए ।
सदस्यहरूले सीमा सम्बन्धमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावको समर्थन गरेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सोमवारको बैठकमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, गणेश शाह, योगेश भट्टराई, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली, भीम रावल, देवेन्द्र पौडेल पम्पा भुसाल र देव गुरुङले धारणा राखेका छन् ।
अधिकांश सदस्यले पार्टीमा विकृति र भ्रष्टीकरण बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव माथि मंगलवार पनि छलफल जारी रहने प्रवक्ता श्रेष्ठले बताए ।