१४ असार २०८३, आइतबार

नेपाली स्याटेलाइटलाई पहिलो सफलता : भूउपग्रहबाट लियो ३ मुलुकको तस्वीर

मंसिर ३०, २०७६
नेपाली स्याटेलाइटलाई पहिलो सफलता : भूउपग्रहबाट लियो ३ मुलुकको तस्वीर

नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले भुटान, बंगलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्वीर लिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउन्ड स्टेसन जडान गरेसँगै नेपाली स्याट–१ पहिलो पटक ती तस्वीर लिन सफल भएको हो । 

करीब १ महिनाअघि नेपाली स्याट–१ ले उक्त तस्वीर लिएको जानकारी जापानस्थित क्यूटेक विश्वविद्यालयले  दिएको नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।

‘नास्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या भएका कारण हामी नेपाली स्याट–१ मार्फत नेपालमाथिको आकाशबाट भने ठ्याक्कै तस्वीर कैद गर्न सफल भएका छैनौं । सो भूउपग्रह नेपाल आएर फर्केर जाँदा नास्ट रेडियो उपकरण मिलान गर्न सफल भएन,’ उनले भने । नास्टभित्रकै प्रविधिमा ससाना समस्या देखिएकाले सोको खरीद प्रक्रियामा नास्ट अघि बढेको ढकालले बताए ।

नास्टले आफ्ना प्राविधिक इन्जिनीयरलाई ग्राउन्ड स्टेसनबारे थप जानकारी हासिल गराउन केही दिनका लागि जापान पठाउने तयारी गरिरहेको छ । नास्टले भूउपग्रहबारे ३ देखि ४ दिनको तथ्यांक संकलन गरेर अध्ययन गर्दा ती तस्वीर कैद भएको सूचना प्राप्त गरेको थियो । नेपालले गत वैशाख ४ गते नेपाली स्याट–१ नामक उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । 

नेपाली स्याट–१ मा ५ मेगा पिक्सलको क्यामेरा जडान गरेका कारण यसबाट अलि धमिलो तस्वीर कैद हुने बताइएको छ । गत साउन पहिलो साता नेपाली स्याट–१ ले पहिलो पटक सूर्य र पृथ्वीका साथै चीन र भारत सिमानाका तस्वीर खिचेको कुरा जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि नास्टले सार्वजनिक गरेको थियो ।

नेपाली स्याट–१ सँग २ देखि ३ वर्षसम्म तस्वीर संकलन गर्ने क्षमता छ । जापानको ‘बर्ड–३’ परियोजनामार्फत मुलकले उक्त भूउपग्रहको काम अघि बढाएको थियो । नेपाली स्याट–१ सँगै गत वैशाख ४ गते श्रीलंकाले रावण– १ र जापानले युवुसु नामक भूउपग्रह एकैसाथ प्रक्षेपण गरेका थिए ।

नेपाल सरकारले सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो । सो भूउपग्रहले ९० मिनेटमा एक पटक पृथ्वीको परिक्रमा गर्छ । यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्ने नास्टले बताएको छ । – सुभानु आचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्