२४ जेठ २०८३, आइतबार

दुर्घटनाका घटनाले प्रधानमन्त्री ओली भावुक : ‘खाना खान र सुत्न पनि सकिनँ’

मंसिर ३०, २०७६
दुर्घटनाका घटनाले प्रधानमन्त्री ओली भावुक : ‘खाना खान र सुत्न पनि सकिनँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले लगातार भइरहेका सडक दुर्घटनाका कारण आफू भावुक भएको बताउँदै खाना खान र सुत्न पनि नसकेको जनाएका छन् ।

गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीलाई बोलाएर प्रधानमन्त्री ओलीले गरेको छलफलमा आफू दुर्घटनाबाट चिन्तित भएको बताएका छन् ।

दुर्घटना न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीलाई बोलाएर सोमवार छलफल गर्दै कार्ययोजना बनाइ तत्काल लागू गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशक लगायतलाई प्रधानमन्त्री ओलीले संयुक्त रुपमा निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा ओलीले भने, ‘सिन्धुपाल्चोकको सडक दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढें, बिरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ । यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ । त्यसले कति वृद्धवृद्धा र बालबालिकालाई बेसहारा बनाएको छ । यसलाई तत्काल रोक्ने कार्ययोजना बनाउनुपर्‍यो ।’ 

प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने औंल्याउँदै सार्वजनिक यातायातका चालकहरूलाई तालिम, लाइसेन्सको पुनर्परीक्षण, सडक पूर्वाधार प्रयोगको अनुमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिए ।

‘सिटभन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘सडक पूर्वाधारको स्वीकृति गर्दा डबल लेनभन्दा कमको संरचना स्वीकृत नगर्नुस्, सडकको डिलमा ग्रास ब्यारियार अनिवार्य निर्माण गर्ने व्यवस्था गर्नुस्, सडकमा स्पिडब्रेकरको अनिवार्य व्यवस्था गर्नुस्, बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने खालका मानिस तथा सामग्री छन् भने हटाउने स्पष्ट नियम बनाउनुस् ।’

हवाइ दुर्घटनामा जस्तै हरेक सडक दुर्घटनाका कारणको छानबिन गरी प्रतिवेदन तयार गर्न र त्यसै अनुरुपको सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशन अनुरुप चालू आर्थिक वर्षमा भएका सडक दुर्घटनाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता गृह मन्त्रालयले व्यक्त गरेको छ ।

छलफलमा गृहसचिव प्रेमकुमार राईले सडक दुर्घटनाको वर्तमान अवस्था, न्यूनीकरणका उपाय र रोकथामका लागि भएका प्रयासबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र ट्राफिक प्रहरी प्रमुख भीम ढकालले पनि आ–आफ्नो विभागबाट भएका प्रयासबारे ब्रिफिङ गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्