काठमाडौं, २८ चैत– नेपाल प्रहरीको महानिरिक्षक पदका प्रत्यासी चार डिआइजी मध्ये कार्य सम्पादन मूल्यांकनमा कसको अंक बढी छ भन्ने बारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले अहिले एक औपचारिक र कानुनी रुपमा परिपक्क प्रतिवेदन तयार पार्ने काम गरिरहेको स्रोतहरुले बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा उक्त कार्यालयका सचिव टंकमणि शर्माको नेतृत्वको एक टोलीले प्रतिवेदन तयार पारिरहेको हो ।
टोलीले प्रतिवेदन तयार पारेपछि उक्त प्रस्ताव मन्त्रिपरिषद् वैठकमा पेश हुनेछ । मन्त्रीहरु अहिले वैठक कक्षमा बसीरहेका छन् । स्रोतका अनुसार औपचारिक प्रतिवेदन तयार पार्ने काम अन्तिममा पुगेको छ र त्यसले डिआइजी प्रकाश अर्यालकै कार्यसम्पादन मूल्यांकन अंक बढी देखाएको छ । स्रोतले आजकै मन्त्रिपरिषद् वैठकले आइजी बढुवाको टुंगो लगाउने दाबी गरेको छ ।
सर्वोच्च अदालतले आइजी प्रकरणमा परेका रिटमा सुनुवाइ गर्दै डिआइजी नवराज सिलवालको कार्य सम्पादन मूल्यांकन बढी रहेको ओदशमा उल्लेख गरेको थियो । उसले कासमु बढी भएकालाई आइजी वनाउन आदेश समेत दिएको थियो ।
तर गृह मन्त्रालय, लोकसेवा आयोग र प्रहरी प्रधान कार्यालयमा सुरक्षीत रहेको कासमु अभिलेखले अर्यालको अंक बढी रहेको देखाएको हो ।
सरकारले गत फागनु १ गते डिआइजी जयबहादुर चन्दलाई आइजीमा बढुवा गर्ने निर्णय गरेसँगै सर्वोच्चमा रिट परेको थियो । चन्द वरियतामा तेस्रो नम्बरमा छन् भने डिआइजी बमबहादुर भण्डारी चौथोंमा छन् ।