१२ साउन २०८३, मंगलबार

सूर्य ग्रहणका कारण सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

सूर्य ग्रहणका कारण सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुस १० गते बिहीवार गते बस्ने भनिएको केन्द्रीय समिति बैठक ११ गते शुक्रवार सारेको छ । 

कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले सहमतिका लागि एकदिन थप गरिएको रूपमा बुझ्न आग्रह गरे । 

'सहमतिका लागि समय थप गरिएको छ,' उनले भने, '१० गते सूर्यग्रहण पनि छ । त्यसैले सहमतिमै बैठक ११ गते बस्ने भनिएको हो ।'

१४ औं महाधिवेशन कार्यतालिका, विभाग गठन, नेविसंघ र तरुणदलको नेतृत्वका बारेमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच विवाद चर्किएपछि केन्द्रीय समितिको बैठक बस्न सकिरहेको छैन । 

मंसिर २६ गतेदेखि बोलाइएको केन्द्रीय समितिको बैठकलाई वरिष्ठ नेता पौडेलपक्षीय नेताहरूले निरन्तर बहिष्कार गर्दै आइरहेका छन् । 

पौडेल पक्षको बहिष्कारका बावजुद २६ र २७ गते २ पटक केन्द्रीय समिति बैठक बसेको थियो । त्यसपछि मंसिर ३० र पुस २ गते बोलाइएका बैठक स्थगित भएका थिए ।

त्यसयता सहमतिको प्रयासका दुवै पक्षका नेताहरू सम्मिलित लागि ४ सदस्यीय वार्ता समिति गठन गरियो ।

समितिमा सभापति देउवा पक्षबाट उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता पौडेल पक्षबाट प्रकाशमान सिंह र दुई केन्द्रीय सदस्य दिलेन्द्र बडू र हृदयराम थानी रहेका छन् । 

उपसभापति निधिले केन्द्रीय समिति बैठकअघि नै मुख्य विषयमा द्विपक्षीय सहमति हुने दाबी गरेका छन् । 

'सहमतिका लागि दुवै पक्ष लचिलो देखिएको छ,' निधिको भनाइ उदृत गर्दै स्रोतले भन्यो, '११ गते केन्द्रीय समितिको बैठकअघि सबै विवादहरू समाधान हुने दिशातर्फ उन्मुख छन् ।'

वरिष्ठ नेता पौडेलले तरुण दल या नेविसंघमध्ये कुनै एकको सभापति माग गरेका छन् ।

नेविसंघको पुरानै संरचना ब्युँताउने भए ७ जना महामन्त्री राख्नुपर्ने र ३ आफूलाई चाहिने पौडेलपक्षले माग राखेको छ भने ४० प्रतिशत विभागको नेतृत्वको दाबी पनि पौडेल पक्षले गर्दै आइरहेको छ । 

देउवापक्ष भने महाधिवेशन कार्यतालिकाको बारेमा छलफल गर्न तयार देखिएको छ ।

'उहाँहरू महाधिवेशन कार्यतालिकाको बारेमा छलफल गर्न तयार छौं, भन्नुहुन्छ तर अन्य विवादमा प्रवेश नै गर्न चाहनुहुन्न । यसरी कसरी सहमति हुन्छ ?' पौडेलपक्षका एक केन्द्रीय सदस्यले लोकान्तरसँग गुनासो गरे । 

देउवा पौडेलबीच छैन बोलचाल !

केन्द्रीय समितिको बैठक बहिष्कार गरेका पौडेललाई भेट्न मंसिर २८ गते सभापति देउवा पौडेलनिवास बोहोराटारमै पुगेका थिए । 

'सहमति कसरी हुन्छ त, खोज्नु परेन ? बैठक बहिष्कार गरेर मात्र सहमति हुन्छ ?' निधिलगायत केही नेतासहित बोहोराटार पुगेका देउवाले भेट्नेबित्तिकै पौडेललाई प्रश्न गरे । 

दुई नेताबीच वार्ता समिति बनाउने सहमति भयो । वार्ता समितिमार्फत समस्या समाधान गर्ने भन्दै देउवाले निधिलाई अघि सारे भने पौडेलले प्रकाशमान सिंहलाई अघि सारे, त्यसयता पौडेल र देउवाको संवाद भएको छैन । 

बुधवार लोकान्तरसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भने, 'त्यसयता हामीबीच कुराकानी भएको छैन ।' 

पौडेलले वार्ता समितिमार्फत सबै कुरा हल हुने बताए । 'हामीबीच डाइरेक्ट कुरा किन हुनुपर्‍यो ? वार्ता समिति छ त !' पौडेलले भने ।

salt training

कमेन्ट गर्नुहोस्