चर्चित गायक रामकृष्ण ढकालले निलम शाहसँगको सम्बन्धविच्छेदको घटनाबारे सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका छन् ।
उनले निलमसँग सम्बन्धविच्छेदको खबरहरू छ्यापछ्याप्ती भएपछि बिहीवार फेसबूकमार्फत आफ्ना कुरा राखेका छन् । मिडियामा आएको खबरले आफू र परिवारको आत्मसम्मान विपरीत भएको बताएका छन् ।
'पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन्, त्यसैले समाचारलाई विश्वास गरी मेरो परिवारप्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु,' उनले लेखेका छन्, 'विशेषगरी मेरी श्रीमती निलमलाई जोडेर एक महिलाप्रतिको न्यूनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरूप्रति खेद प्रकट गर्द्छु ।'
बुधवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले रामकृष्ण ढकाल र निलम साहबीच सम्बन्धविच्छेद भएको निर्णय सुनाएको थियो ।
जिल्ला अदालतका श्रेस्तेदात आनन्द श्रेष्ठका अनुसार श्रीमती निलम शाह ढकालले मंगलवार सम्बन्धविच्छेदको निवेदन दिएकी थिइन् ।
उनले दिएको निवेदनका आधारमा जिल्ला अदालतले बुधवार दुवैको सम्बन्धविच्छेद भएको फैसला सुनाएको थियो ।
फैसला अनुसार निलमले रामकृष्णबाट कुनै सम्पत्ति लिने छैनन् भने छोरी रानी ढकाल निलमसँगै रहनेछिन् ।
२०३१ साल साउन ८ गते जन्मेका ढकाल धेरै संघर्षपछि गायन क्षेत्रमा स्थापित भएका थिए ।