०७ असार २०८३, आइतबार

आरोपी साहले अपराधी प्रमाणित गर्न प्रहरीलाई चुनौती दिइरहे, प्रहरी टुलुटुलु हेरिरह्यो !

पुस १०, २०७६
आरोपी साहले अपराधी प्रमाणित गर्न प्रहरीलाई चुनौती दिइरहे, प्रहरी टुलुटुलु हेरिरह्यो !

‘म केही कुरा राख्न चाहन्छु’ भन्दै सप्तरी राजविराज नगरपालिका–१४ का ४० वर्षीय उमेश साह महानगरीय प्रहरी परिसरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्न थाले ।

उनलाई प्रहरीले अपराधमा संलग्न भएको भन्दै सप्तरीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । उनले पहिला त पत्रकारलाई फोटो नखिच्न आग्रह गरे तर पत्रकारले फोटो र भिडियो खिचि नै रहे ।

साह लगायत २–३ जना प्रहरीलाई सोध्दै थिए, ‘हामीलाई किन ल्याएको हो थाहा छैन । यसरी विना कारण किन ल्याएको ? विना कारण पत्रपत्रिका र मिडियामा नाम ल्याइयो ।’

‘के आरोप हो ?’ शाहले सोधे । प्रहरीले नबोल्न आग्रह गर्‍यो । शाह रोकिएनन् । उनले भने, ‘म पनि मिडियाको मान्छे हो । अनाहकमा फोनमा सम्पर्क देखिएको आधारमा ल्याउन पाइन्छ ?’

निर्दोष भएको आफूलाई प्रहरीले फसाएको भन्दै साहले आक्रोश पोख्दै भने, ‘आफ्नो कुरा त राख्न पाउनुपर्‍यो नि !’

‘अपराधी हो भने हामीलाई प्रमाणित गरेर देखाइयोस्,’ लगाएको कालो मास्क खोल्दै साहले भने । साहले आफू निर्दाेष रहेको र विना कारण पक्राउ गरेको आक्रोश पोख्दा प्रहरी टुलुटुलु हेरेर बसिरह्यो । केही छिनपछि प्रहरीले आरोपीलाई थुनुवा कक्षमा लग्यो ।

महानगरीय प्रहरी परिसरले बिहीवार गरेको पत्रकार सम्मेलनको दृश्य हो यो । काठमाडौंमा मोडलिङ गर्ने भनेर मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्न परिसरले पत्रकार सम्मेलन गरेको थियो । युवतीलाई विराटनगर पुर्‍याएर तान्तित्र पूजा गर्ने भन्दै फकाएको आरोपमा परिसरले दिलिप पोदारसहित ७ जनालाई सार्वजनिक गरेको छ ।

धादिङ घर भएकी युवतीले महानगरीय प्रहरी परिसरमा दिएको उजुरीका आधारमा प्रहरीले काठमाडौंबाट प्रहरी निरीक्षकको कमान्डमा सप्तरीमा ५ जना प्रहरीलाई खटाएको थियो ।

नवलपरासीको कावासोती हप्सेकोट–१ का कृष्ण तामाङ, सप्तरीको राजविराज नगरपालिका–१४ का उमेश साह, दाङको घोराइ नगरपालिका–१० की दिलकुमारी बुढामगर, सप्तरीको सप्तकोशी नगरपालिका–११ का उमेश माझी, मोरङको विराटनगर महानगरपालिका–८ का दिलिप पोदार, धादिङको खनियावास गाउँपालिका–२ की प्रेमा तामाङ र सुनसरीको गढी गाउँपालिका–१ का रञ्जितकुमार चौधरीलाई प्रहरीले सप्तरीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।

बिहारको मन्दिरमा रहेका एक बाबाले ६ फिट उचाइकी युवतीलाई बिहारमै बलि दिनका लागि नेपाली दिलिप पोदार परिचालन गरेको र युवती ल्याउने पोदारलाई धेरै रकम दिने आश्वासन दिई केही रकम समेत दिइसकेको प्रहरीले पत्रकार सम्मेलनमा बताएको छ ।

ती युवतीलाई बलि दिनको लागि डकुमेन्ट्री बनाउने बहानामा आरोपी गिरोहले लैजान लागेको प्रहरीले दाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्