१३ असार २०८३, शनिबार

पोर्तुगलमा नेपाली खाना र नेपाल चिनाउँदै

पोर्तुगलमा नेपाली खाना र नेपाल चिनाउँदै

दोलखा, गौरीशङ्कर–७ का धनराज शेर्पा यतिबेला पोर्तुगलमा सङ्घर्ष गर्दै छन् । उनको यो सङ्घर्ष १० वर्षदेखि जारी छ । सङ्घर्षमा उनलाई पछुतो भने छैन ।

नेपालमा रहँदा गलैँचा उद्योगमा नोकरी गरेका शेर्पा युरोपको पोर्तुगलमा कामदारका रुपमा छिरेका थिए । तेत्तीस महिनाको नोकरीपछि उनमा साझेदारीमा रेष्टुरेन्ट चलाउने इच्छा जाग्यो । फलस्वरुप नोकरीबाट शेर्पा लगानीकर्ता बने ।

साझेदारीमा चलायएको रेष्टुरेन्टबाट आफ्नो सीप र जाँगरलाई थप बलियो बनाएर शेर्पाले आफ्नै एकल लगानीमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याए । शेर्पाले ‘माउन्ट एभरेष्ट’का नामबाट लिस्बनको कनाईमा रेष्टुरेन्टको शुरुआत गरे जुन अहिलेसम्म पनि सञ्चालनमै छ ।

कामदारका रुपमा आएका शेर्पा अहिले मालिक बनेर नेपाली युवालाई रोजगारी दिन सक्ने भएका छन् । उनले आफूलाई मालिक भन्न भने रुचाउन्नन । 'कामदारको रुपमा पोर्तुगल छिरें, परिश्रम गरें, रेष्टुरेन्ट खोल्न सक्ने भएँ,' शेर्पाले भने, ‘गर्न नसक्ने भन्ने केही छैन । इच्छा र तत्परता भयो भने सबै सम्भव छ ।’

छैन पछुतो

कामदारबाट मालिक बन्छु भन्ने कल्पनासम्म नगरेका शेर्पा आफ्नो प्रगतिको श्रेय पोर्तुगललाई दिन्छन् । 'मलाई पोर्तुगल आएकोमा कुनै पछुतो छैन,' उनले भने, 'मलाई सिप र क्षमता विकासमा पोर्तुगलले सिकाएको छ ।'

कर्ममा विश्वास राख्दा सफल हुने उदाहरणको पात्र बनेका शेर्पा पछिल्लो समय दलाललाई मोटो रकम बुझाएर पोर्तुगल छिर्ने नेपाली युवालाई सीप सिकेर आउन सल्लाह दिन्छन् ।

'लगनशील बन्ने हो भने सपनाको शहरको उपमा पाएको पोर्तुगलबाट मालामाल बन्न समय लाग्दैन,' उनले भने, 'काम गर्नुस्, भविष्य आफैं बन्छ ।'

सगरमाथा आज विश्वभर परिचित छ । सगरमाथाको नाम नसुन्ने विदेशी विरलै भेटिन्छन् । परदेशमा यसैको नामबाट रेष्टुरेन्ट चलाउँदा गर्वले छाती फुलेको शेर्पाको तर्क छ । 'नेपाल, भारत, चीन, बङ्गलादेश, ब्राजिललगायत अफ्रिकाका विभिन्न मुलुकका आप्रवासीहरुको गन्तवय पोर्तुगल बनेको छ,' शेर्पाले भने, 'विभिन्न देशका नागरिकमाझ नेपाली खाना र नेपाल चिनाएको छु । यसैमा रमाएको छु ।'

उनका अनुसार एभरेष्टमा कोदोको ढिंँडो, भटमास, गुन्द्रुकलगायत नेपाली परिकारलाई बढी प्राथमिकता दिइएको छ । नेपाली खाना खानका लागि रोजगारीको सिलसिलामा पोर्तुगल आएका नेपालीसँगै भारत, बङ्गलादेशलगायत अन्य मुलुकका आप्रवासीको आफ्नो रेष्टुरेन्टमा भीड लाग्ने गरेको व्यवसायी शेर्पाको भनाइ छ ।

व्यवसायी शेर्पा सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । व्यवसायसँगै सामाजिक कर्ममा रुचि राख्ने उनले दुःखमा परेका नेपालीलाई सहयोग गर्दै आएका छन् ।

'समयमा जागिर नपाउने र साथमा पैसा नहुने नेपाली दाजुभाइलाई सकेको सहयोग गर्छु,' उनले भने, 'परदेशमा सानो सहयोग पनि हामी नेपालीका लागि ठूलो हुन्छ ।'

नेपाली नेपालीबीच एकताको आवश्यकता रहेको उनको धारणा छ ।

salt training

कमेन्ट गर्नुहोस्