
काठमाडौं, २९ चैत - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानीलाई बीमितको घरदैलोमा नै उपलब्ध गराई आम मानिसमा जीवन बीमा प्रति सकारात्मक धारणा निर्माण एवं बीमा कम्पनीप्रतिको बिश्वास अभिबृद्धि गर्ने प्रयास स्वरुप कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ निवासी बिमित मोती बहादुर गुरुङ्गको परिवारलाई रु.१,८६,६५,५००र( (अक्षरेपी एक करोड छयासी लाख पैसठ्ठी हजार पाँच शय) हस्तान्तरण गरेको छ ।
उक्त मृत्यु दाबी रकम बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईुले मृतकको ईच्छाएको व्यक्ति एवं श्रीमती ईन्द्र कुमारी शाही गुरुङ्गलाई प्रदान गर्नुभएको थियो । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको फलस्वरुप कम्पनीमा आवश्यक कागजात प्राप्त भएको १० दिनभित्रै दावी भुक्तानी गर्न सफल भएको बताउनुभयो ।
साथै उहाँले छिटो छरितो मृत्यूदावी भूक्तानीका कारण कम्पनी प्रति आम मानिसको बिश्वास बढ्न गई समग्र जीवन बीमा क्षेत्र प्रतिको बिश्वासमा समेत अभिबृद्धि हुने बताउनुभयो ।
कम्पनीले स्थापनाकालदेखि २०७३ फागुन मसान्तसम्म करिब रु.१ अर्ब ६४ करोड मृत्यूदावी भूक्तानी गरिसकेको छ । यसैगरि, कम्पनीको बिद्यमान चुक्ता पूँजी रु. ३.०९ अर्ब रहेको, जीवन बीमा कोष करिब रु.३७ अर्ब र कुल लगानी करिब रु. ४४ अर्ब रहेको छ । चालु आ.व.को फागुन मसान्तसम्म कुल बीमा शुल्क आम्दानी रु.६.८१ अर्ब रहेको छ ।