१३ असार २०८३, शनिबार

डडेल्धुराका सीडीओ भट्ट के गर्दैछन् ?

कात्तिक २०, २०७४
डडेल्धुराका सीडीओ भट्ट के गर्दैछन् ?





जनकराज भट्ट
प्रमुख जिल्ला अधिकारी, डडेल्धुरा

सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै अहिले जिल्लामा चुनावी माहोल तातेको छ । जिल्लामा सक्रिय विभिन्न राजनीतिक दल स्थानीय तहको निर्वाचनमा कसरी आफू विजयी हुन सकिन्छ भनेर अभियान चलाइरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले पनि आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर त्यसको तयारी र शान्तिसुरक्षाका विषयमा रणनीति तयार गरिरहेको छ । डडेलधुरामा २ नगरपालिका र ५ गाउँपालिकासहित ७ स्थानीय तह कायम भएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि भनेर त्यसका लागि आवश्यक सामग्री निर्वाचन आयोगबाट प्राप्त भइसकेको छ । मतदाता शिक्षा कार्यक्रमका लागि नमूना मतपत्र लगायतका सामग्री पनि आयोगले उपलब्ध गराएको छ । अब छिट्टै नै मतदानसम्बन्धि जनचेतनामूलक अभियान सञ्चालन गर्नेछौं ।

त्यस्तै, स्थानीय तहको निर्वाचनका लागि प्रमुख निर्वाचन आयुक्त र निर्वाचन अधिकृतका तालिम पनि सञ्चालन भइरहेको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र भयमुक्त बनाउनका लागि सामान्य, संवेदनशील र अतिसंवेदनशिल गरेर तीन तहमा शान्तिसुरक्षाको रणनीति तयार गरेका छौं । अहिले शान्तिसुरक्षाको अवस्था सामान्य भए पनि निर्वाचनमा हुनसक्ने सम्भावित खतरालाई कसरी टार्न र न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे योजना तय गरिरहेका छौं ।

सरकारले तोकिदिएको सीमाभित्र रहेर ४ सय १३ जना म्यादी प्रहरी भर्ना भइसकेका छन् । तिनका लागि आइतवारदेखि तालिम पनि सुरु भइसकेको छ ।

विकास निर्माणको कार्यमा दत्तचित्त भएर लागेका छौं

निर्वाचनबाहेक आफ्नो कार्यक्षेत्रभित्र रहेका नियमित विकास निर्माणका कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाइरहेका छौं । विकास निर्माणका लागि भनेर सरकारले विनियोजन गरेको बजेट अनुरुप काम अघि बढाइरहेका छौं ।

चालू आर्थिक वर्ष (आव) का लागि कुल विनियोजित बजेटको करीव आधा बजेट खर्च गरेका छौं । चालू आवको अन्त्यसम्ममा करीव ९० प्रतिशतसम्म पूँजीगत खर्च गर्ने योजना तयार गरेका छौं ।

केही समयअघि मूख्य सचिवसहित प्रधानमन्त्री कार्यालयको टोलीले जिल्लाको समग्र स्थितिको अनुगमन गरेर केही निर्देशन दिएको छ । विकास निर्माणका कामको बाँकी कार्ययोजना बनाएर अघि बढ्न निर्देशन भएबमोजिम जिविसले आफ्ना गतिविधि अघि बढाइरहेको छ । यसले पूँजीगत खर्च बढाउने र विकास निर्माण तीब्र गतिमा अघि बढाउन सहयोग मिल्नेछ ।

म डडेलधुराको प्रमुख जिल्ला अधिकारी भएर आएको करीव डेढ महिना भयो । उक्त अवधिमा केही नयाँ सुरुवात गरेको छु । आगामी दिनमा जिल्लाबाट प्रवाह हुने सेवा सुविधा र जनताको अभिमतअनुसार अघि बढ्ने प्रतिवद्वता जनाउँछु ।

(प्रजिअ भट्टसँग लोकान्तरका लागि सुवास भट्टले गरेको कुराकानीमा आधारित)

salt training

कमेन्ट गर्नुहोस्