
काठमाडौं, १५ मसिंर - टिभी फिल्मीको छैंठौ वार्षिक उत्सवमा आयोजित कार्यक्रममा चलचित्र पर्व निर्माणको घोषणा भएको छ । यही चैत्र २५ गते प्रदर्शन हुनेगरी निर्माण हुन लागेको चलचित्रको निर्देशन दिनेश राउतले गर्दैछन् ।

नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, अमितेश शाह, प्रिया रिजाल, श्रीअन्स तिमिल्सिना लगायतको अभिनय रहने उक्त चलचित्रमा सस्पेन्स थ्रीलर कथामा आधारित रहने जनाइएको छ । पर्वको बेला घटेको घटनालाई चलचित्रमार्फत प्रस्तुत गर्न लागिएको राउतले बताए ।
कार्यक्रममा बोल्दै नायिका श्रेष्ठले आफू उक्त फिल्ममा आफ्नो भूमिका फरक भएको र फिल्म खेल्न एक्साइटेड भएको बताइन् । उनी यस फिल्ममा कोशिशका जोडीका रुपमा देखिनेछिन् ।

टिभी फिल्मीको प्रस्तुति तथा सुवास इन्टरटेनमेन्टको सहकार्यमा बन्न लागेको चलचित्रको निर्माण सुवास गिरी र निकिता पौडेलले गर्नेछन् । कथा कोशिश क्षेत्रीको रहनेछ । स्कृप्ट तयार र संवाद किरण माइकल घिमिरेको रहने बताइएको छ ।
उक्त कार्यक्रममा टिभी फिल्मीले वर्षको दुई चलचित्र निर्माण गर्ने जनाएको छ । टिभी फिल्मीले आफ्नो रियालिटी शो ‘को बन्छ कलाकार’लाई यो वर्ष पनि निरन्तरता दिने जनाएको छ । साथै उक्त शोमा उत्कृष्ट हुने प्रतियोगीलाई चलचित्रमा स्थान दिने पनि कार्यक्रममा बताइएको छ ।