
नुवाकोटमा निजी आवास निर्माण गर्ने कार्य ७७ प्रतिशत सम्पन्न भएको छ।
२०७२ को भूकम्पका कारण क्षति पुगेका वा भत्किएका निजी आवासको पुनर्निर्माण नुवाकोटमा सन्तोषजनक रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा निजी आवास निर्माणका काम लगभग अन्तिम चरणमा पुगको जानकारी दिइएको छ । जिल्ला आयोजना कार्यन्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार नुवाकोटका ७७ हजार ३ सय ९९ लाभग्राहीमध्ये ५८ हजार ८९४ लाभग्राहीले तेस्रो किस्ता प्राप्त गरिसकेका छन् । घर निर्माण सम्पन्न भएपछि तेस्रो किस्ताको रकम प्रदान गरिन्छ । हालसम्म ७७.१० प्रतिशले तेस्रो किस्ता लिइसकेका छन् ।
पुनर्निर्माणको काममा सबैभन्दा अघि दुप्चेश्वर गाउँपालिका छ । दुप्चेश्वरमा निजी आवास निर्माण ८८.५३ प्रतिशत सम्पन्न भएको छ । सबैभन्दा कम बेलकोटगढी नगरपालिकामा निजी आवास पुनर्निर्माण ६१.३२ प्रतिशत मात्र सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सांसद नारायणप्रसाद खतिवडाले पुनर्निर्माणलाई थप तीव्रता दिएर तोकिएको समयमा सम्पन्न गराउनका लागि सरोकार पक्ष सबैलाई आग्रह गरे। उनले अझै पनि भावनामा बगी पुरानो तस्वीर देखाएर पुनर्निर्माण बाँकी छ भनेर गुनासो गर्न नहुनेसमेत बताए।
नुवाकोटको पुनर्निर्माणका लागि २६ अर्ब ४९ करोड ३४ हजार विनियोजन भएकामा हालसम्म १८ अर्ब २७ करोड ३४ लाख खर्च भएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका निमित्त प्रमुख शम्भुकुमार साहले जानकारी दिए।