११ साउन २०८३, सोमबार

बंगलादेशले भन्यो-नेपालसँग ऊर्जा र पर्यटनमा सहकार्य गर्न चाहान्छौँ

बंगलादेशले भन्यो-नेपालसँग ऊर्जा र पर्यटनमा सहकार्य गर्न चाहान्छौँ

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको बंगलादेशको संसदीय टोलीले शिष्टाचार भेटवार्ता गरेको छ।

बंगलादेशको दलित र अल्पसंख्यक आदिवासीसँग सरोकार राख्ने संसदीय समितिका सभापति मनोरञ्जनशील गोपाल नेतृत्वको टोलीले अध्यक्ष तिमिल्सिनासँग सिंहदरवारस्थित कार्यकक्षमा भेट गरेको उनको सचिवालयले जनाएको छ।

नेपालको संसदीय अभ्यास तथा दलित, आदिवासी र अल्पसङ्ख्यकको प्रतिनिधित्व तथा अधिकारबारे अध्ययन गर्ने उद्देश्यले सो प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दलित, आदिवासी तथा अल्पसङ्ख्यकबारे नेपालको संविधानले विशेष अधिकार प्रदान गरेको उल्लेख गर्दै सङ्घ, प्रदेश र स्थानीय तहसम्म सो समूहको प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी गराएका थिए।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानले जात, धर्म, भाषा, पेशा, वर्ग, शारीरिक अवस्थाको आधारमा भेद्भाव नगरिने कुरालाई सुनिश्चित गरेको बताए। सङ्घीय संसद्ले पनि यससम्बन्धी मौलिक तथा अन्य थुप्रै कानून निर्माण गरिसकेको उनले बताए।

अध्यक्ष तिमिल्सिनाले दुई देशबीच शिक्षा, स्वास्थ्य, व्यापार, ऊर्जा, कृषिलगायतका क्षेत्रको सहकार्यलाई अझै बढाउनुपर्नेमा जोड दिए। उनले भ्रमण दलमार्फत नेपाल भ्रमण वर्ष २०२० मा बङ्गलादेशका नागरिकलाई नेपाल भ्रमण गर्न निमन्त्रणा समेत दिएका थिए।

सो अवसरमा सभापति गोपालले नेपालले दलित र आदिवासीका अधिकारबारे गरेको कानूनी व्यवस्था प्रशंसायोग्य रहेको बताउँदै बङ्गलादेश सरकार दलित, अल्पसङ्ख्यक तथा पिछडिएका वर्गको अधिकार र जीवनस्तर सुधारमा लागिपरेको उल्लेख गरे। उनले नेपालको संविधानमा केन्द्रदेखि स्थानीय तहसम्म सो समुदायका लागि दिएको अधिकारबाट बङ्गलादेशले सिक्दै कानूनी रूपमै सुधार गर्ने उल्लेख गरे।

सभापति शील गोपालले नेपाल र बङ्गलादेशबीच व्यापार, ऊर्जा, शिक्षा र पर्यटन क्षेत्रको सहकार्य बढाउनुपर्ने धारणा राख्दै नेपालको संसद्को तर्फबाट अध्यक्ष तिमिल्सिनालाई बङ्गलादेश भ्रमणका लागि आग्रहसमेत गरे। 
 

salt training

कमेन्ट गर्नुहोस्