
एटीएम फुटाएर पैसा चोरिरहेका दुई जना पक्राउ
प्रहरीले सिटिजन बैंकको एटीएम फुटाएर रकम चोरी गर्न लागेका २ जनालाई पक्राउ गरेको छ।
चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित एटीएम फुटाएर रकम चोरिरहेका चित्रबहादुर शाही र नन्दराज धराल शनिबार राति पक्राउ परेका हुन्।
उक्त एटिएम मेसिनभित्र राखेको नगद चोरी गर्ने उद्देश्यले एटिएम राखेको सटरको ताल्चा र मेसिन समेत फुटाएर क्षति पुर्याईसकेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो।
उनीहरुको साथबाट एटिएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलामको रेन्च र चक्कु प्रहरीले बरामद गरेको छ।
नेकपा पार्टी एकताका काम सक्न थप १५ दिन,२०७७ भित्रै महाधिवेशन
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकताका कामहरू बढीमा १५ दिनमा सक्ने बताएको छ । नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशिका-३ मा पार्टी एकता प्रक्रिया ढिलो भएको भन्दै थप १५ दिनमा सक्ने उल्ल्लेख गरिएको छ ।
निर्देशिकामा पार्टीको प्रकाशन, प्रचार र प्रशिक्षणलाई व्यवस्थित गर्ने, संस्थागत निर्णय, वैधानिक व्यवस्था र अनुशासनलाई कडाईका साथ कार्यान्वयन गर्ने, गुटबन्दी, घाट अन्तर्घात र अराजकताको प्रवृत्तिलाई परास्त गर्ने र आत्मालोचनालाई प्रोत्साहित गर्ने बताइएको छ ।
निर्देशिकामा उपनिर्वाचनमा पार्टीको कमजोरी देखिएको भन्दै त्यसमा विशेष ध्यान पुर्याउन नेताहरूलाई आग्रह गरिएको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीद्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशिकामा पार्टीको राष्ट्रिय महाधिवेशन २०७७ सालभित्रै गर्ने उल्लेख गरिएको छ ।
निर्देशिकामा महासचिव विष्णुप्रसाद पौडेलले स्थायी कमिटी बैठकमा पेश गरेको विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरिएको र उक्त प्रस्ताव केन्द्रीय कमिटीको आगामी बैठकमा प्रस्तुत गरिने बताइएको छ ।
भाडामा राखिएको पार्टी कार्यालयबाट कार्यसम्पादनमा कठिनाइ उत्पन्न भएको भन्दै निर्देशिकामा यसले मनोवैज्ञानिक सन्देशसमेत राम्रो नगएको उल्लेख गरिएको छ ।
'स्थायी कमिटीको बैठकले अविलम्ब आफ्नै पार्टी कार्यालयका लागि आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको छ,' निर्देशिकामा भनिएको छ, 'पार्टी कार्यालय निर्माण कार्यमा सहयोग गर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूलाई हार्दिक आह्वान गरिएको छ ।'
अन्तरपार्टी निर्देशिकामा इन्डोप्यासिफिक रणनीति (आइपीएस) अन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नरहेको निष्कर्षसहितको जानकारी गराइएको छ । 'हालसम्म प्राप्त तथ्यहरूले एमसीसी आइपीएसको अधीनस्थ छैन भन्ने नै देखाएको छ,' निर्देशिकामा भनिएको छ, 'तथापि बैठकले समग्र पक्षलाई बुझेर उपयुक्त निर्णय गर्ने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ ।'
सूचना प्रविधिसम्बन्धी विधेयक समितिबाट पारित,लोकतन्त्र छाडातन्त्र नभएको सत्तारूढ सांसदहरूको भनाइ
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको आजको बैठकको बहुमतले विधेयक पारित गरेको हो ।
बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक मत राख्ने सांसदहरुको आठ बुँदा पनि संशोधनमा समावेश गरी पारित भएको जानकारी दिइन् । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले फरक मत राख्ने सांसदहरुको आठ वटा बुँदा सरकारले स्वीकार गरेको बताए ।
लोकतान्त्रिक मूल्य पद्दति विरुद्ध विधेयक बनाएर पेश गर्न संविधानले नै अनुमति नदिने भएकाले त्यसो नगरिएको उनले स्पष्ट पारे । 'यो देशको कानून हो, सत्ता पक्षको मात्र कानून होइन, विधेयकमा नागरिक अधिकार कुण्ठित गर्ने विषय छन् भन्नु स्याल हुइँया मात्र हो, सरकारको आलोचना गर्न पाइन्छ तर जथाभावी गर्न पाइँदैन,' मन्त्री बाँस्कोटाले भने ।
फरक मत राख्ने सांसदहरुले पनि भित्र–भित्र विधेयक पारित भए हुन्छ भन्ने मान्यता राखेको उल्लेख गर्दै राजनीतिक कारणले विरोध गरेको हुनसक्ने उनले बताए ।
विधेयक पारित गर्ने सन्दर्भमा सांसदहरु सत्ता र प्रतिपक्षमा विभाजित भएका थिए ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले ३६ बुँदाको संशोधनसहितको विधेयक पारित गर्नुपर्ने मत राखेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले विधेयकको दफा ८८ र ९१ देखि ९४ सम्मका बुँदा भने नागरिक स्वतन्त्रता र संविधानको मर्मविपरीत भएकाले हटाउन माग गरेका थिए ।
विधेयकका बारेमा दफावार छलफल गर्न गठित उपसमितिमा लिखित ‘नोट अफ डिसेन्ट’ पेश गरेका सांसद बहादुरसिंह लामाले नागरिकले बोल्ने अधिकार कुण्ठित गर्ने प्रावधान विधेयकमा राखिएकाले स्वीकार गर्न नसकिने बताए ।
संविधानको मर्मविपरीत आएको यो विधेयक प्रजातान्त्रिक मूल्य मान्यताविपरीत रहेको समेत उनले आरोप लगाए । फरक मतलाई संसद्को अभिलेखमा रहने गरी अघि बढाउन सांसद लामाले माग गरे ।
सांसद रामबहादुर विष्टले दफा ८८ र ९१ देखि ९४ सम्मका प्रावधान हटाएर समितिबाट सर्वसम्मत रुपमा पारित गर्ने व्यवस्था गर्न माग गरेका थिए ।
सांसद रङ्गमती शाहीले लोकतान्त्रिक मूल्य मान्यतामा सरकारविरुद्ध बोल्न नपाइने गरी विधेयक मस्यौदा गरी पारित गरिन लागेको भन्दै आपत्ति जनाइन् । सांसद टोपबहादुर रायमाझीले लोकतन्त्र भनेको छाडातन्त्र नभएकाले सूचना प्रविधिलाई व्यवस्थित गर्न विधेयक आएको बताए ।
समाचार र विचारलाई भने सम्मान गरिनुपर्ने उनको भनाइ थियो । सांसद गणेशकुमार पहाडीले सूचना प्रविधिको विषयलाई व्यवस्थित गर्ने अर्को कानून नभएकाले धेरै मानिस पीडित भएको उल्लेख गर्दै समितिमा विधेयक पारित नगरी अनिर्णयको बन्दी बनाइनु नहुने बताए ।
विधेयकका बारेमा दफावार छलफल गर्न गठित उपसमिति संयोजकसमेत रहेकी सांसद बिनाकुमारी श्रेष्ठले बुँदा बुँदामा छलफल गरी फरक मतसहित प्रतिवेदन समितिमा पेश गरिएको बताए ।
सांसदहरु यज्ञराज सुनुवार, दामोदर भण्डारी, केदार सिग्देल, आशाकुमारी विक, लीलानाथ श्रेष्ठले विधेयक पारित हुनुपर्नेमा जोड दिएका थिए । विगत चार महिनादेखि समितिमै अड्किएको विधेयक पारित भएसँगै अव सदनको बैठकमा पेश गर्ने प्रक्रियामा अघि बढ्ने भएको छ ।
प्रचण्डले सुनाए स्थायी कमिटीको निष्कर्ष : ‘हार्ने कल्पना नगरेका ठाउँ पनि हारियो’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा हार्ने कल्पना नगरेका ठाउँमा पनि हारिएको बताएका छन् ।
गृहजिल्ला चितवनको इच्छाकामना गाउँपालिकामा नेकपाका पदाधिकारीका लागि आयोजित शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा उपनिर्वाचनबारे समीक्षा भएको र कल्पना नगरिएका ठाउँमा हारिएको निष्कर्ष सुनाएका छन् ।
‘उपनिर्वाचनमा केही शिक्षा र केही उत्साह मिश्रित नतिजा आएको छ,’ कार्यक्रममा उनले भने, ‘हामीले हार्ने कल्पना नगरेका ठाउँ पनि हारियो, जसले अलि गम्भीर शिक्षा लिनुपर्ने आवश्यकता देखियो ।’
निर्वाचनका बेला पार्टी र जनताको सम्बन्ध जति सजीव हुनुपर्थ्यो त्यो नहुँदा पराजित हुनुपरेको निष्कर्ष स्थायी कमिटी बैठकले निकालेको उनले बताए । ‘निर्वाचनमा केही न केही भ्रम सिर्जना भयो भन्ने निष्कर्ष स्थायी कमिटीमा निकालेका छौं,’ उनले भने, ‘अब ३ वर्ष हाम्रो पार्टीको काम र सरकारको कामबाट हामी एक्लैले दुईतिहाइ बहुमत ल्याउने कुराको प्रतिबद्धता व्यक्त गरेका छौं ।’
स्थायी कमिटी बैठक सकिएको र केन्द्रीय कमिटी बैठकबाट विशेष योजनासहित पार्टी अगाडि बढ्ने अध्यक्ष प्रचण्डले बताए । ‘स्थायी कमिटी बैठक बडो सफलतापूर्वक सकियो । केही दिनपछि केन्द्रीय कमिटीको दोस्रो बैठक बस्दैछौं,’ उनले भने, ‘स्थानीय सरकार, प्रादेशिक सरकारको निम्ति निर्देशिका बनाउने, विधानमा संशोधन गरेर पार्टीलाई अगाडि बढाउन सहज तुल्याउने छौं ।’
स्थानीय स्तरमा एकतावद्ध भएर जनतासँग नङ–मासुको सम्बन्ध बनाएर जनताको काममा अगाडि बढेर जनताको मनमष्तिष्क जित्ने काम गर्न प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए । ‘कम्युनिस्टले मात्रै देशको विकास गर्नसक्ने प्रमाणित तथ्य हो,’ उनले भने ।
भारतले दार्चुला जिल्लामा गरेको सीमा अतिक्रमणबारे बोल्दै प्रचण्डले नेपालको १ इन्च भूमि पनि नछाड्ने बताए । ‘नेपाली भूभाग भारतले आफ्नो नक्सामा राखेपछि हामीले भनेका छौं – हाम्रो १ इन्च पनि मिचेको सहँदैनौं । कालापानीबाट विदेशी सेना हटाउने अवसर हो भनेर लागेका छौं,’ उनले भने, ‘विकास र समृद्धिको अभियान शुरू भएको छ तर जनताले खोजे जस्तो उत्साह देखिएन ।’
कांग्रेसका विद्यार्थी नेताको प्रश्न : प्रदेश सांसद के भेडा–बाख्रा हुन् ?
नेकपा सचिवालय बैठकले प्रदेशको नाम र राजधानी तोक्नेबारे निर्णय गरेको विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताले विरोध जनाएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी लेख्दै कांग्रेसका नेता कार्यकर्ताले नेकपाले प्रदेश सभालाई पंगु बनाउन खोजेको आरोप लगाएका हुन् ।
कांग्रेसको भातृ संगठन नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले आइतवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रश्न गरेका छन्, ‘कस्तो लोकतन्त्र, कस्तो संसदीय अभ्यासमा जाँदैछ नेपाल ? प्रदेश नम्बर ३ को नाम र राजधानी नेकपाको केन्द्रीय सचिवालयले टुंग्यायो रे ! प्रदेश सांसद के भेडा–बाख्रा हुन् र ?’
काठमाडौंका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र
काठमाडौंका मुख्य सडकमा खाल्डाखुल्डीलाई पुर्ने र कालोपत्र गर्ने काम तीव्र पारिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कार्यभार सम्हालेपछि खाल्डाखुल्डी पुर्न सडक विभागलाई निर्देशन दिएका थिए ।
उनले उपत्यकाका विभिन्न सडकको स्थलगत अनुगमन समेत गर्दै आएका छन् । यसक्रममा शनिवार मन्त्री नेम्वाङले कलंकी–नागढुंगा सडकखण्डको स्थलगत अनुगमन गर्दै खाल्डाखुल्डीलाई पुर्न र सवारी आवतजावतलाई सुचारु बनाइराख्न निर्देशन दिए ।
काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया लगायत सहभागी थिए ।
चाबहिल–साँखु, जोरपाटी–सुन्दरीजल, माइतीघर–तीनकुने लगायतका सडक खण्डमा मन्त्री नेम्वाङले अनुगमन गरेका थिए । नयाँ बानेश्वर, पुरानो बानेश्वर, तीनकुने, थापाथली, नक्साल भगवती, कपन लगायतका क्षेत्रमा सडक कालोपत्र भइरहेको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ ।
सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले विगतका वर्षभन्दा चालू आवमा सडक मर्मतमा बढी बजेट विनियोजन भएको जानकारी दिए । सडक बोर्डले चालू आवमा झण्डै ७० प्रतिशत राष्ट्रिय राजमार्गको मर्मत तथा ३० प्रतिशत बजेट स्थानीय सडक मर्मतमा खर्च गर्ने जनाएको छ ।
सरकारले सडक बोर्ड नेपाललाई गत आवमा भन्दा झण्डै ३ अर्ब रुपैयाँ बढी बजेट सडक मर्मतका लागि विनियोजन गरेको छ । उनले भने, ‘गत वर्षमा काठमाडौं उपत्यकाका सडक मर्मतमा कम बजेट छुट्याउने गरिएकामा चालू आवमा उपत्यकाका लागि बढी विनियोजन भएको छ ।’
नेकपा सचिवालयको निर्णय– प्रदेश ३ को नाम बाग्मती
प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम 'बाग्मती प्रदेश' राख्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको सचिवालय बैठकले प्रदेशको नाम बाग्मती राख्ने निर्णय गर्दै सोअनुसार प्रदेश सभामा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।
प्रदेश ३ मा नेकपासँग स्पष्ट दुईतिहाइ बहुमत छ । प्रदेशको नाम र राजधानी प्रदेश सभाको दुईतिहाइ बहुमतले तोक्न सक्छ ।
'प्रदेश ३ को नाम बाग्मती राख्ने निर्णय भएको छ,' बैठकमा सहभागी एक नेताले लोकान्तरसँग भने, 'राजधानी अहिले हेटौंडामा छ, त्यहाँ चल्दै गर्छ ।'
प्रदेश सभा गठन भएको २ वर्ष पुग्न लाग्दा समेत प्रदेश ३ ले नाम र राजधानीको टुंगो लगाउन नसकेपछि सो विवाद नेकपा सचिवालयसम्म पुगेको हो ।
बालुवाटारमा बसेको बैठकमा प्रचण्डलाई ओलीसँगै छुट्टै कुर्सी !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट्टै कुर्सी पाएका छन् ।
अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँगै बस्ने गरी छुट्टै कुर्सी पाएका हुन् । यसअघिका बैठकमा प्रचण्ड अन्य सचिवालय सदस्यसँगै सोफामा बस्ने गरेका थिए ।
मंसिर ४ गते बसेको सचिवालय बैठकले प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार सुम्पेको थियो । प्रचण्ड कार्यकारी अध्यक्ष भएपनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा छुट्टै कुर्सी नभएको भनेर समाचार आएका थियो ।
मंसिर २९ गते भएको नेकपा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गरेको भएपनि उनी अन्य सचिवालय सदस्यसँगै सोफामै बसेका थिए भने अध्यक्ष केपी ओली छुट्टै कुर्सीमा अगाडि बसेका थिए ।
प्रचण्डलाई छुट्टै कुर्सीको व्यवस्था भएपछि आइतवारको बैठकमा प्रचण्ड पनि ओलीसँगै अगाडि बसेका छन् ।