माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पूँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात् १ अर्बभन्दा बढी पैसा नेपाल ल्याउने भएको छ ।
दुबईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउने सम्बन्धी सम्झौता पत्रमा पुस १३ गते आइतवार माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा माश्रिक बैंकको तर्फबाट नेपालका लागि प्रमुख देशीय प्रतिनिधि हेमा अधिकारीले हस्ताक्षर गरेका छन् ।
१० मिलियन अमेरिकी डलर अर्थात् १ अर्बभन्दा बढी पैसा नेपाल ल्याउनको लागि नेपाल राष्ट्र बैंकमा समेत स्वीकृतिको लागि निवेदन पेश गरिएकाले नेपाल राष्ट्र बैंकको स्वीकृतिलगत्तै बैंकले रकम नेपाल भित्र्याउने छ । नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रक्रिया थालेको थियो ।
माछापुच्छ्रे बैंकले दुबईस्थित माश्रिक बैंकबाट लिन लागेको रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नेछ ।