१४ असार २०८३, आइतबार

कार्यकाल पूरा गरेका भारतीय राजदूतको बिदाइ, निर्विवाद काम गरेको भन्दै प्रसंशा

कार्यकाल पूरा गरेका भारतीय राजदूतको बिदाइ, निर्विवाद काम गरेको भन्दै प्रसंशा
तस्वीर सौजन्य : मुकुन्द कालिकोटे

आफ्नो कार्यकाल पूरा गरेर फिर्ता हुन लागेका नेपालका भारतीय राजदूत मञ्जिव सिंह पूरीलाई नेपालका विभिन्न नागरिक संस्थाले अभिनन्दन र बिदाइ गरेका छन । नेपाल-भारत महिलामैत्री समाज लगायत ६ वटा नागरिक संस्थाले आइतवार काठमाडौंको एक होटलमा राजदूत पूरीको बिदाइ अभिनन्दन गरेका हुन् । 

समारोहलाई सम्बोधन गर्दै नेपाल-भारत महिला मैत्री समाजकी अध्यक्ष एवं प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीले राजदूत पूरीले नेपाल भारत सम्बन्धलाई उचाइमा पुर्याउन अतुलनीय योगदान गरेको बताइन् । 

‘राजदूत पूरीको कार्यकालमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यास र नेपाल-भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन भयो । अलपत्र परेको आयोजनालाई अगाडि बढाउन उहाँले दिनरात नभनी काम गर्नुभयो,’सांसद चौधरीले भनिन् । 

राजदूत पूरीकै कार्यकालमा भारतीय प्रधामनन्त्री नरेन्द्र मोदीले दुईपटक नेपाल भ्रमण गरेको पनि उनले स्मरण गरिन्। नेपाल-भारत महिलामैत्री संघकी अध्यक्ष चौधरीले नेपाल भारत सम्बन्धमा कसैले दरार उत्पन्न गर्न नसक्ने बताइन् । 

राजदूत पूरीलाई दोसल्ला ओडाएर सम्मान व्यक्त गर्दै सांसद चौधरी  । तश्वीर सौजन्य : मुकुन्द कालिकोटे

‘नेपाल-भारत सम्बन्ध प्राकृतिक हो, नदी–नालाको हो, सादी बिवाहको हो, धर्म संस्कृति र बेटी रोटीको हो’ उनले अगाडि थपिन्, ‘नेपाल भारत सम्बन्धमा कसैले दरार उत्पन्न गर्न सक्दैन ।’

कार्यक्रमका अन्य वक्ताहरुले नेपालमा रहँदा पूरीले विवादरहित काम गरेको भन्दै प्रसंशा गरे । विभिन्न संस्थाले राजदूत पूरीलाई सम्मानपत्र र दोसल्ला ओडाएर बिदाइ गरेका थिए ।

नेपालबाट बिदाइ भएर फर्किन लागेका राजदूत पूरीले नेपाल-भारत सम्बन्धमा योगदान गर्न पाएकोमा खुुसी व्यक्ति गरे । सन् २०१७ मार्च २६ तारिखमा ओहोदाको प्रमाणपत्र बुझाएर काम शुरु गरेका पूरी नेपालमा राजदूत रहेकै समयमा अवकास पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्