मलंगवा, ३० चैत - सर्लाहीको ईश्वरपुर राइटरखोरमा कालाजार रोगबाट ८ जनाको मृत्यु भएको काठमाडौंबाट गएको स्वास्थ्य टोलीले पुष्टि गरेको छ । बिरामी परेका १३ जनाको उपचार जिल्ला अस्पताल मलंगवामा भइरहेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

मृत्यु हुनेमा ६० वर्षीय मखन माझी, उनका ३० वर्षीय छोरा मेघो माझी, २५ वर्षीया बुहारी जहरी माझी छन् । ४ जनाको परिवारमा तीन जनाको मृत्यु भएपछि १३ वर्षीय नाति दिपेशलाई पनि रोगले च्यापेका कारण अस्पतालमा भर्ना गरिएको छ ।
त्यसैगरी, मृत्यु हुनेमा सोही टोलका ५० वर्षीय नथुनी माझी, उनका २३ वर्षीय छोरा विक्रम माझी छन् । विक्रमकी २० वर्षीया श्रीमती पानबती माझीलाई पनि रोगले सिकिस्त बनाएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
रोगले थलिएका विलास माझी र भुट्टा माझीको उपचार अभावमै केही दिनपहिले गाउँमै मृत्यु भएको थियो । उपचारका लागि अस्पतालमा ल्याइएकी राम दुलारी माझीको पनि सोमबार साँझ मृत्यु भएको छ ।
१० घरधुरीको मुसहर बस्तीमा रोगले महामारीको रूप लिएपछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई स्थानीयले जानकारी गराएका थिए ।
मर्ने सबैमा एकै प्रकारको लक्षण देखापरेको छ ।