०९ साउन २०८३, शनिबार

भैरहवा सेजमा देखिएन उद्योगीको आकर्षण, ८५ करोडका संरचना जीर्ण

पुस १५, २०७६
भैरहवा सेजमा देखिएन उद्योगीको आकर्षण, ८५ करोडका संरचना जीर्ण

निर्यात प्रवद्र्धन गर्ने गरी रुपन्देहीमा स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगीहरू आउन आनाकानी गरेका छन् ।

सेज उद्घाटन भएको ५ वर्ष बितिसक्दा समेत भैरहवास्थित सेजमा जम्मा ३ वटा उद्योगले मात्र उत्पादन शुरू गरेका छन् ।

सेज ३ पटक उद्घाटन समेत भयो तर व्यवसायीले उद्योग स्थापनाका लागि चासो देखाएका छैनन् । २२ वटा उद्योगले सञ्चालनको अनुमति लिएपनि ३ वटा मात्रै सञ्चालनमा आएका छन् ।

उद्योग सञ्चालनका लागि अनुमति लिएका ५ उद्योगको अनुमति समेत खारेज भएको छ । ३ वटाले संरचना निर्माणको काम गरिरहेका छन् । 

सरकारले सेजमा विशेष अधिकार र सुविधा दिएपनि उद्योग स्थापनाको अनुमति लिएका उद्योगी समेत उद्योग स्थापना गर्न हिच्किचाएको देखिन्छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणका उपसचिव सुन्दर थापाले उद्योग स्थापनाका लागि ‘होल्ड’ गरेर राखेपनि सम्झौता गरेका उद्योगीहरू आउन नचाहेको बताए । 

‘पहिलो चरणमा २२ वटा उद्योग सञ्चालनमा आउने गरी सम्झौता भएको थियो,’ थापाले भने, ‘३ वटा मात्र सञ्चालनमा आएका छन् । ५ वटाको अनुमति खारेज गरियो । २ वटा आउने तयारीमा रहेको बताइन्छ । अन्य १२ वटा के गर्ने हुन् ठेगान छैन ।’ 

सेज रुपन्देहीको रोहणी गाउँपालिका बगाहा क्षेत्रमा पर्छ । आर्थिक क्षेत्र पूर्णरुपमा सञ्चालनमा आउने छाँट नदेखिएपनि उद्घाटन भने ३ पटक भएको छ । २०७१ मंसिर २ गते तत्कालीन गृहमन्त्री बामदेव गौतम र उद्योगमन्त्री महेश बस्नेतले संयुक्त रुपमा सेज उद्घाटन गरेका थिए ।

त्यसपछि २०७३ फागुन ५ गते पुनः तत्कालीन उद्योग मन्त्री नविन्द्रराज जोशीले सेज उद्घाटन गरे भने २०७६ वैशाख अन्तिम साता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले औपचारिक उद्घाटन गरे ।

सेजमा उद्योगीको आकर्षण नदेखिँदा ८५ करोड लगानी गरेर बनाएका सेजका संरचना जीर्ण बन्दै गएका छन् । सेजमा भएका उद्योगलाई कच्चा पदार्थ आयात गर्दा भन्सार छुट, ५ वर्षसम्मलाई आय कर छुट, मजदूरले कुनै अवरोध गर्न नपाइने लगायतका विशेष अधिकार दिइएको छ तर अन्य क्षेत्रमा महंगो जग्गा लिएर उद्योग खोल्न तयार हुने उद्योगी सजेमा जान आनाकानी गर्दा निर्यातमुखी अर्थतन्त्र बनाउने राज्यको योजनामा ठेस पुग्ने देखिन्छ । 

उद्योगीका अनुसार नेपालमा उत्पादन हुने कच्चा पदार्थले ६ महिना पनि उद्योग चल्न सकस छ । यस्तो अवस्थामा सरकारले सेजमा स्थापना भएका उद्योगले ६० प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने प्रावधान लागू गरेको छ ।

त्यसैले ५ वर्ष अघिदेखि भैरहवामा सञ्चालन भइरहेको सेजमा ३ वटा मात्र उद्योग स्थापना भएका छन् । ५२ बिघा क्षेत्रफल रहेको सेजमा ६८ वटा प्लट छन् । सबै प्लट भाडामा गए २२ भन्दा बढीसम्म उद्योग स्थापना हुन्छन् ।

सेजमा २ करोड रुपैयाँ लगानीभन्दा बढीका उद्योग सञ्चालन हुनुपर्ने प्रावधान छ । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कूलप्रसाद न्यौपानेले विदेशबाटै कच्चा पदार्थ ल्याएर फेरि उत्पादन गरेर निर्यात गर्नुपर्ने प्रावधानले उद्योगीहरू आउन नचाहेको बताए । ‘नेपालमा पर्याप्त कच्चा पदार्थ छैन,’ न्यौपानेले भने, ‘भारत अथवा अन्य मुलुकबाट कच्चा पदार्थ ल्याएर उतै निर्यात गर्न उद्योगले सम्भव देखेनन् । भारत र चीन जस्ता ठूलो मुलुकसँग नेपालले प्रतिस्पर्धा गर्न सक्दैन ।’

‘उद्योगमा विद्युत्को सवस्टेसन निर्माण गर्ने भनिएको थियो । त्यो पनि अहिलेसम्म भएको छैन । १८ वर्ष अगाडिको अवधारणले यहीँ गतिले पूरा हुने देखिँदैन,’ उनले भने ।

शक्ति मिनिरल्स प्रालि, ब्रिजेस लाइट, स्टिलका भाडाकुँडा र चुनढुंगा प्रशोधन गरेर बनाइएको पत्थरको गरी ३ वटा उद्योगले धिमा गतिमा उद्योग सञ्चालन गरिरहेका छन् । अन्यले विदेशबाट कच्चा पदार्थ आयात गरेर उत्पादन गर्छन् भने पत्थर नेपालकै कच्चा पदार्थबाट बनेको हो । जय बुद्ध मेटल, एल्मुनियन उद्योग र एस प्लास्टिकले संरचना निर्माणको काम गरिरहेको बताइन्छ । 

खाद्य उद्योग, कृषिजन्य हर्वल प्रोडक्ट, छालाको वस्तु, तयारी पोशाक, हस्तकला, धातु तथा प्लास्टिक उत्पादन गर्ने उद्योगलाई सेजले प्राथमिकतामा राखेको छ । विशेष आर्थिक क्षेत्र भैरहवाका कम्प्युटर अपरेटर मीरा भट्टराईले सबै सुविधा पुर्‍याउँदा पनि उद्योगीहरू नआउनु आश्चर्यको विषय रहेको बताइन् ।

‘बिजुली, पानी, बैंक, बीमा सबै सुविधा उपलब्ध गराएका छौं । खै किन आउनुहुन्न उद्योगीहरू ? आश्चर्यको विषय छ,’ उनले भनिन् । उनले विद्युत् सवस्टेसन निर्माणका लागि टेन्डर प्रक्रिया शुरू भएको जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्