३० जेठ २०८३, शनिबार

‘झुपडीमै निदाएका बेला सपनामा सरकारी घर देखिन्छन्, कोल्टे फेर्दा चिसो लाग्छ’

पुस १७, २०७६
‘झुपडीमै निदाएका बेला सपनामा सरकारी घर देखिन्छन्, कोल्टे फेर्दा चिसो लाग्छ’

विक्रम संवत २०७१ सालमा सुर्खेतमा आएको बाढीले घरबारविहीन बनाएकी पीडिता हुन् कमला परियार । उनको ३ छोरा र पतिसहित ५ जनाको परिवार पालमुनि बस्न थालेको साढे ५ वर्षभन्दा बढी भयो ।

पुसको चिसोमा छानो र ओढ्ने–ओछ्याउने व्यवस्था राम्रो नहुँदा परियारका २ छोरालाई टाइफाइड भएको छ । वीरेन्द्रनगरको तापक्रम राति ८ डिग्रीभन्दा कम हुन्छ । बिहान ९ बजेसम्म बाक्लो हुस्सु लाग्छ ।

‘बस्ने टहराको तलमाथिबाट आउने चिसोले २ छोरा गणेश र सन्नी टाइफाइडबाट ग्रसित भएका छन्,’ उनले भनिन्, ‘उपचारमा ३ हजार ५०० रुपैयाँ खर्च भइसक्यो । दुवै छोरा अहिले पनि विद्यालय जान सकेका छैनन् । श्रीमानको ज्यालादारीबाट बचाएको केही पैसा ऋण खोजेर भएपनि उपचार गरायौं ।’

बाढीबाट विस्थापित भएका परिवारलाई सरकारले वर्षाैसम्म पुनःस्थापना नगर्दा समस्या भोग्नुपरेको परियारले बताइन् । ‘पालमाथिबाट राति खस्ने शित तथा भूइँको चिसोले हामीलाई बस्नै गाह्रो भयो । आफ्नो जग्गा भएको भए ऋण–कर्ज गरेर भएपनि एकतले घर बनाउँथ्यौं । त्यहीँ जहान बच्चा हुर्काउने थियौं । सरकारले दिने भनेको घर कहिले दिने हो अत्तोपत्तो छैन,’ उनले भनिन्, ‘हाम्रो जिन्दगी पालमा नै बसेर जाला जस्तो भयो । चुनाव जितेकाहरू पनि यहाँ कोही आउँदैनन् । अब अर्कोपालि त भोट पनि म हाल्दिनँ ।’

२०७३ सालमा दुवै खुट्टा गुमाएका नरबहादुर रोकायाको पनि कम्ता गुनासो छैन सरकारसँग । ‘२०७१ सालमा हामीले पाएको भनेको ५० हजार रुपैयाँ मात्र हो । त्योबाहेक घरजग्गाका लागि १ रुपैयाँ पनि कहीँकतैबाट पाउन सकेनौं,’ उनले भने । वीरेन्द्रनगरको महिला विकास केन्द्रमा बस्दै आइरहेका उनले भने, ‘प्रदेश सरकारले हामीलाई ‘जग्गा दिन्छौं, नभए घर बनाइदिन्छौं’ भन्दै तथ्यांक लगेको १ वर्ष पुग्न लागेको छ । खै किन हो अहिलेसम्म हामीलाई यही पालमा नै बस्नुपर्ने बाध्यता कायम छ ।’

करीब ५३ जना बालबालिकामध्ये आधाजसो चिसोका कारण बिरामी परिसकेको उनले बताए । विस्थापित बस्तीमा बस्दै आइरहेका दिपक शाहीको पनि पीडा कम छैन । गत वर्षको फागुनमा साथीको अटोमा चढेर फर्कंदै गर्दा उनी दुर्घटनामा परे । हाल उनको दुवै खुट्टामा फलामको रड राखिएको छ ।

‘रड राखिएका कारण मैले ज्याला मजदूरी गर्न सकिरहेको छैन । ६० वर्षमाथिका बुवा कालिबहादुर शाहीकै भरमा पालिनुपर्दा कम समस्या भएको छैन,’ उनी भन्छन्, ‘छोरा निर्मल २ हप्तादेखि बिरामी भएको छ । ३ वर्षको उसलाई खोकी लागिरहेको छ । उपचार गराउन खोज्दा पैसा छैन । हामी जस्ता पीडितका लागि कसले सहयोग गर्ने ?’

सुर्खेतमा आएको बाढीबाट साढे ९ सय घरबार बगाएको थियो । बाढी विस्थापित सुर्खेतको बराहतालको गिरीघाट, पञ्चपुरी लगायतका स्थानमा बस्दै आइरहेका छन् । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बाढीपीडितको समस्या समाधान गर्न भन्दै २०७६ वैशाख १७ गते ठूलो तामझामका साथ बाढीपीडित आवास निर्माण विशेष अभियान शुभारम्भ गरेको थियो ।

नयाँ वर्षमा नयाँ सरकारले आफूहरूको मुहारमा खुशी ल्याउने बाढीपीडितको सपना सपना नै भयो । केन्द्र सरकारका व्यक्तिले पनि घर बनाइदिने आश्वासन दिएको रामकुमारी खत्री सम्झिन्छिन् । ‘पुस महिना जान लागिसकेको छ ।

हरेक रात सरकारले बनाउने भनेको घरमा सुतिरहेको सपना पर्छन्,’ उनी भन्छिन्, ‘तर त्यो सपना कोल्टे फेर्दैमा सकिन्छ, चिसो लाग्छ ।’ हाल केन्द्रमा १६ घर पालमुनि बसिरहेका छन् ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले चालू आर्थिक वर्षको बजेट खर्च गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयले रोकेका कारण समस्या भएको बताए । ‘हामीले बाढीपीडितको आवासका लागि भन्दै ५ करोड ९० लाख रुपैयाँ विनियोजन गरेका थियौं । बजेट अहिलेसम्म आर्थिक मामिला मन्त्रालयले रोकेको छ । बजेट खर्च गर्ने बाटो खुलेको छैन,’ मन्त्री भण्डारीले भने, ‘अर्थ मन्त्रालयले बजेट रोकेको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा ६१४ जनालाई घर निर्माणका लागि प्रतिपरिवार १ लाख ५० हजारका दरले हामीले उपलब्ध गराइसकेका छौं । उहाँहरूले घर निर्माण गरिरहनुभएको छ ।’

मन्त्री भण्डारीले जमिन नहुनेका लागि २ लाख र घर बनाउन ३ लाख गरी प्रतिपरिवार ५ लाख रुपैयाँ दिइने र जमिन हुने तर घर नहुनेका लागि प्रतिपरिवार ३ लाख दिने गरी परिष्कृत कार्यविधि पारित गरिसकेको बताए । उनले बाढीपीडितको समस्या समाधानका लागि अर्थ मन्त्रालयले बजेट खुला गरेको खण्डमा तत्काल काम सुचारु गर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्