
‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवर्द्धन’ भन्ने मूल नाराका साथ छैटौँ नुवाकोट महोत्सव आगामी माघ १६ देखि २६ गतेसम्म हुने भएको छ ।
नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव बट्टारस्थित बसपार्क क्षेत्रमा हुनेछ ।
संघका अध्यक्ष ताराबहादुर कार्कीले ११ दिनसम्म सञ्चालन हुने महोत्सवले नेपाल भ्रमण वर्ष र नुवाकोटको आर्थिक समृद्धिलाई टेवा पुर्याउने बताए ।
संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजन श्रेष्ठले नुवाकोटको सम्भावनाका बारेमा विज्ञहरु ल्याएर ‘इन्भेस्टमेन्ट टक’ समेत गरिने बताए ।
संघका प्रवक्ता सबिन राजभण्डारीले महोत्सवमा जिल्लाका स्थानीय उत्पादन, घरेलु उत्पादन, हस्तकलाका सामग्री र जिल्लामा १२ वटै स्थानीय तहको पहिचानसहितका कक्ष राखिने जानकारी दिए ।
महोत्सवमा २४० कक्ष रहनेछ ।संघमा आबद्ध सदस्यलाई २५ प्रतिशत छुटमा महोत्सवका कक्ष उपलब्ध गराइने निर्णयसमेत भएको संघले जनाएको छ ।
महोत्सव सञ्चालनका लागि संघका अध्यक्ष कार्कीको संयोजकत्वमा ११ सदस्यीय मूल कार्य सञ्चालन समिति र ३० उपसमिति गठन गरिएको संघका द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।