
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बिहीवार बस्ने भनिएको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरूले बहिष्कार गर्ने भएका छन् ।
बिहीवार दिउँसो २ बजे बोलाइएको केन्द्रीय समितिको बैठकमा आफूहरू उपस्थित नहुने केन्द्रीय सदस्य रामकृष्ण यादवले बताए ।
'पुस ११ गते बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णयहरू फिर्ता नहुने बेलासम्म हामी कुनै पनि औपचारिक बैठकमा सामेल नहुने घोषणा गरिसकेका छौं,' यादवले भने, 'आजको बैठकमा पनि हामी जाँदैनौं ।'
मंगलवार साँझ वरिष्ठ नेता पौडेलको नेतृत्वमा बसेको संस्थापनइतर पक्षको भेलाले पार्टीको औपचारिक बैठकमा सामेल नहुने निर्णय गरेको थियो ।
वरिष्ठ नेता पौडेलले पुस २१ गते जिल्ला सभापतिहरूलाई काठमाडौँ बोलाएर परामर्श गर्ने बताएका छन् । केन्द्रीय समितिले बहुमतका आधारमा गरेका निर्णयहरू फिर्ता नभए 'नयाँ ढंगले अघि बढ्ने' चेतावनी पौडेल पक्षले दिइसकेको छ ।
मङ्सिर २६ गतेदेखि शुरू भएको कांग्रेस केन्द्रीय समिति बैठकलाई पौडेल पक्षले लगातार बहिष्कार गरिरहेको छ । बहिष्कारका बाबजुद २६ र २७ गते बैठक बसेको थियो । दुवैपक्षबीच सहमति गर्नका लागि पुस ११ गतेसम्म बैठक स्थगित गरिएपनि विवाद समाधान भएको थिएन ।
सहमतिकै लागि भनेर बीचमा उपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, केन्द्रीय सदस्य दिलेन्द्र बडू र हृदयरमा थानी सम्मिलित ४ सदस्यीय वार्ता टोली पनि गठन भएको थियो ।
दुवै पक्षबीच सहमतिका लागि निरन्तर वार्ता भइरहेको भएपनि एकले अर्कोमाथि हिलो छ्यापाछ्याप गरेका थिए ।
सहमति जुट्न नसकेपछि ११ गते सभापति देउवाले केन्द्रीय समितिको बहुमतबाट महाधिवेशन कार्यतालिका सार्वजनिक गरे । २०७७ सालको फागुनमा महाधिवेशन गर्ने भन्दै कार्यतालिका सार्वजनिक गरेको पौडेलपक्षलाई चित्त बुझेन ।
बहुमतकै आधारमा विभागको संख्या बढाउने, तरुण दलको म्याद थप्ने, क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन गर्ने काम गरेपछि पौडेलपक्ष थप चिढिएको हो ।