
प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको आसन्न निर्वाचनका लागि उम्मेदवार बन्ने भएका छन् ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रवक्ता श्रेष्ठलाई गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
श्रेष्ठ प्रतिनिधि सभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट पूर्व प्रधानमन्त्री समेत रहेका तत्कालीन नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए ।
कांग्रेससँगको गठबन्धनमा उम्मेदवार बनेका बाबुरामले ३१ हजार ८०७ मत प्राप्त गर्दा तत्कालीन वाम गठबन्धनका श्रेष्ठले २४ हजार ९३३ मत पाएका थिए ।
हेबीवेट भिडन्तमा पराजित भएका श्रेष्ठ अन्तत: ६ वर्षका लागि सांसद बन्ने भएका छन् । राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ ।
राष्ट्रिय सभाको पहिलो निर्वाचनपछि भने गोलाप्रथाबाट १९ सांसदको २ वर्ष, २० जनाको ४ वर्ष र अन्य २० जनाको ६ वर्ष कार्यकाल तोकिएको थियो ।
२ वर्षको कार्यकाल सकिन लागेका ११ जनाको स्थानमा नयाँ सदस्य चयन गर्न चुनाव हुन लागेको हो । अब निर्वाचित हुने सदस्यहरूको कार्यकाल ६ वर्ष नै हुनेछ ।