३१ जेठ २०८३, आइतबार

मध्यपूर्वमा चिनियाँ लगानीको सकारात्मक प्रभाव, नेपालका लागि पाठ

कात्तिक २०, २०७४
मध्यपूर्वमा चिनियाँ लगानीको सकारात्मक प्रभाव, नेपालका लागि पाठ

पश्चिमी मुलुकहरूले मध्यपूर्वमा रक्तरञ्जित राजनीति गरिरहेको अवस्थामा चीनले भने आफूलाई शान्तिपूर्ण विकल्पका रूपमा उभ्याएको छ । अन्य महाशक्तिले मध्यपूर्वमा हिंसा चर्काइरहेको बेलामा चीन भने समस्या समाधानको नयाँ जुक्तिहरू लगाइरहेको छ ।


गत जनवरीमा चिनियाँ राष्ट्रपति सी चिनफिङले अरब मुलुकहरूलाई सम्बोधन गर्दै चीनले खाडीमा शान्ति प्रवर्द्धन गर्न चाहेको र राजनीतिक प्रभावक्षेत्र बढाउनुभन्दा पनि मैत्री बढाएर अनि बेल्ट एन्ड रोड इनिसिएटिभमा सबैलाई संलग्न गराएर समृद्धिको ढोका खोल्न उत्सुक रहेको बताएका थिए ।

चीनले तेलको आयात र मशिनरी सामान तथा लत्ताकपडाको निर्यातमार्फत मध्यपूर्वमा आर्थिक प्रभाव बढाउँदै लगेको छ । राष्ट्रपति सीको महत्त्वाकांक्षी ‘वान बेल्ट, वान रोड (ओबीओआर)’ परियोजनाले प्राचीनकालको रेशममार्गलाई ब्युँताउन खोजिरहेको छ । रेशममार्ग चीनबाट मध्य एसिया र मध्यपूर्व हुँदै अफ्रिका र युरोपसम्म पुग्छ ।

पश्चिमभन्दा फरक रूपमा चीनले दशकौंदेखि मध्यपूर्वमा अहस्तक्षेपको नीति अपनाउँदै आएको छ । अमेरिकाले मध्यपूर्वमा शक्तिशाली भूमिका निर्वाह गर्ने क्रममा शत्रु र मित्र उत्तिकै कमाएको छ भने चीन चाहिँ त्यहाँका सबै देशको मित्रका रूपमा रहेको छ ।

तर चीनका हालैका कदमले चाहिँ चिनियाँ कूटनीतिक धार केही परिवर्तन भएको देखाउँछन् । सन् २०१६ मा चीनले अफ्रिकी मुलुक जिबुटीमा सैन्य आधारइलाका बनायो । द्वन्द्वग्रस्त यमननजिकै रहेको छ यो इलाका । उसले अरब नीतिसम्बन्धी एक अवधारणापत्र पनि प्रकाशित गरेको छ अनि सिरियाको द्वन्द्व समाधानका लागि एक विशेष दूत पनि नियुक्त गरेको छ । त्यसो त चीनले मध्यपूर्वमा हतियार पनि भारी मात्रामा बेचिरहेको छ ।


तैपनि शान्ति प्रवर्द्धनलाई नै मुख्य लक्ष्य बनाएर उसले उक्त क्षेत्रका दुई ठूला शक्ति साउदी अरब र इरानका बीच शान्तिवार्ताको प्रयास गरिरहेको छ । दुवै उसका राम्रा मित्र हुन् । अमेरिकाले शिया इरान र सुन्नी साउदी अरबबीचको द्वन्द्व चर्काउन प्रखर भूमिका निर्वाह गरिरहेको बेलामा चीन भने साउदी अरबका राजा सलमानको चीन भ्रमणका बेलामा शान्तिका लागि मध्यस्थताको प्रस्ताव गर्दैथियो ।

चीनको बढ्दो प्रभावलाई अमेरिकीहरूले स्वाभाविक रूपमा चित्त बुझाइरहेका छैनन् । ओबामा प्रशासनका कारण अमेरिकाले मध्यपूर्वमा प्रभाव गुमाएको अनि त्यसको ठाउँ चीनले लिन खोजेको अमेरिकी विश्लेषकहरूको मान्यता छ । तर चीनले मध्यपूर्वमा सैन्य संलग्नताभन्दा पनि आर्थिक लगानी बिस्तारै बढाउँदै गएको भनी बुझ्नु बढी तथ्यपरक हुन्छ ।

चीनलाई मध्यपूर्वबाट टाढा पार्न पश्चिमी विश्लेषकहरू उसले सिनजियाङ प्रान्तका मुसलमानमाथि अत्याचार गरेको बताउँछन् र पश्चिमको स्वार्थलाई नै सहयोग पु–याउने आतंकवादी संगठन इस्लामिक स्टेटले पनि चीनमा उईघुर अल्पसंख्यकको हितमा रहेको देखाउनका लागि रगतको खोला बगाउने चेतावनी दिएको छ । तर टर्कीबाहेक अरू कुनै पनि मुसलमानबहुल देशले उईघुर सम्बन्धमा चीनको आलोचना गरेका छैनन् ।

विगतमा चीनले मध्यपूर्वमा सुरक्षा तथा कूटनीतिक भूमिका खासै नखेलेको भएपनि चिनियाँ विदेशनीतिकारहरूले यसमा परिवर्तन ल्याउन खोजिरहेका छन् । अमेरिका, युरोप, रुस र भारतले पूर्वतर्फको रणनीति बनाइरहेको बेलामा चीन चाहिँ पश्चिमतिर अघि बढिरहेको चिनियाँ राजनीतिशास्त्री वाङ जीसी बताउँछन् । चीनले पूर्व र पश्चिम दुवैतिर प्रभाव बढाउँदै लानुपर्ने विदेशनीतिका विज्ञहरूको मान्यता छ । यस्तोमा पश्चिमी मुलुकहरूले चीनलाई दक्षिण चीन सागरमा अप्ठ्यारो पार्न खोजिरहेको बेलामा चीन भने मध्य एसिया र मध्यपूर्वमा प्रभाव बढाएर चेक एन्ड ब्यालेन्स बनाउन खोज्दैछ ।


यही नीति अन्तर्गत चीनले ओबीओरलाई आक्रामक रूपमा अघि बढाइरहेको छ । सन् २०१४ मा ४० अर्ब डलर लगानीका साथ शुरु गरेको ओबीओआर अन्तर्गत चीनले पाकिस्तानमा रहेको रणनीतिक रूपमा महत्त्वपूर्ण ग्वादर बन्दरगाहमाथि नियन्त्रण जमाएको छ । यसले चीनलाई होर्मुज स्ट्रेट र अरब खाडीमा सहज पहुँच भएको छ । यही क्षेत्रबाट संसारको २० प्रतिशत कच्चा तेल आयातनिर्यात हुन्छ । यसैलाई अघि बढाउँदै चीनले इरान, इजिप्ट र इजरायलमा सम्पर्क विन्दु स्थापना गरेर मध्यपूर्वमा प्रभाव जमाउँदैछ ।

चीनको विदेशनीति आर्थिक स्वार्थलाई प्रवर्द्धनका लागि बनाइन्छ भनी विश्लेषण हुने गरेको छ । रक्तरञ्जित राजनीतिभन्दा त आर्थिक स्वार्थ नै राम्रो विकल्प हो । यसका लागि मध्यपूर्वमा विकासको मात्रा बढाउनुपर्ने चिनियाँ मान्यता छ । हुन पनि आर्थिक विकास भएर सामान्य जनताको जीवनस्तरमा प्रगति भयो भने आतंकवादले पनि प्रश्रय पाउँदैन ।

विदेशनीतिका सम्बन्धमा चीनले पञ्चशीलको सिद्धान्त मध्यपूर्वमा लागू गरिरहेको छ । एकअर्काको सम्प्रभुता र भौगोलिक अखण्डताप्रति सम्मान, युद्धबाट बच्ने, अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता तथा पारस्परिक हित र शान्तिपूर्ण सहअस्तित्व यस सिद्धान्तका आधार हुन् ।

त्यही भएर अमेरिकाले हालै सिरियामा गरेको क्षेप्यास्त्रलाई चीनले सम्प्रभुतामाथिको आक्रमणका रूपमा लिँदै भर्त्सना ग–यो । सिरियाविरुद्ध संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गरेका सातमध्ये ६ प्रस्तावमा चीनले रुससँग मिलेर भिटो लगाएको थियो । सिरियालाई आत्मरक्षाका लागि हतियार दिनुका अलावा मानवीय सहयोग पनि उसले दिइरहेको छ ।


यसका अलावा चीनले इजरायल र प्यालेस्टाइन दुवैसँग राम्रो सम्बन्ध बनाएर समस्या टुंग्याउन पाँचबुँदे योजना पनि सार्वजनिक गरेको छ । तर यसमा कुनै प्रगति भएको छैन । त्यस्तै अरब क्षेत्रको गरीब मुलुक यमनसित पनि उसको राम्रो सम्बन्ध छ । अमेरिकाको सहायतामा साउदी अरबले यमनमा हिंसा मच्चाइरहेकोमा चीनले यमनलाई मानवीय सहायता दिइरहेको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रले मध्यपूर्वमा गरेको लगानीलाई त्यहाँ सकारात्मक रूपमा हेरिएको छ । झन् ओबीओआर बनेपछि त उक्त क्षेत्रको कायापलट नै हुने देखिन्छ । अनि पश्चिमी मुलुकले खेलेको रक्तरञ्जित खेलबाट मुक्त हुन उक्त क्षेत्रका देशले चीनलाई नयाँ मध्यस्थकर्ताका रूपमा पनि स्वागत गर्ने सम्भावना छ ।

अमेरिकाले ट्रम्प प्रशासनअन्तर्गत अमेरिकालाई पहिलो प्राथमिकता दिने बताउँदै अन्य देशलाई गालीगलौज गरिरहँदा चीन भने मध्यपूर्वका देशमा विश्वास, व्यापार र लगानी बढाएर प्रभाववृद्धिमा लागेको छ । अमेरिकाको एकध्रुवीय विश्वदृष्टिकोणबाट विश्वमा हिंसा मच्चिरहेको तीतो यथार्थका बीच चीनको बहुध्रुवीय नीतिले सबैको एकसाथ विकासको लक्ष्य लिएको छ । त्यसैले मध्यपूर्व मात्र नभई मध्य एसिया र युरोप समेत चीनसँग जोडिन चाहन्छ ।

टाढाका देशमा लगानी गरेर मन जितिरहेको चीनबाट छिमेकी मुलुकका रूपमा नेपालले पनि फाइदा लिन सक्नुपर्छ । नेपालले ओबीओआरमा जोडिएर यस्तो फाइदा लिन सक्छ । यसमा जोडिएपछि नेपालका साना तथा मझौला उद्योगले चीन, आसियान मुलुक, मध्य एसिया र पूर्वी युरोपमा बजार पाउने सम्भावना छ । नेपालको बजारमा भारतको लगभग एकाधिकार र चरम व्यापार घाटाका कारण अर्थतन्त्र माथि उठ्न नपाइरहेको समयमा चिनियाँ परियोजनाले बजार विविधीकरणमा पनि सहायता पु–याउनेछ ।


ओबीओआरलाई परराष्ट्र मन्त्रालयले तत्कालै प्राथमिकताको सूचीमा राखेर चिनियाँ लगानी यहाँ भित्र्याउने वातावरण बनाइहाल्नुपर्छ । यसरी आएको लगानीले ल्याउने आर्थिक समृद्धिले नै नेपालको राजनीतिक अस्थिरतालाई पनि रोक्न मद्दत गर्नेछ । समृद्धिलाई लक्ष्य बनाउने प्रमुख दलहरूको घोषणालाई मूर्त रूप दिन चीनको परियोजना सहायक सिद्ध हुन सक्छ ।

यो सामग्री तयार पार्न द सेन्चुरी फाउन्डेसनमा प्रकाशित लिली हिन्डीको लेख ‘अ राइजिङ चाइना आइज् द मिडल इस्ट’ र द बोस्टन ग्लोबमा प्रकाशित जेफ्री डी स्याक्सको युरेसियासम्बन्धी लेखको सहायता लिइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्