
आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता आइतबार हुँदैछ ।
निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै आइतवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएका छन् ।
निर्वाचनका लागि पुस १५ गते प्रदेशको उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेकाले कार्यालयमै उम्मेदवारी दर्ता गर्न सकिने छ ।
यस्तो छ विज्ञप्तिको पूर्णपाठ –
मनोनयनपत्र दर्ता सम्बन्धमा
सम्वत् 2076 साल माघ ९ गते बिहिबारका दिन हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय मिति २०७६।९।१५ गते सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भैसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मिति २०७६।९।२० गते दिउँसो १०:०० बजे देखि अपरान्ह ३:०० बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ। राष्ट्रियसभा सदस्य पदको उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशिका, 2076 को दफा 2७ को उपदफा (५) को अनुसूची-१३ बमोजिमको ढाँचामा मनोनयनपत्र दाखिला गर्नु पर्नेछ । साथै दफा ३० बमोजिम मनोनयनपत्रका साथ देहायका कागजात संलग्न गर्नु पर्नेछ :-
(क) उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(ख) मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको दफा १५ बमोजिमको मतदाता नामावलीको उतार,
(ग) दफा २९ बमोजिम धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर,
तर महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ । साथै आर्थिक रुपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको सिफारिसपत्र संलग्न हुनु पर्नेछ ।
(घ) दलको उम्मेदवारको हकमा दफा २८ बमोजिमको मनोनयनको औपचारिक पत्र,
(ङ) दलित समूहबाट निर्वाचित हुने सदस्य पदको लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानून बमोजिम अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा,
(च) अपाङ्गता भएका वा अल्पसङ्ख्यक समूहबाट निर्वाचित हुने पदको लागि उम्मेदवारी दिने अपाङ्गता भएका व्यक्तिले प्रचलित कानून बमोजिम अधिकारप्राप्त निकायले दिएको अपाङ्गताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अल्पसङ्ख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानून बमोजिम अधिकारप्राप्त निकायले दिएको अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा,
(5) प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण,
(ज) मतदाता नम्बर :-
(झ) सम्पत्ति विवरण
(अ) घर संख्या :-
(आ) घर रहेको स्थान
(इ) जग्गाको विवरण (जिल्ला, गाउँपालिका÷नगरपालिका, वडा नं, कि.नं., क्षेत्रफल) :-
(ञ) उम्मेदवारी दिँदा कुनै लाभको पदमा वहालवाला पदाधिकारी भए निजले वहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा,
(ट) सम्वत् २०७४ सालको प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगको पत्रको प्रतिलिपि ।
तसर्थ, राष्ट्रियसभा सदस्य पदमा मनोनयनपत्र दर्ता गर्नुहुने सम्पूर्ण उम्मेदवारहरूले उल्लिखित ढाँचा सहित कागजातहरू संलग्न गरी मनोनयनपत्र दर्ता गर्न हुन अनुरोध छ । साथै, राष्ट्रियसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्ने÷गराउने कार्यमा सबैको सहयोग र सहभागिताको लागि समेत अनुरोध छ ।
(राजकुमार श्रेष्ठ)
सहसचिव एवं प्रवक्ता