सुर्खेत, ५ पुस - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक मान्यता उल्ट्याउने कोसिस भइरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रले सुर्खेतमा आयोजना गरेको ६ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले भने , “माओवादी आन्दोलन केही कमजोर भएपछि सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता परिवर्तनका मुद्दा उल्टाउने कोसिस भइरहेको छ ।”
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ‘प्रचण्ड’ले नेकपा एमाले लगायत प्रतिपक्षका केही नेता राजतन्त्र र २०४७ सालकै संविधान ठीक थियो भन्ने ठाउँमा आएको उल्लेख गर्दै गणतन्त्र र सङ्घीयता उल्टिँदा माओवादी आन्दोलनको औचित्य नै समाप्त हुने भएकाले परिवर्तनका यी मुद्दा जोगााउन माओवादी धारहरुको एकता अनिवार्य भएकोे बताए ।
“हामीले दश माओवादी घटकसँग एकता गरेका छौँ तर माओवादी एकता अभियान पूरा भएको छैन, उनले भने – अहिले पनि विभिन्न धारमा रहेका माओवादीसँग एकताको प्रयत्न जारी छ, यस सम्बन्धमा मैले सबैसँग निरन्तर कुराकानी गरिरहेको छु, पहिले पार्टीको एकतालाई मजबुद बनाऔँ, अनि सबै माओवादी धारलाई एकताबद्ध गर्न सबैले पहल गरौँ, माओवादीको एकता अभियान अहिले पनि जारी छ ।”
प्रधानमन्त्री ‘प्रचण्ड’ले सिङ्गो पार्टी स्थानीय अभियानमा जाने र गाउँदेखि जिल्ला सम्मेलन हुँदै महाधिवेशनमा जान्ने, तलबाट निर्वाचित र रुपान्तरित गर्दै स्थानीय निकायको निर्वाचनमा जानुको विकल्प नरहेको स्पष्ट पारे ।
संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पुनःनिर्माण र समृद्धि सरकारका मुख्य प्राथमिकता भएकामा जोड दिँदै उनले सरकार आफ्ना प्राथमिकतामा स्पष्ट रहेको बताए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले संविधान कार्यान्वयन, पुनःनिर्माण, सन्तुलित विदेश नीति र वैदेशिक रोजगारीमा गएका नेपालीका समस्या समाधानमा सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै गरिबका लागि सरकार र जनता पेन्सनजस्ता महत्वपूर्ण कार्यक्रम ल्याएर सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गरिएको बताए ।
“संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ, त्यो माओवादीको प्रस्ताव होइन, बरु विगतमा नेकपा ९एमाले०ले अघि सारेको र नेपाली काँग्रेसले समर्थन गरेको प्रस्ताव हो,” उनले भने – “मेरो एक मात्रै चाहना हिमाल, पहाड र तराईलाई मिलाएर संविधान कार्यान्वयन गर्नु नै हो ।”
प्रधानमन्त्रीले भने –“कोही यसको विपक्षमा उभिन्छ भन्ने त्यसले राष्ट्रिय एकता चाहँदैन भने सिधै बुभ्mदा हुन्छ, त्यहाँ राष्ट्रवादको नाममा देशलाई विखण्डन गर्ने राष्ट्रघातको नियत लुकेको छ, यसले देशको हित गर्दैन ।”
प्रशिक्षणमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधानमा संस्थागत गरिएका परिवर्तनका मुद्दा कार्यान्वयन गर्न एकताबद्ध भएर जनतामा जान नेता, कार्यकर्तालाई आग्रह गरे ।
पार्टीका अर्का नेता रामबहादुर थापाले बलियो सङ्गठनका आधारमा स्थानीय निर्वाचनमा विजयको तयारी गर्न सबैलाई आग्रह गरे ।
फोटो : इन्डियन एक्सप्रेस