३० जेठ २०८३, शनिबार

उपत्यकाको फोहोर फागुनदेखि बन्चरेडाँडामा

पुस १९, २०७६
उपत्यकाको फोहोर फागुनदेखि बन्चरेडाँडामा

काठमाडौँ उपत्यकाको फोहोरमैला आउँदो फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट लैजाने तयारी भएको छ । नुवाकोटको ककनी–२, बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटको सेल नं. १ माघ अन्तिमसम्म तयार हुने जनाइएको छ ।

आगामी फागुन १ देखि फोहोरमैला व्यवस्थापन गर्न दिने तयारी भइरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । बन्चरे डाँडा काठमाडौँबाट २७ किलोमिटर उत्तरपश्चिममा पर्छ । विभागका महानिर्देशक मणिराम गेलालका अनुसार तत्काल फोहोर व्यवस्थापनका लागि तयार पार्नुपर्ने भएकाले यो ल्यान्डफिल साइट दुई भागमा विभाजन गरी निर्माण हुँदैछ । पहिलो चरणमा सेल नं. १ मा फोहोर व्यवस्थापन गर्दै सेल नं. २ को बाँकी काम गरिनेछ । अब कुनै पनि बहानामा काम नरोकी समयमै निर्माण सम्पन्न गरी व्यवस्थापनका लागि हस्तान्तरण गरिने विभागका अधिकारीहरू बताउँछन् ।

स्यानिटरी ल्यान्डफिल साइटले बाहिरी क्षेत्रसहित एक हजार सात सय रोपनी जमिन ओगटेको महानिर्देशक गेलालले जानकारी दिए। त्यसमध्ये १०४ रोपनी क्षेत्रफल जमिनमा फोहोर फाल्ने सेल बनाइनेछ । जमिनको भागमध्ये ४० प्रतिशत भागमा हाल ल्यान्डफिल साइटको सेल नं. १ तयार हुँदैछ ।

यो स्यानिटरी ल्यान्डफिल साइट फोहोरमैलाको वैज्ञानिक प्रणालीमा आधारित सेमिएरोबिक विधिअनुसार निर्माण गरिएको महानिर्देशक गेलालले बताए। “जमिनमुनिको पानी व्यवस्थित गर्न सबैभन्दा मुनि ट्रेन्च बनाइएको छ । ट्रेन्चमाथि पिबल (गोला ढुङ्गा)लाई जियोटेक्सटायलले बेरेर खाल्डो भरिन्छ । त्यसपछि चिम्ट्याइलो माटोले वाटर प्रुफिङ गरिनेछ । त्यसमाथि पानी नछिर्ने गरी जियोमेम्ब्रेन ओछ्याइने छ । त्यसमाथि पिबल राखेर लेदो (लिचेट) पानी निकाल्ने पाइप बिछ्याइन्छ”, उनले भने।

लेदो सङ्कलन गर्न साइटको बाहिरपट्टि दुईवटा पोखरी बनाइनेछ । पोखरीमा जम्मा भएको लेदो प्रशोधन गरेर मात्र खोलामा पठाइनेछ । फोहोरबाट निस्कने ग्यास सङ्कलन गर्न पनि पाइप बिछ्याइनेछ ।
यस ल्यान्डफिल साइटले हाल सिसडोलमा फालिँदै आएको फोहोर २० वर्षसम्म धान्ने प्राविधिकहरू बताउँछन् । फोहोरलाई स्रोतमै छुट्याएर अधिकतम पुनः प्रयोग तथा उत्पादन गरी बाँकी फोहोर मात्र ल्याइएमा यो ल्यान्डफिल साइटमा एक सय वर्ष फोहोर व्यवस्थापन गर्न सकिने महानिर्देशक गेलाल बताउँछन्।

गएको वैशाखदेखि निर्माण सुरु भएको बन्चरेडाँडा ल्यान्डफिल साइटमा मङ्सिरदेखि नै फोहोर लैजान दिने विभागको योजना थियो । निर्माण ढिला हुँदा क्षमता सकिएको सिसडोलमा नै उपत्यकाका १८ वटा नगरको फोहोरमैला व्यवस्थापन हुँदै आएको छ । लुम्बिनी–कोसी–न्यौपाने जेभीले ३५ करोड रुपियाँको लागत सम्झौतामा बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माण गरिरहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्