२६ जेठ २०८३, मंगलबार

‘टु प्लस वान’बाट पछि हट्यो चीन : एमसिसीमा सकारात्मक

पुस १९, २०७६
‘टु प्लस वान’बाट पछि हट्यो चीन : एमसिसीमा सकारात्मक

चीन ‘टु प्लस वान’ को अवधारणाबाट पछि हटेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले राजकीय भ्रमणमा काठमाडौं आउँदा २५ असोजमा प्रधानमन्त्री केपी ओलीलाई ‘चीन–भारत प्लस वान’ को अवधारणाअनुसार नेपालसहित छिमेकमा भारत र चीनले सहकार्य गर्ने धारणा राखेका थिए । प्रधानमन्त्री ओलीले ‘टु प्लस वान’ अवधारणा स्वीकार्य नहुने स्पष्ट पार्दै नेपालले सम्मानजनक हैसियतमा नेपाल–भारत–चीन त्रिदेशीय सहकार्य चाहेको जवाफ दिएका थिए ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार त्यसको व्याख्या गर्दै ‘टु प्लस वान’ भनेको त्रिदेशीय सहकार्य रहेको प्रस्टीकरण दिएकी छिन् । चिनियाँ दूतावासमा आयोजित पत्रकार सम्मेलनमा राजदूत होउले ‘टु प्लस वान’ अवधारणा एसियाको समृद्धिका लागि सहकार्य गर्ने सन्दर्भमा आएको बताइन् । ‘टु प्लस वान भनेको दुईवटा ठूला देश मिलेर सानालाई पेल्ने भन्ने होइन, यो त्रिदेशीय सहकार्य हो ।

सबै देशको समान हैसियतलाई आत्मसात गरेका छौँ,’ राजदूत होउले भनिन्, ‘चीन र भारत एसियाका सबैभन्दा ठूला अर्थतन्त्र हुन् । एसियाको सामाजिक आर्थिक विकासका लागि सहकार्य गर्ने अवधारणाअनुसार राष्ट्रपति सी र भारतका प्रधानमन्त्री मोदीले टु प्लस वानको अवधारणा ल्याउनुभएको हो । यो दुई देश मिलेर साना देशलाई पेल्न होइन । यो त्रिदेशीय सहकार्य नै हो र सूचना प्रविधि, पूर्वाधार, सञ्चारलगायतका क्षेत्रमा सहकार्यका लागि हो ।’ अफगानिस्तानका कर्मचारीलाई भारत र चीनका अधिकारीले दिल्ली, बेइजिङ र काबुलमा संयुक्त रूपले तालिम दिएको सन्दर्भ पनि उनले उल्लेख गरिन् । नेपालले त्रिदेशीय सहकार्यबाहेक त्यस्तो अवधारणा मान्य नहुने स्पष्ट पारिसकेको छ । 

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको बैठकमा घोषणा गरेको ५६ अर्ब रुपैयाँ आर्थिक सहायता काठमाडौं–केरुङ राजमार्ग र सुरुङका लागि खर्च हुने भएको छ । सीको भ्रमणमा योलगायत २०बुँदे संयुक्त वक्तव्य जारी भएको थियो । सुरुङको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोलीले काम थालिसकेको छ । ‘चीनका राष्ट्रपतिज्यूले घोषणा गर्नुभएको सहयोग रकम उहाँको भ्रमणका वेला भएका द्विपक्षीय सम्झौतासँग सम्बन्धित सडकलगायतका पूर्वाधारका लागि हो,’ परराष्ट्र सचिव शंकरदास बैरागीले नयाँ पत्रिकासँग भने ।

चिनियाँ राजदूत होउ यान्छीले काठमाडौं–केरुङ राजमार्गअन्तर्गतका दुईवटा सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि कार्यदल खटिएको बताइन् । ‘हामी विश्वस्त छौँ कि त्यसले उत्साहजनक प्रतिवेदन तयार गर्नेछ,’ उनले भनिन्, ‘सीमापार रेलवेका सम्बन्धमा गत नोभेम्बरमा पाँचौँ बैठक बसेको छ र दुवै पक्षले तीन चरणको सम्भाव्यता अध्ययन गर्ने गरी एक आपसको काम पनि बाँडफाँड गरिसकेका छन् । अरनिको राजमार्ग मर्मतको तेस्रो चरणमा हामी काम गरिरहेका छौँ र स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग विस्तार शीघ्र थाल्दै छौँ ।’ भूकम्पपछि पुनर्निर्माणका २५ चिनियाँ परियोजनामध्ये १० वटा पूरा भएका र बाँकी पनि शीघ्र पूरा गर्ने उनको भनाइ थियो । 

अमेरिकी सहयोग चाहिए लिनुस्
चिनियाँ राजदूत होउले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत परियोजनाका लागि ५० अर्ब रुपैयाँ अनुदान रकम नेपालले चाहेको भए लिँदा हुने बताइन् । ‘परियोजनाबाट नेपाल र नेपाली जनतालाई फाइदा भए ल्याउँदा फरक पर्दैन । किनभने नेपाललाई अन्तर्राष्ट्रिय सहयोग चाहिएको छ,’ उनले भनिन्, ‘मुख्य कुरा नेपाली जनतालाई फाइदा हुनुप-यो, नेपालले आफ्नो हितका लागि विदेशबाट लगानी, सहयोग ल्याउनुपर्छ ।’

नेपाल–चीन सम्बन्ध उचाइमा
राजदूत होउले पछिल्लो आर्थिक वर्ष नेपालमा चिनियाँ लगानी ११ करोड ४० लाख अमेरिकी डलर पुगेको बताइन् । ‘लगातार चार वर्षयता चीन नेपालको सबैभन्दा ठूलो लगानीकर्ता हुन सफल भएको छ । सन् २०१९ को पछिल्लो दश महिनामा द्विपक्षीय व्यापार एक अर्ब २० करोड डलर पुगेको छ,’ होउले भनिन्, ‘चीनमा नेपालको निर्यात पनि गत वर्षभन्दा ५८.१ प्रतिशतले बढेको छ ।’  

गत वर्ष चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति विद्यादेवी भण्डारीले एकअर्को देशको भ्रमण गरेपछि सम्बन्ध थप उचाइमा पुगेको उनको भनाइ थियो । ‘राष्ट्रपति सीको भ्रमणमा दुई देशबीच विकास तथा समृद्धिका लागि अनन्त मित्रता प्रकट हुने गरी नेपाल–चीन रणनीतिक साझेदारीको घोषणा भएको छ,’ राजदूतले भनिन्, ।

 कसरी आयो टु प्लस वान ?
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच १४–१५ वैशाख ०७५ मा चीनको वुहान सहरमा भएको अनौपचारिक वार्तामा ‘टु प्लस वान’ बारे छलफल भएको थियो । दुई महिनापछि राजकीय भ्रमणमा चीन गएका वेला ६ असारमा प्रधानमन्त्री ओलीलाई बेइजिङमा राष्ट्रपति सीले वुहान वार्तामा मोदीसँग ‘टु प्लस वान’ अवधारणामा छलफल गरेको जानकारी दिएका थिए । प्रधानमन्त्रीको भ्रमण दलमा गएका वनमन्त्री शक्तिबहादुर बस्नेतले भारतीय पत्रिका हिन्दूलाई ‘टु प्लस वान’ अवधारणालाई नेपालले समर्थन गर्ने प्रतिक्रिया दिएका थिए । 

ओली चीनबाट फर्केपछि भारतका प्रधानमन्त्री मोदीले नेपालको राजकीय भ्रमण गरेका थिए । तर, नेपाल र भारतबीच कुनै पनि शीर्ष वार्तामा ‘टु प्लस वान’ अवधारणाबारे छलफल भएको छैन । गत २४ असोजमा भारतको चेन्नइस्थित महावलीपुरम्मा चीनका राष्ट्रपति सी र भारतीय प्रधानमन्त्रीबीच पुनः ‘टु प्लस वान’ अवधारणाबारे छलफल भएको थियो । यसबारे सीले ओलीलाई २५ असोजमा काठमाडौंमा जानकारी दिएका थिए ।

ओलीले त्यही भेटमा यो अवधारणा मान्य नहुने स्पष्ट पारेका थिए । भारत र चीनबीच यो अवधारणामा छलफल भए पनि सहकार्यको विस्तृत खाका सार्वजनिक भएको थिएन । तीन महिनापछि चिनियाँ राजदूत होउले ‘टु प्लस वान’ भनेको नेपाल–भारत–चीन सहकार्य रहेको स्पष्ट पारेकी हुन् । नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्