२४ जेठ २०८३, आइतबार
भद्रगोल व्यवस्थापन

जलेश्वर जेल : सुधार गृह कि यातना गृह ?

पुस १९, २०७६
जलेश्वर जेल : सुधार गृह कि यातना गृह ?

महोत्तरीको सदरमुकाम जलेश्वर जेलमा रहेका थुनुवा तथा कैदी बन्दीहरू ठाउँ अभावका कारण आलो पालो सुत्ने गर्छन् । एउटै कोठामा रहने गरेका कैदीबन्दीमध्ये केही कैदी दिनमा सुत्छन् र राति जागा रहन्छन् । अनि केही रातमा सुत्छन् भने केही दिनमा सुत्ने गर्छन् । एक-एक सातामा फेरी रातमा सुत्ने बन्दी दिनमा सुत्छन् भने दिनमा सुत्नेहरू रातमा सुत्छन् ।

मान्छे अटाउने संख्याभन्दा धेरै नै बढी कैदी तथा थुनुवा बन्दीलाई त्यसै कारागारमा पठाइएको कारण सुत्नेदेखि उठबस गर्ने, हिँडडुल गर्ने तथा नित्य काममा समेत समस्या हुने गरेको कारगारका कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका रमेश कुमार सिंहले बताए । सर्लाहीको भक्तिपुर नगरपालिका वडा नम्बर ७ का ३४ वर्षीय सिंह २०६७ वैशाख २ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जन्मकैद (२० वर्षको) सजाय भुक्तान गरिरहेका छन् । अहिले उनी कारागार कार्यालय जलेश्वरका चौकीदारसमेत छन् । ‘सुत्ने बस्ने कोठाको अभावका कारण कैदी तथा थुनुवाहरू यति चिसोमा समेत छतमा त्रिपाल(पाल) झुन्ड्याएर सुत्ने गरेका छन्,’ चौकीदार सिंहले लोकान्तरसँग भने, ‘त्यसमा पनि अट्न नसक्ने स्थितिका कारण तल भुइँमा शौचालयकै अगाडि खुल्लामा समेत सुत्नु पर्ने बाध्यता छ ।’

एउटा कोठामा बढीमा ५० देखि ६० जनासम्म अट्छ तर ९० जना कैदीलाई त्यसै कोठामा कोचिदिने गरेका कारण आलोपालो सुत्नु परेको बाध्यता रहेको उनले बताए । कारागारमा जम्मा १३ वटा कोठा छन् । ‘खुल्ला छतमा पाल झुन्ड्याएर एउटा कोठा बनाएका छौं, त्यसै इँटा राखेर समेत एउटा अर्को कोठा बनाएर वैकल्पिक व्यवस्था गर्दा पनि सुत्ने अवस्था छैन,’ चौकीदार सिंहले थपे, ‘त्यसकारण तल शौचालय अगाडि भुइँमै खुल्लामा समेत पाल झुन्ड्याएर सुत्न हामी बन्दी तथा थुनुवा विवश छौं ।’

कुल १५ वटा कोठामा अधिकतम २ सय ५० जना मात्र अट्न सक्ने अवस्था छ तर अहिले २०७६ पुष १७ गतेसम्म कुल ५ सय ३७ जना कैदी तथा थुनुवाहरू भएका कारण सास्ती खेप्नु परेको छ । पुरुष कैदी बन्दीहरूका लागि कुल १० वटा शौचालय मात्र छन् । त्यसकारण शौचालय गर्नकै लागि मानिसहरू बिहान ३ बजेदेखि नै लाइन लाग्नुपर्छ । ‘बिहान ३ बजेदेखि १० बजेसम्ममा मान्छेले मलमुत्र बिसर्जनका लागि पालो पाउने गरेका छन्,’ चौकीदार सिंहले भने, ‘शौचालयको संख्या पनि कम छ, दिन रात मान्छेहरू शौचालयमै जानुपर्दा बाहिरसम्म दुर्गन्ध आउने गर्छ ।’

त्यसमा पनि दुर्गन्धका बाबजूद् कैदीबन्दीहरू राति त्यही शौचालयको नजिकै पालको सहारामा सुत्नु पर्दा बिरामी समेत हुने गरेको उनले गुनासो गरे ।

खानेपानीको लागि जम्मा २ वटा मात्र ट्युबेल (चापाकल) छ । त्यति मान्छेको लागि सीमित त्यहि दुई वटा कलमा पालो कुर्नुपर्ने हुन्छ । यति मात्र होइन कारागार परिसरभित्र ठाउँ अभावका कारण कुनै पनि कैदीबन्दीले खेलकुद वा शारीरिक अभ्यास गर्न समेत पाएका छैनन् । ‘जेलर सा’बले समन्वय गरेर दुई वटा क्यारम बोर्ड दिनुभएको छ,’ सिंहले भने, ‘त्यही दुई वटा क्यारम बोर्ड खेलेर समय काट्नु परेको छ । अन्य खेलकुदको व्यवस्था छैन, न त ठाउँ नै छ ।’

यो समस्या अहिले मात्र भएको होइन । विगत लामो समयदेखि कारागारमा भौतिक पूर्वाधारको अभाव छ । कैदीबन्दीले आयआर्जनका लागि सीपमुलक तालिम लिए व्यवहारमा उतार्न सकेका छैनन् ।

राणाकालमैं बनेको उक्त कारागार विगत १ सय ५६ वर्षदेखि सञ्चालनमा रहेको जेलर मकसुदन महासेठले बताए । वर्षौंदेखि उक्त भवन जीर्ण बनेको छ । बिना प्लाष्टरकै दुई तल्ले उक्त जेल भत्किन सक्ने खतरा हुँदाहुँदै पनि नयाँ भवन बन्न नसकेका कारण समस्या भएको छ । ‘अहिले आएर बल्ल यस आर्थिक वर्षमा प्रदेश सरकारले भवन निर्माणका लागि ६० लाख रुपैयाँ बजेट छुट्याएको छ,’ जेलर महासेठले भने, ‘भवन निर्माणका लागि लागत इस्टिमेट गरेर पठाउन प्रदेश सरकारले भनेको छ ।’

समस्या अरू पनि छन् । कारागार परिसरभित्र ढल निकासको व्यवस्था नहुँदा कारगारमैं जमेको हुन्छ । जस कारण लामखुट्टे बढ्नुका साथै दुर्गन्ध समेत फैलिने गरेको छ ।

खाना पकाउनसमेत समस्या

ठाउँ अभावका कारण खाना पकाउन मेस सञ्चालन गर्न समेत ठूलो समस्या हुने गरेको छ । कैदीबन्दीहरूका लागि नेपाल सरकारले दैनिक ६० रुपैयाँ अर्थात् मासिक १८ सय रुपैयाँ मात्र दिने गर्छ । ६० रुपैयाँमा मात्र दिनको दुई छाक खानाको जोहो गर्न समस्या हुने गरेका कारण विभिन्न मानिसहरू मिलेर मेस सञ्चालन गर्ने गरेका छन् । पहिले २ सय जना मात्र कैदी हुँदा १२ वटा मेस सञ्चालन हुन्थ्यो । तर अहिले ५ सयभन्दा बढी संख्या रहेका कारण जलेश्वर कारागारमा ४२ वटा मेस सञ्चालनमा छ । एक त ठाउँ अभाव छ त्यसमा पनि आफैं दाउरा किनेर खाना पकाउनुपर्ने हुँदा भित्र दाउरा राख्ने स्थानको समेत अभाव छ ।

‘अन्य बाहिरका कारागारहरूमा इन्धनका लागि जेल प्रशासनले हिटर नै उपलब्ध गराउने गर्छन्,’ चौकीदार सिंहले भने, ‘तर यहाँ हिटरको सुविधा हामीलाई दिइएको छैन ।’ ६० रुपैयाँले खाना नपुग्ने हुँदा प्रायः जसो मानिसले आफ्नो घरबाट समेत थप पैसा मगाएर खानाको प्रबन्ध मिलाउने गरेको उनले बताए ।

बिरामी कैदीहरूको औषधोपचारमा समस्या

उक्त कारागारमा ५० जना कैदी तथा थुनुवाहरू ५० देखि ६५ वर्षसम्मका छन् । ३० देखि ५० वर्षसम्मका ३ सय ५० जना छन् । बाँकी १८ देखि ३० वर्षसम्मका छन् । ५० वर्षभन्दा माथि उमेर समूहका कैदीमध्ये केही मुटुरोगी छन् भने केही प्रेसर तथा सुगरका रोगी छन् । तर उनीहरूलाई  चाहिने ती रोगको औषधि भने कारागार प्रशासनले दिन सकेको छैन ।

‘एकजना ज्येष्ठ नागरिक रहेको कैदीलाई हर्नियाको शल्यक्रिया गराउनुपर्ने आवश्यकता छ,’ चौकीदार सिंहले भने, ‘तर कारगार प्रशासनले त्यो शल्यक्रिया गराउने व्यवस्था मिलाएको छैन ।' सामान्य बिरामी ज्वरो, सर्दी आदिको लागि सिटामोलजस्ता सामान्य औषधि मात्र कारगार प्रशासनले दिने गरेको उनले बताए ।

'महिला कैदीलाई भेट्न कोहि आउँदैनन्'

उक्त कारागारमा रहेका पुरुष कैदी तथा थुनुवालाई भेट्न तिनका परिवारका सदस्यदेखि आफन्तहरू प्रायः जसो आउने गर्छन् । तर महिला कैदीबन्दीलाई भने न त आफ्नो घरपरिवारका सदस्य भेट्न आउँछन् न आफन्त नै । चौकीदार सिंहका अनुसार जेलमा आएका महिलाहरूमध्ये अधिकांशले आफ्नो श्रीमानको हत्या गरेका हुन्छन् । कोहीकोही आफ्नो सन्तानको हत्या गरेर जेल सजाय भोगिरहेका हुन्छन् भने कोहि अनैतिक सम्बन्धका कारण जेलमा आएका हुन्छन् । जसले गर्दा घरपरिवार नै टुटेका हुन्छन् । त्यसैले कोही पनि उनीहरूलाई जेलमा भेट्न आउँदैनन् । परिणाम स्वरूप जेलमा रहेका अधिकांश महिलाहरू डिप्रेसनमा गएका हुन्छन् ।

‘जेलमा रहेका पुरुष होस् वा महिला मानसिक रूपमा बिरामी भएका हुन्छन्,’ चौकीदार सिंहले भने, ‘समय-समयमा कुनै अस्पतालले जेलभित्रै त्यस्तो शिविर सञ्चालन गरेर उपचार गरिदिए हुन्थ्यो ।’

२ गुणा बढी कैदी

२ सय ५० जना कैदीको मात्र क्षमता रहेको उक्त कारागारमा अहिले २ गुणा भन्दा पनि बढी ५ सय ३७ जना कैदीबन्दी छन् । ७७ जना पुरुष तथा २० जना महिलाहरू कसुर ठहर भएर कुल ९७ जना कैदी छन् भने ४ सय ६ जना पुरुष तथा २३ जना महिला गरेर कुल ४ सय २९ जना पुर्पक्षका क्रममा थुनुवा छन् । कुल ५ सय ३७ कैदी थुनुवामध्ये ३१ जना विदेशी भारतीय नागरिक छन् ।

७० प्रतिशतभन्दा बढी कैदी तथा थुनुवाहरू धनुषा जिल्लाका मात्रै रहेको जेलर महासेठले बताए । ‘धनुषा जिल्ला अदालतद्वारा पठाइएका कैदी तथा थुनुवा नै अधिकांश छन्,’ जेलर महासेठले भने, ‘धनुषामा आफ्नै कारगार नहुँदा महोत्तरीमा पठाउने गरिएको छ ।’ त्यसका बाहेक महोत्तरी र सर्लाही जिल्ला अदालतको आदेशले समेत कैदी तथा थुनुवाहरू पठाउने गरिएको छ । सर्लाहीमा कारागार लामो समयदेखि निर्माणधीन अवस्थामै रहेका कारण सर्लाहीबाट पनि कैदीबन्दीहरू जलेश्वर कारागारमा पठाउने गरिएको छ । त्यसकारण त्यस जेलमा क्षमताभन्दा बढी संख्या भएको महासेठ बताउँछन् ।

सबैभन्दा बढी हत्या र बलात्कार मुद्दाका कैदी तथा थुनुवा

जलेश्वर कारागारमा सबैभन्दा बढी कैदी तथा थुनुवाहरू हत्या तथा बलात्कार मुद्दाकै छन् । हत्यामा ३४ जना, लागूऔषधमा १० जना, बलात्कारमा १३ जना, हत्या प्रयासमा ४ जना, डकैतीमा ४ जना, चोरीमा ४ जना, अपहरणमा ३ जना, किर्तेमा १ जना, वनसम्बन्धी १ जना कैदी बन्दी छन् ।

त्यसैगरी थुनुवातर्फ हत्या मुद्दामा सर्वाधिक ९५ जना, लागूऔषधमा ५८ जना, डकैतीमा ३५ जना, जीउ मास्ने बेच्नेमा १० जना, बलात्कारमा ९० जना, सार्वजनिक अपराधमा ३ जना, चोरीमा ३३ जना,  हत्या प्रयासमा १३ जना, हातहतियार तथा खरखजानामा ८ जना पुर्पक्षका क्रममा थुनुवामा छन् । त्यसैगरी ठगीमा १३ जना, किर्तेमा ३ जना, सवारी ज्यानमा २१ जना, अपहरणमा १६ जना र विविधमा १३ जना थुनुवा छन् ।

विदेशी भारतीयमध्ये हत्यामा ३ जना, केही सार्वजनिक अपराध अन्तर्गत १ जना गरेर कुल ४ जना कैदीबन्दी छन् । त्यसैगरी विभिन्न मुद्दामा गरेर कुल २७ जना थुनुवा छन् ।

कारागारमा थुनुवा र कैदीका लागि अलग-अलग कोठा छुट्याइएको छैन । कैद ठहर भएका कैदीसँगै पुर्पक्षका थुनुवालाई समेत राख्ने गरिएको छ । जसकारण कारागार सुधार गृहभन्दा पनि अपराधको कारखाना बन्ने सम्भावना बढी रहेको कारागारका चौकीदार सिंह पनि स्वीकार गर्छन् । ‘रेडबुल जस्तो पेय पदार्थ चोरी गरेको मुद्दामा समेत एक जनालाई यहाँ पुर्पक्षका क्रममा पठाइएको छ,’ चौकीदार सिंहले भने, ‘त्यो मानिसको संगत अहिले कुख्यात अपराधीहरूसँग भएको छ । भोलि उ यहाँबाट छुटेर गएपछि थप जघन्य अपराध गरेर आउन सक्ने सम्भावनालाई पनि नकार्न सकिन्नँ ।'

लामो समय जेल काटेर जाने व्यक्तिहरू पुनः अर्को अपराध गरेर जेल फर्किएको संख्या नगण्य नै छ । तर सानोतिनो अपराधमा कम समय काटेर गएकाहरू बाहिर पुनः अर्को अपराध गरेर फेरी पनि जेलमा फर्किनेहरूको संख्या ५ देखि १० प्रतिशतसम्म रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्