२६ जेठ २०८३, मंगलबार

भ्रमण वर्षमा पर्यटक बढाउने प्रयासमा बाँके राष्ट्रिय निकुञ्ज

भ्रमण वर्षमा पर्यटक बढाउने प्रयासमा बाँके राष्ट्रिय निकुञ्ज

बाँके राष्ट्रिय निकुञ्ज पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दौडमा लागेको छ ।

गत आव ०७५/७६ मा यो निकुञ्जमा आन्तरिक र बाह्य गरी १५० पर्यटक आएको तथ्यांकले देखाउँछ । त्यसमध्ये पनि विदेशी पर्यटकको संख्या ८ मात्र रहेको छ ।

अन्य निकुञ्जका तुलनामा बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक कम आउने कारणको खोजी गरी आक्रामक रणनीतिक योजना बनाउन लागिएको निकुञ्ज प्रमुख प्रमोद भट्टराईले बताए ।

योजनाअन्तर्गत निकुञ्जले जनप्रतिनिधि, होटल तथा यातायात व्यवसायी, पत्रकार, उद्योगी, व्यापारी र अन्य सरोकारवाला पक्षसँग छलफल कार्यक्रमको आयोजना गरी राय–सुझाव लिने काम पनि गरिरहेको प्रमुख भट्टराईको भनाइ छ ।  

बाँके राष्ट्रिय निकुञ्ज नेपालगञ्जदेखि २० किलोमिटर टाढा पूर्व—पश्चिम राजमार्गको छेउमै अवस्थित छ । राजमार्गको चौबाटो कोहलपुर चोकबाट पूर्व, पश्चिम र उत्तरी क्षेत्रमा अवस्थित यो पाटेबाघको मुख्य क्रिडास्थलका रुपमा समेत परिचित छ ।

निकुञ्जको मनमोहक प्राकृतिक छटा, विभिन्न थरीका वन्यजन्तु, नदीनाला र विभिन्न जातिका परम्परागत आवास घरवास (होमस्टे) ले निकुञ्जको शोभा बढाएको छ ।  

८ वर्षअघि स्थापना भएको यो निकुञ्जमा पाटेबाघको संख्या २१ पुगेको निकुञ्जका प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार पछिल्लो समय बाघको संख्या बढ्दै गएपछि पर्यटकको संख्यामा पनि वृद्धि हुने क्रम बढेको छ । 

गाभर भ्याली सामुदायिक होमस्टे र चुरिया रेन्जले पनि बाँके राष्ट्रिय निकुञ्जको शोभा बढाएको छ । होमस्टेका प्रमुख कृष्ण चौधरीका अनुसार चुरे क्षेत्रमा हाइकिङको व्यवस्था भएकाले पनि यो निकुञ्ज पर्यटकको रोजाइमा पर्ने विश्वास गरिएको छ । 

नेपाल भ्रमण वर्षलाई दृष्टिगत गरी नेपालगञ्ज उपमहानगरपालिका–२२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीयस्थलका रुपमा निर्माण गर्नका लागि धमाधम काम अगाडि बढाइएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट तालको पुनर्निर्माण भइरहेको नगर प्रमुख डा. धवलशम्शेर राणाले बताए । विगतमा यो ताल पुरैना र पुरैनी तालको नामले चिनिन्थ्यो ।

नेपालगञ्जदेखि साढे २ किलोमिटर पूर्व राप्ती सडकको किनारमा पर्ने २५ बिगाहा क्षेत्रफलमा फैलिएको छ । 

कान्तिताल एउटा प्राकृतिक ताल हो । यो तालको पानी पहिला खेती सिँचाइका लागि प्रयोग गरिन्थ्यो । २०३९ सालदेखि २०७२ सम्म ताललाई माछापालन गर्न ठेक्कामा दिने गरिएको थियो । अहिले आएर नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाएको हो । 

यसैगरी, नेपालगञ्जको ऐतिहासिक रानीतलाउ अहिले आएर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । डेढ दशकअघिसम्म जीर्ण अवस्थामा रहेको नेपालगञ्ज–८ स्थित प्रसिद्ध ऐतिहासिक रानी तलाउको नेपालगञ्ज उपमहानगरपालिकाले पुनर्निर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ ।  

नगर प्रमुख डा. धवलशम्शेर राणाले स्थानीय तहको गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीय रुपमा विकसित गर्दै लगिएको बताए । पार्क अवलोकनका लागि पश्चिम नेपालका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेत आउने गरेका छन् । 

नेपालगञ्जकै अर्को ऐतिहासिक महेन्द्र पार्क पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । यो पार्कलाई ‘मिनी जू’को पनि नाम दिइएको छ । पार्कमा मयूर, खरायो, जरायो, अष्ट्रिचलगायत विभिन्न थरीका चराहरू रहेका छन् । सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाइने निर्णय गरेअनुरुप सोही अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले पनि यहाँका पर्यटकीयस्थललाई आकर्षक बनाउने अभियान नै सञ्चालन गरेको नगर प्रमुख राणाले बताए ।

उनका अनुसार, नेपालगञ्जको यी २ पार्कका साथै ऐतिहासिक शक्तिपीठ बागेश्वरी मन्दिरको विस्तार, नेपालगञ्जकै कान्तिताल र वाटरपार्कको निर्माण धमाधम भइरहेको छ । साथै नेपालगञ्ज फोहरमुक्त बनाउन प्लास्टिकजन्य वस्तुको व्यवस्थापनलाई पनि नगरपालिकाले आफ्नो कार्यक्रममा समेटेको उनको भनाइ छ । – नीरज गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्