२३ जेठ २०८३, शनिबार
भाषाशैली

'खेमा लिपि'को संरक्षण र प्रवर्द्धनमा जुटेका भीम

पुस १९, २०७६
'खेमा लिपि'को संरक्षण र प्रवर्द्धनमा जुटेका भीम

कुनै पनि जातिको पहिचान भनेको उसको भाषा र संस्कृति हो । पश्चिमा भाषा र संस्कृतिका कारण पछिल्ला वर्षहरूमा नेपालमा मातृभाषाहरू हराउँदै/लोप हुँदै गएका छन् । राज्यले प्राथमिक तहसम्म मातृभाषा पठन–पाठन गराउन सकिने बताए पनि त्यसले मूर्त रूप पाउन सकेको देखिँदैन । ‘शास्त्र हराए परम्परा हराउँछ, परम्परा हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे हराउने' भन्दै रुपन्देहीका एक अभियान्ता तमु (गुरुङ) भाषा र लिपिको संरक्षणमा जुटेका छन् ।

रुपन्देहीको देवदह नगरपालिका–५ खैरेनीका भीमप्रसाद गुरुङले लोप हुन लागेको तमु समुदायको भाषा र उनीहरूको लिपि (खेमा लिपि) संरक्षणमा जुटेका हुन् । उनले भाषाको शब्दहरूमा संस्कृति लुकेका कारण तमु अर्थात् गुरुङ भाषा लोप भएमा उसको संस्कृति हराउने भएकोले भाषा संरक्षण गर्नु मुख्य दायित्व सम्झिए ।

भाषालाई दीर्घजीवी बनाउनको लागि त्यो भाषाको लिपि आवश्यक पर्ने हुनाले लिपिको प्रचार र विकासका लागि गुरुङले विगत दुई दशकदेखि खेमा लिपि संरक्षण र प्रवर्द्धनको अभियानमा लागेका छन् । लोपोन्मुख तमु समुदायको खेमा लिपिलाई पुनर्जीवन दिइरहेका छन् उनले ।

कुनै पनि भाषालाई लेख्य माध्यमबाट प्रस्तुत गर्ने अक्षरलाई लिपि भनिन्छ । नेपाली भाषा देवनागरी लिपिमा लेख्ने गरिन्छ भने गुरुङ भाषा खेमा लिपिमा लेखिन्छ ।

*****

२०४७ सालमा गुरुङले बुटवल बहुमुखी क्याम्पसमा प्रविणता प्रमाणपत्र तह पढ्दै गर्दा बुटवलमा लिपिकार बालनरसिंह गुरुङबाट खेमा लिपि सिकेका हुन् । भीम गुरुङसँगै अन्य दश गुरुङ समुदायका युवाले पनि खेमा लिपिको अध्ययन गरे । तर उनीहरुले भाषा र लिपिको संरक्षणमा ध्यान दिएनन् । आउँदो पुस्ताका लागि आफ्नो भाषा र संस्कृति बचाउनका लागि भन्दै भाषा र लिपि संरक्षणमा आफू लागिपरेको गुरुङको भनाइ छ ।

गुरुङ जातिले आफूलाई 'तमु' भनेर चिनाउँछन् । गुरुङ भाषालाई तमु भाषा पनि भनिन्छ । तमु भाषा रोमन र देवनागरी लिपिमा समेत लेखिने गरेको छ । ‘अहिलेको युवाले तमु भाषा र लिपि सिक्नुपर्छ । उनीहरूले सिके भाषा र लिपिको आयु बढ्छ,’ गुरुङले भने ।

खेमा लिपिको स्याङ्जा एलादी निवासी पुरोहित स्व.पिम बहादुर गुरुङ (पच्चु गुरु) ले २०३० तिर प्रतिपादन गरेको बताइन्छ । 'पच्चु गुरु'ले प्रतिपादन गरेको लिपिलाई बुटवलमा बालनरसिंहले पूर्णता दिए । बालनरसिंहले पूर्णतासँगै भीम गुरुङ संरक्षण, विकास र प्रवर्द्धनमा लागे ।

पुर्खाको नाममा सिर्जना गरिएको लिपि नै ‘खेमा लिपि’ हो । खेमा लिपि अभियान्ता भीम गुरुङका अनुसार तमु भाषामा २९ वटा व्यञ्जन वर्ण, ८ वटा स्वरवर्ण र ६ वटा सहयोगी वर्ण छन् । ‘छयाजालो’ भनेको नमस्कार हो- गुरुङ भन्छन् ।

भीम गुरुङ खेमा लिपिको प्रचारका लागि देशभर प्रचारात्मक प्रशिक्षणमा लागेका छन् । उनले आफ्नै नगरका देवदह मदर टङस् बोर्डिङमा विगत २० वर्षदेखि गुरुङ भाषा अध्यापन गराइरहेका छन् । जुन नेपालभरमा गुरुङ भाषाको पढाई हुने पहिलो र एकमात्र विद्यालय हो । उनले प्रदेश एक, तीन, गण्डकी, सुदूरपश्चिम र प्रदेश पाँचका ३५ भन्दा बढी जिल्लामा पुगेर गुरुङ भाषा र लिपि सिकाइसकेका छन् ।

‘गुरुङ भाषाका संयुक्त अक्षर स्वरमा आउँछन् । त्यो अवस्थामा एकै पटक चार पाँच वटा शब्द उच्चारण गर्न गाह्रो हुने हुँदा खेमा लिपिमा गुरुङ भाषा प्रष्ट आउँछ । तर सिक्नका लागि देवनागरी लिपिमा पनि लेख्न सक्छौं,’ गुरुङले प्रष्ट्याए । ‘तमु ताँ पोंले’ गुरुङ कुरा बोलौं भन्ने उनको पुस्तक पनि प्रकाशित छ ।

उनी गुरुङ बाहुल्य रहेको धेरै ठाउँमा पुगेका छन् । लम्जुङ, पर्वत, स्याङ्जा, कास्कीमा तमु भाषा बढी बोलिन्छ ।

‘जुन ठाउँमा गुरुङ भाषा छ । त्यहाँका साथीहरूले लिपिप्रति धेरै चासो दिइरहेको अवस्था छ । जहाँ गुरुङ भाषा लोप हुन लागेको भान हुन्छ, त्यहाँका साथीहरूले खबर गर्नुहुन्छ । अनि त्यहाँ प्रशिक्षण दिन जाने गरेको छु । अहिले देशभर भाषा संरक्षण गर्नुपर्छ भन्ने जागरुकता पनि बढेको मैले प्रशिक्षणका क्रममा पाएँ,’ भीमप्रसादले भने । भारतको सिक्किममा मेघराज गुरुङ, भुटानमा कर्म गुरुङले पनि तमु भाषा र संस्कृति संरक्षणमा लागेको भीम बताउँछन् ।

उनी जन्मिएको पर्वतको पैञ्यूखोला साविक होसाङ्दी–७ अर्गाउदी हो । उक्त ठाउँ गुरुङ समुदायको बस्ती भएको ठाउँ हो । भारतको सिक्किमबाट पनि आफूसँग भाषा र खेमा लिपि सिक्न २५ जनाको प्रावि र मावि तहका शिक्षकहरू पनि आएको उनले बताए ।

उनीहरूलाई गुरुङले १५ दिन देवदह र अन्य १५ दिन आफ्नो जन्म ठाउँ पर्वत लगे । त्यहाँको गुरुङ समुदायको बीचमा पुर्‍याएर पनि सिकाए । उनीहरूलाई एक महिनामा सक्दो दक्ष बनाए । यहाँ लिपि सिकेर गएपछि उनीहरूलाई भारत सरकारले खेमा लिपिका शिक्षकको रूपमा नियुक्त गरेको भीमले सुनाए । सिक्किममा धेरै तमु भाषाका शिक्षकहरू रहेका छन् । भीमसँग देश विदेशबाट पनि मानिसहरूले सम्पर्क गर्छन् । माग अनुसार उनी प्रशिक्षण दिन्छन् पनि । गुरुङ पत्रकार पनि हुन् ।

उनले सिकाएका विभिन्न जिल्लामा २० जना प्रशिक्षकहरू पनि तयार भइसकेका छन् । नवलपरासीमा सीता गुरुङ, डोल्मा गुरुङ, नवलपुरमा नविन, मोहित, काठमाडौंमा रस, हिम, खीम मिरा, गिरमान गुरुङ लगायतलाई संरक्षक बनाएपछि उनीहरूले पनि भाषा र लिपिलाई जोगाउन भीमलाई साथ दिएका छन् । मौलिकपन भएका कारण तमु युवा पुस्ताको यो भाषा र लिपि अध्ययनमा रुचि बढेको गुरुङको भनाइ छ । नेपालका मातृभाषाहरूको संरक्षण गर्ने भनिँदै आएपनि राज्यले तिनीहरूको संरक्षणमा कुनै चासो नदिएको उनको गुनासो छ ।

‘मातृभाषाप्रति राज्यले दुई व्यवहार गरेको छ,’ गुरुङ भन्छन्, ‘मातृ भाषा संरक्षण भन्छ खै कुन सामुदायिक विद्यालयमा मातभाषामा पठनपाठन शुरू भएको ? नीति निर्माण पनि गर्दैन । बजेट र कार्यक्रम पनि छैन ।’

नीतिगत रूपमा तमु भाषा संस्कृति संरक्षण गरिनुपर्छ भन्ने संस्थागत निर्णय पनि भएका छन् । ‘खेमा लिपि’ लाई २०५२ सालदेखि साझा लिपिका रूपमा अघि बढाइएको थियो ।

२०७५ पुसमा राज्यको निकाय राष्ट्रिय भाषा आयोगमा गुरुङ भाषालाई लिपिमा रूपमा पनि दर्ज गरिएको छ । त्यस्तै, लिपि २०७६ असोज २४ र २५ गते काठमाडौंमा सम्पन्न तमु सम्मेलनबाट समेत अनुमोदित भएको छ । लिपिलाई गुरुङ जातिको लिपि घोषणा हो ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार गुरुङ जातिको जनसंख्या ५ लाख २२ हजार ६ सय ४१ छ । नेपालमा धेरै जातजाति र भाषाभाषीको बसोबास छ । तिनीहरूको संरक्षणमा अब राज्य लाग्नुपर्ने गुरुङको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्