
नेपालगञ्ज विमानस्थलमा यतिबेला यात्रुको चाप निकै बढेको छ । चिसो बढेसँगै जहाज चढ्ने यात्रु बढेकाले नेपालगञ्ज विमानस्थलमा चाप बढेको हो ।
दशैंतिहारमा जस्तै व्यस्त विमानस्थलमा अहिले दैनिक ५० उडान भइरहेका छन् । यात्रुलाई टिकट पाउन मुस्किल परेको छ ।
नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार दैनिक हवाईजहाज चढेर आवतजावत गर्ने यात्रुको संख्या १ हजार २०० देखि १ हजार ५०० सम्म पुग्छ । यो संख्या विगत वर्षभन्दा बढी हो ।
चिसोका कारण सडक यातायातभन्दा हवाईजहाज रोज्ने बढेका छन् । चिसोमा कष्ट र झन्झट हुने भएपछि जहाजमा यात्रा गर्नेको चाप देखिएको ठाकुरले बताए ।
‘अहिले ३ हजारदेखि ४ हजार रुपैयाँसम्म टिकट पाइरहेको छ,’ विमानस्थल प्रमुख ठाकुरले भने, ‘आयस्रोत बढेका कारण छिटो र सहजरूपमा गन्तव्यमा पुगिने जहाज प्रयोग गरिरहेका छन् ।’
नेपालगञ्ज विमानस्थलमा दशैं, तिहार र मानसरोवरको याममा अहिलेको भन्दा यात्रुको चाप धेरै हुन्छ । नेपालगञ्ज–काठमाडौं आवातजावत गर्ने यात्रु धेरै छन् ।
पहाडी जिल्लामा जानेभन्दा बेंसी झर्नेको संख्या बढी छ । नेपालगञ्ज होली डेका प्रबन्ध निर्देशक श्रीराम सिग्देलले आयस्रोत बढेसँगै जहाज प्रयोग गर्ने बढेको बताए । ‘नेपालगञ्ज–काठमाडौंको भाडादर १० हजार रुपैयाँ हुँदा पनि नागरिक जहाज चढ्थे । अहिले त्योभन्दा धेरै कम छ,’ सिग्देलले भने ।
सिग्देलले आन्तरिक हवाई यात्रु जस्तै पश्चिम नेपालमा पर्यटकको चाप बढाउन सके अझ राम्रो हुने बताउँछन् । भ्रमण वर्ष शुरू भएपनि घुम्नका लागि पश्चिम आउने पर्यटकको संख्या भने कमै छ । नेपालगञ्ज विमानस्थल आन्तरिक यात्रुले नै धानेको छ । यो विमानस्थल आन्तरिक उडानतर्फ धेरै व्यस्त हुने विमानस्थलका रुपमा रहेको छ ।
पहिलेका वर्षमा चिसोको समयमा पटक–पटक हवाई उडान अवरुद्ध हुने गरेकामा यसपटक दुई दिनमात्र त्यस्तो समस्या आएको विमानस्थल प्रमुख ठाकुरले बताए । सडक यातायात भरपर्दो नभएको र अन्य ठाउँमा नियमित उडान नहुँदा नेपालगञ्ज विमानस्थमा दुई वर्षयता हवाई यात्रुको चाप बढेको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।
पश्चिम क्षेत्रको केन्द्रमा सबैभन्दा ठूलो र सबैको पहुँचमा रहेका कारण पनि नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप बढेको हो । बर्सेनि यात्रुको चाप बढ्दै गएको तर उडानमा वृद्धि नहुँदा भने नागरिकले अपेक्षाअनुसार सेवा पाउन नसकेको यात्रुको गुनासो छ । सडक यात्रामा धेरै चापमा परिने र दुःख पाइने भएका कारण पनि हवाई यात्राप्रति आकर्षण बढेको हो ।
अहिले अधिकांश कार्यालय प्रयोजनका लागि आवतजावत गर्ने यात्रुले हवाईमार्ग प्रयोग गर्ने गर्छन् । सार्वजनिक यातायातमा यात्रा गर्दा निश्चित समयमा गन्तव्यमा पुग्न कठिनाइ हुने र काम बिग्रने भएका कारण पनि हवाई यात्रु बढेका हुन् । विमान चढ्ने यात्रुको चाप हेर्दा गत वर्षभन्दा यस वर्ष अझै बढ्ने देखिएको विमानस्थल प्रमुख ठाकुरले बताए ।
‘सबैलाई समयमै आफ्नो गन्तव्यमा पुग्ने सोच हुन्छ, सडक यात्रामा भनेजस्तो नहुन पनि सक्छ,’ ठाकुरले भने, ‘हवाई भाडा पहिलेजस्तो महङ्गो पनि छैन, सहुलियत दरमा समयमै गन्तव्यमा पुग्ने भएकै कारण हवाईयात्रुको चाप बढेको हो ।’ अन्य ठाउँमा नियमित उडान हुन नसक्दा नेपालगञ्ज विमानस्थल प्रयोग गर्ने यात्रुको चाप बढेको हो । – काशीराम शर्मा/रासस