२५ असार २०८३, बिहीबार

फोहर संकलनमा नयाँ नियम, कुहिने र नकुहिने फरक–फरक दिन संकलन

फोहर संकलनमा नयाँ नियम, कुहिने र नकुहिने फरक–फरक दिन संकलन
फाइल फोटो

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहरको संकलन कार्य फरक–फरक दिन शुरू गरेको छ ।

सबै फोहर एकै स्थानमा व्यवस्थपन गर्दा समस्या भएको भन्दै कामपाले हप्ताको ४ दिन कुहिने र ३ दिन नकुहिने फोहर संकलन कार्य शुरू गरेको हो । 

३२ वडा रहेको कामपाले पहिलो चरणमा वडा नम्बर १२, १८ र २१ मा यो कार्य शुरू गरेको छ । 

कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार आइतवार, मंगलवार, बिहीवार र शनिवार नकुहिने र सोमवार, बुधवार र शुक्रवार कुहिने फोहर संकलन कार्य भइरहेको छ ।

प्रमुख श्रेष्ठका अनुसार तोकिएको समयअनुसार फोहर संकलन गर्ने सवारीसाधनले कुहिने र नकुहिने फोहर संकलन गर्नेछन् । विभागले फोहरको सही सदुपयोग गर्न वर्गीकरण शुरू गरेको जनाएको छ ।

पहिलो केही वडामा काम शुरू गरेको भएपनि अन्य वडामा पनि यस किसिमको कार्यको थालनी गर्नका लागि अभ्यास भइरहेको श्रेष्ठले जानकारी गराए । अव्यवस्थित शहरीकरण, आवश्यक पूर्वाधारको अभाव, जनसंख्या वृद्धि, जनचेतनाको अभावजस्ता कारणले कामपा क्षेत्रको फोहरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा फोहर संकलन गर्न नयाँ व्यवस्था लागू गरिएको हो ।

कामपाले आगामी २ महिनाभित्र ३२ वटै वडामा वर्गीकरण गरिएको फोहर व्यवस्थापन गर्ने तयारी गरेको छ । अहिले उपत्यकामा घरेलु, औद्योगिक, रासायनिक, स्वास्थ्य संस्थाजन्य वा हानिकारक फोहरमैला उत्पादन बढी हुने गरेको छ । 

फोहरलाई स्रोतमा नै व्यवस्थापन गर्ने प्रणालीको विकास गर्दै फोहरमैलाको परिमाण कम गर्न घर–घरबाट उत्सर्जन हुने जैविक र अजैविक फोहर फरक किसिमले भाँडोमा राख्ने परिपाटीको विकास गर्न तालिका बनाएर फोहर संकलन गरेको उनले बताए ।

यसरी संकलन गरिएको जैविक र अजैविक फोहर छुट्याई जैविकलाई कम्पोस्ट मलमा रुपान्तरण गर्ने, करेसाबारीमा प्रयोग गर्ने अजैविक फोहरलाई पुनः प्रयोग गर्ने गरी यस कामपाले यस किसिमको विधि अपनाएको हो । हाल उपत्यकाका १८ स्थानीय निकायबाट दैनिक १ हजार ४५ टन फोहर संकलन हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्