
भ्रष्टाचारका कारकको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथाममा केन्द्रित ‘फरेन्सिक साइन्सेस युनिभरसिटीमा प्रशिक्षण’ मा नेपाली अधिकारीलाई तालिम दिइएको छ।
सोमबारबाट सुरु भएको ‘ठगी, घुसखोरी र भ्रष्टाचार निवारण’ विषयक प्रशिक्षणमा नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ अधिकारी सहभागी छन्। दोस्रो ब्याचको उक्त प्रशिक्षण भारतको गुजरातको गान्धीनगरमा भइरहेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ।
यसअघि आयोगकै २१ अधिकारीको पहिलो ब्याचले सोही युनिभरसिटीमा गत मंसिर ३० गतेदेखि यही पुस ५ गतेसम्म त्यही विषयमा प्रशिक्षण लिइसकेका छन् । सङ्कायका अनुभवी सदस्यबाट सञ्चालित सो प्रशिक्षण नेपाली अधिकारीका लागि अत्यन्तै फलदायी रहेकोे दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
नयाँ तथा उपयोगी विचारसहित अनुसन्धान कार्यलाई अघि बढाउन सो प्रशिक्षणले नेपाली अधिकारीलाई सक्षम बनाउने अपेक्षा गरिएको छ । नेपाल सरकारको आग्रहमा आयोगका कूल ४२ अधिकारीका लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो । नेपालमा भ्रष्टाचारका गतिविधिमा अङ्कुश लगाउन एवं सुशासन कायम राख्न यो कोर्षले आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्नेछ ।
सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कोर्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरुको विश्लेषणात्मक क्षमतालाई तिखारी नयाँ विधि सिक्नलाई मद्दत गर्नेछ । अन्ततः यसले भ्रष्ट तथा ठगी गर्ने व्यक्तिको पहिचान, निवारण एवं कानूनी कारवाही गर्न अधिकारीलाई सक्षम बनाउने दूतावासले जनाएको छ ।