१५ असार २०८३, सोमबार

अन्तर्राष्ट्रिय विमानस्थल विस्तार ६ वर्ष ढिलो, डेढ गुणा लागत बढाएर पुनः ठेक्का

पुस २३, २०७६
अन्तर्राष्ट्रिय विमानस्थल विस्तार ६ वर्ष ढिलो, डेढ गुणा लागत बढाएर पुनः ठेक्का

चार वर्षअघि निर्माण सकिनुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम ५० प्रतिशत लागत बढाएर बल्ल पुनः ठेक्का दिइएको छ । विगतमा स्पेनी कम्पनीले सन् २०१६ मै सक्ने गरी विमानस्थल विस्तारको काम लिएको थियो । तर, सम्पन्न गरिसक्नुपर्ने वेलामा स्पेनी कम्पनीले १७ प्रतिशत मात्रै काम गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन वर्षअघि ठेक्का तोडेको थियो । 

अहिले तिनै कामहरू विगतको ठेक्का रकमभन्दा ५० प्रतिशत बढाएर विभिन्न ठेकेदार कम्पनीलाई जिम्मा दिइएको छ । २० जहाज अट्ने ‘पार्किङ वे’ निर्माणको मुख्य ठेक्का भने हालै चिनियाँ कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पाेरेसनलाई ६ अर्ब ९२ करोडमा दिइएको छ । काम दुई वर्ष भित्र सक्नु पर्नेछ । यो चिनियाँ कम्पनीले केही दिनअघि मात्र धावनमार्ग जीर्णोद्धारको काम निर्धारित समयभन्दा ५ महिनाअघि नै सकेको थियो । 

५० प्रतिशत लागत बढाएर ठेक्का 
विगतमा स्पेनी कम्पनीले ६ अर्ब १० करोड रुपैयाँमा काम सम्पन्न गर्ने गरी पार्किङ वे, ट्याक्सी वे, टर्मिनल भवन, तीन सय मिटर धावन मार्ग विस्तारको जिम्मा लिएको थियो । तीन वर्षपछि भएको नयाँ प्रक्रियाबाट ठेक्का गर्दा ५० प्रतिशत लागत थप भएको छ ।  अहिले पार्किङतर्फको मात्रै आयोजनामा ६ अर्ब ९२ करोड रुपैयाँमा चिनियाँ कम्पनीलाई ठेक्का दिइएको हो । स्पेनी कम्पनी एउटैले गर्ने गरी दिइएको कामको जिम्मा अहिले टुक्र्याएर ४ ठेकेदारलाई दिइएको छ । 

त्यसमध्ये नेपालका तीन निर्माण कम्पनी छन् । एनसिबी–१ अन्तर्गत ९२ करोड रुपैयाँमा तीन सय मिटर धावन निर्माणको जिम्मा कालिका र तुँदी कन्स्ट्रक्सनले पाएको छ । दुई वर्षभित्रमा सम्पन्न गर्ने गरी एक वर्षअगाडिदेखि नै काम सुरु भइसकेको छ । 

त्यस्तैगरी गरी अन्तर्राष्ट्रिय टर्मिनल भवनतर्फको कामको जिम्मा शर्मा, प्रेररा र अशिष कम्पनी (जेभी) ले पाएको छ । एनसिबी–२ अन्तर्गतको उक्त ठेक्का ८० करोड रुपैयाँको हो । त्यस्तै, एनसिबी–३ अन्तर्गत ढल, निर्माण, खानेपानीलगायतका सुविधा विस्तारका लागि आशिष र प्रेररा कम्पनी (जेभी) ले १८ करोड रुपैयाँमा पाएको छ । 

स्पेनी कम्पनी एक्लैले ६ अर्ब १० करोडमा लिएको काम टुक्र्याएर विभिन्न ठेकेदारलाई दिँदा ९ अर्ब ७ करोड रुपैयाँ लागत पुगेको छ । यो रकम विगतभन्दा २ अर्ब ९७ करोड रुपैयाँ लागत बढी हो । ‘सन् २०१२ मा स्पेनी कम्पनीसँग भएको सम्झौता र अहिलेको सम्झौताअनुसार लागत बढ्नु स्वाभाविक हो,’ त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजनाका आयोजना उपप्रमुख दीपेन्द्र श्रेष्ठले भने । ६ वर्षपछि पनि आयोजना निर्माण लागतको मूल्यांकन खासै बढी नभएको श्रेष्ठको भनाइ छ । 

२० लाख घनमिटर माटो भर्नुपर्ने 
चिनियाँ ठेकेदार कम्पनीले दुई वर्षभित्र २० लाख घनमिटर माटोले पुरेर जहाज ‘पार्किङ वे’ निर्माण गर्नेछ । विस्तारपछि उक्त पार्किङ वेमा अन्तर्राष्ट्रिय उडानका २० जहाज पार्किङ गर्न मिल्नेछ । स्पेनी कम्पनीले पशुपतिको माटो ल्याएर पुर्नुपर्ने विषय उठाएपछि आयोजनामा विवाद सुरु भएको थियो । नयाँ ठेकेदारलाई काठमाडौंको ३० किलोमिटर आसपासकै कुनै नजिकको डाँडाबाट माटो ल्याउन दिने पहल भइरहेको श्रेष्ठले जानकारी दिए ।
 
चार गुणा पार्किङ क्षमता बढ्ने 
विमानस्थलको विस्तार आयोजना समयमै सम्पन्न भएमा विमानस्थलको पार्किङ क्षमता चार गुणा बढ्नेछ । विमानस्थलमा हाल अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय पार्किङ क्षमता ९ जहाजको मात्रै छ । पूर्व र पश्चिमतर्फ नागरिक उड्डयन प्राधिकरणकै खर्चमा पनि ६ जहाज पार्किङ गर्न मिल्ने गरी नयाँ दुईवटा पार्किङ वे निर्माण भइरहेका छन् । नयाँ चिनियाँ ठेकेदारले दुई वर्षमा निर्माण सम्पन्न गरेमा थप २० जहाज अट्न सक्ने क्षमताको पार्किङ वे निर्माण हुनेछ । 

एडिबी बाहिरिएपछि आन्तरिक स्रोतबाटै निर्माण हुने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार परियोजनाबाट एसियाली विकास बैंक (एडिबी) बाहिरिएको छ । एडिबीले सन् २०१२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई क्षमता अभिवृद्धि परियोजनामा ऋण र अनुदान लगानी गर्ने सम्झौता गरेको थियो । एडिबीले परियोजनाका लागि १० करोड अमेरिकी डलर ऋण र अनुदान दिने सम्झौता गरेको थियो । यसमा पहिलो चरणका लागि बैंकले ६ अर्ब दिने सम्झौता भएको थियो । 

विमानस्थल विस्तारको जिम्मा स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेले पाएको थियो । सान्जोसेले समयमा काम सम्पन्न गर्न नसकेको भन्दै सरकारले सन् २०१६ मा ठेक्का सम्झौता तोडेको हो । अहिलेको आयोजनामा एडिबी नआउने भएपछि आन्तरिक स्रोतबाटैै निर्माण गर्न लागिएको उपप्रमुख श्रेष्ठले जानकारी दिए । विमानस्थल विकास शुल्क कोषमा रहेको रकमबाट विमानस्थल विस्तार आयोजना सम्पन्न गर्ने योजना प्राधिकरणको छ । 

चाप धान्नै नसक्ने अवस्थामा 
विमानस्थको हालको क्षमताले प्रतिघन्टा १ हजार ३ सय ४० यात्रुको मात्र धान्न सक्नेछ । तर, प्रतिघन्टा २ हजार ४६ जना यात्रु धानिरहनुपरेको छ । यता पार्किङ क्षमता नहुँदा आकाशमा दुई घन्टासम्म होल्ड गर्नुपर्ने अवस्था छ । पार्किङको विस्तारले आकाशमा होल्ड हुने समस्या धेरै हदसम्म समाधान हुने श्रेष्ठ बताउँछन् ।

प्राधिकरणले सन् २००२ सम्म १ हजार ३ सय ४० यात्रु पुग्ने र यो संख्या  धान्न सक्ने गरी विमानस्थल निर्माण सुधार गरेको छ । गुरुयोजनाअनुसार सन् २०१३ मा २ हजार ४६ यात्रु प्रतिघन्टा यात्रु हेन्डल गर्ने क्षमताको निर्माण गर्ने भनिएको थियो । तर, पहिलो चरणको काम नै २०१९ मा बल्ल सुरु गर्न लागिएको छ ।

स्पेनी कम्पनीसँग दोहोरो मुद्दा सिंगापुरमा
स्पेनी कम्पनी र प्राधिकरणबीच सन् २०१२ मार्चमा विमानस्थल स्तरोन्नतिका लागि सम्झौता भएको थियो । उक्त सम्झौतामा सन् २०१६ मार्चमा काम सकिनुपर्ने उल्लेख थियो । तर, सान्जोसेले निर्धारित समयमा १७ प्रतिशत मात्र गरेको भन्दै प्राधिकरणले सम्झौता रद्द गरेको थियो । त्यसपछि सान्जोसेले १० अर्ब रुपैयाँ क्षतिपूर्ति माग्दै सिंगापुर अदालतमा मुद्दा दायर गरेको छ । प्राधिकरणले पनि स्पेनी कम्पनीले समयमा काम नगरेको भन्दै १२ अर्ब क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गरेको छ । 

नेपालमा भएको मुद्दामा प्राधिकरणले जित्यो भने सिंगापुरमा चलिरहेको मुद्दाको फैसला भएको छैन । ‘हाम्रो समयमा काम नगर्ने र फेरि हामीविरुद्ध नै मुद्दामा गएपछि सोही अदालतमा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो, तर फैसला भएको छैन,’ प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । सान्जोसेले ६ तहमा १ अर्ब ६५ करोड ८२ लाख ३३ हजार ९ सय ३८ रुपैयाँ धरौटी राख्दै त्यति नै अग्रिम भुक्तानी लिएको छ । ठेक्का रद्द भएसँगै निर्माण कम्पनीले दाखिल गरेको रकम प्राधिकरणको खातामा आइसकेको छ ।  नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्