
इरानले बुधवार एकाबिहानै इराकमा रहेको अमेरिकी नेतृत्वको सैन्यबलहरूमाथि क्षेप्यास्त्र प्रहार गरेपछि पशिच्म एसियामा व्यापक युद्धको खतरा बढेको छ । इरानी कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले हवाई आक्रमण गरेर मारेपछि प्रतिशोध लिन इरानले उक्त आक्रमण गरेको हो ।
इरानले आफ्नो भूमिबाट एक दर्जनभन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेर अमेरिकी नेतृत्वको गठबन्धन बसिरहेका दुईवटा ठाउँलाई तारो बनाएको अमेरिकी सेनाले जनाएको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले एक ट्वीट गरेर इरानी आक्रमणबाट भएको मानवीय तथा भौतिक क्षतिको लेखाजोखा भइरहेको र आफूले पछि एक बयान दिने भनी ट्वीट गरे ।
‘सब ठीक छ,’ ट्रम्पले लेखे ।
All is well! Missiles launched from Iran at two military bases located in Iraq. Assessment of casualties & damages taking place now. So far, so good! We have the most powerful and well equipped military anywhere in the world, by far! I will be making a statement tomorrow morning.
— Donald J. Trump (@realDonaldTrump) January 8, 2020
उक्त आक्रमणमा कुनै पनि अमेरिकी नमारिएको प्रारम्भिक संकेत पाइएको एक स्रोतले जनायो । अन्य अमेरिकी अधिकारीले भने यसमा टिप्पणी गर्न अस्वीकार गरे ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्सले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गर्दै कासिम सुलेमानीको हत्याको प्रतिशोध लिन आक्रमण गरेको बताए ।
कोर्प्सले थप मृत्यु हुनबाट रोक्न अमेरिकालाई पश्चिम एसियाबाट आफ्ना सैनिकहरू फिर्ता लैजान भनेको छ । अनि इजरायल लगायतका अमेरिकी साझेदारलाई आफ्नो भूभागबाट आक्रमण नगर्न पनि उसले चेतावनी दिएको छ ।
पेन्टागनका प्रवक्ता जोनाथन होफम्यानले एक वक्तव्य जारी गरेर अल–असद हवाईअड्डा र एर्बिलमा रहेको अर्को ठाउँलाई तारो बनाइएको बताए ।
रोयटर्सबाट