
अस्ट्रेलिया सरकारले हेलिकप्टरबाट गोली हानेर १० हजारभन्दा बढी उँट मार्ने निर्णय लिएपछि पशुप्रेमी आक्रोशित बनेका छन् । उँटले पानी धेर पिउने भएकाले सुक्खामा पानी जोगाउन उक्त जनावर मार्नुपर्ने जिकिर अस्ट्रेलियाले लिएको छ ।
दक्षिण अस्ट्रेलियामा हजारौं उँटलाई बुधवार मारिन लागेको छ । त्यहाँ भयानक सुक्खाका कारण पानीको अभाव भएपछि उँटहरू पानीको खोजीमा मानव बस्तीमा पस्न थालेका छन् । तिनीहरूले स्थानीयहरूलाई तर्साएको, सम्पत्ति नष्ट गरेको र स्थानीय बोटबिरुवा नष्ट गरेको बताइएको छ ।
आदिवासी नेताहरूले उँटको संख्या बढेकाले तिनलाई मार्न आदेश दिएको बताएका छन् ।
उँटहरूले पाँच किलोमिटर परबाट पानीको गन्ध पाउने र उनीहरूले पानीको खोजीमा एयर कन्डिसनरलाई समेत भत्काउने गरेका छन् । उँटहरूले तीन मिनेटमा २०० लिटर पानी पिइदिन्छन् । त्यसले गर्दा पानीको हाहाकार भइरहेका सुक्खाग्रस्त शहरहरूमा झन् अप्ठ्यारो स्थिति आउने बताइएका छ ।
भोकले, प्यासले र पानीको खोजीमा भागदौडका क्रममा मरेका उँटहरूले पानीका स्रोत र सांस्कृतिक स्थलहरूलाई फोहर बनाएका छन् ।
अस्ट्रेलियामा अहिले कुल १० लाख उँट छन् । डढेलोका कारण पहिले नै ५० करोड जनावरहरू मरिसकेको अवस्थामा उँटहरूलाई मार्न खोज्दा पशुप्रेमीहरूले आपत्ति उठाएका छन् ।
मानिसका कारण प्राकृतिक प्रकोप आउने गरेको र मूक जनावरहरूलाई त्यसको बलि बनाउने गरिएको भनी समाजिक सञ्जाल प्रयोगकर्ताहरूले लेखेका छन् ।
एजेन्सी