०५ साउन २०८३, मंगलबार

राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण : मन्त्री पोखरेल

राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण : मन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले जनता एवं कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको बताएका छन्।

नेकपा कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले ठूलो सङ्ख्यामा रहेका नेपालका कम्युनिष्टहरु छिन्नभिन्न हुँदा देशले समृद्धि र विकासमा अपेक्षित गति लिन नसकेका कारण आम जनताको चाहनाअनुसार दुई ठूला पार्टी एकीकरण गरिएको बताएका हुन् । बितेका कुराले कुनै पनि फाइदा नहुने तर त्यसबाट शिक्षा लिएर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिँदै उनले मतमात्र होइन, मनसमेत मिलाउनुको विकल्प नरहेको उल्लेख गरे। 

पार्टी एकीकरणका अधिकांश काम सकिएको बताउँदै मन्त्री पोखरेलले आगामी माघ १५ मा बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकले बाँकी काम टुङ्ग्याउने विश्वास व्यक्त गरे। मुलुकमा लामो समयको अस्थिरताका कारण समृद्धि र विकासले अपेक्षित गति लिन नसकेको वास्तविकतामा बनेको वर्तमान स्थिर सरकारले दीर्घकालीन सोचका साथ काम अगाडि बढाइरहेको उनले स्पष्ट पारे।

सङ्घीय व्यवस्था देशका लागि नयाँ राजनीतिक अभ्यास भएको बताउँदै उहाँले सरकार गठनयता हालसम्मको समय अधिकांश नीति तथा कानून निर्माणमा व्यतित भएको बताए। सरकारले आगामी दिनमा विकास लक्षित कार्यक्रम तीव्रताका साथ अघि बढाउने उनको भनाइ छ ।
    
नेपाल ट्रष्टका अध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेलले ट्रष्टको विद्यमान नीति नियमअनुसार यसको सम्पत्ति, शिक्षा, स्वास्थ्य, पर्यटन र व्यवसाय अभिवृद्धिमा उपयोग गरिने व्यवस्था रहेकाले अन्य प्रयोजनका लागि नदिइने स्पष्ट पारे। ट्रष्टमा हालसम्म २१ हजार ५०० रोपनी जग्गा र रु एक अर्बभन्दा बढी र शेयरसमेत रहेको जानकारी दिँदै उहाँले पोखराका रत्नमन्दिर, हिमागृहजस्ता सम्पदा प्रदेश सरकारसँग समन्वय गर्दै बृहत् हितमा उपयोग गरिने तयारी भइरहेको बताए।

सीमालगायतका राष्ट्रियतासँग जोडिएका विषय सबैको साझा सरोकारको विषय भएको बताउँदै उहाँले यस सम्बन्धमा देखिएका समस्या समाधानका लागि नेपाल र भारतबीच औपचारिक छलफलको प्रक्रिया शुरू भइसकेको बताए।
    
आगामी माघ ९ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य पदको उम्मेदवारीका लागि पार्टीले आवश्यकता, औचित्य एवं योगदानका आधारमा तय गरेको जानकारी गराए। सरकारको बाँकी कार्यविधि जनताले अनुभूति गर्ने किसिमले काम गर्ने बताउँदै उहाँले संविधान कार्यान्वयन पनि सोही गतिमा अघि बढेको जानकारी दिए।

पार्टीका कास्की अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष थापा र पार्टी सचिव बखानसिं गुरुङले जिल्लामा विद्यमान पार्टीका समसामयिक गतिविधिका बारेमा जानकारी गराएका थिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्