
संघीय गणतन्त्र जर्मनीको राजधानी बर्लिन र संयुक्त अरब इमिरेट्सको अबुधाबीमा त्यहाँस्थित नेपाली राजदूतावासको सक्रियतामा ती देशका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले विविध प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएका छन् ।
कार्यक्रमका क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्वशान्तिका प्रतीक गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थलको अवलोकनका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं भाषिक विविधताको देश नेपालको जीवनकालमा एकपटक भ्रमण गर्न नेपालका कूटनीतिक अधिकारीले आह्वान गरिएको थियो ।
बर्लिनमा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष अभियानलाई सफल पार्न जर्मनीमा रहेका नेपालका मित्र, सरकारी कर्मचारी तथा त्यहाँ बसोबास गर्दै आएका गैरआवासीय नेपालीलाई पर्यापर्यटन, साहसिक पर्यटन, सांस्कृतिक पर्यटन, पर्वतीय पर्यटनलगायत नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे प्रचारप्रसार गर्न आग्रह गरे ।
त्यसैगरी अबुधाबीस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले पर्यटन वर्ष २०२० को प्रवर्द्धनात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक विविधताबारे जानकारी गराउँदै नेपाल भ्रमणका निम्ति युएईका नागरिकहरुलाई अनुरोध गरे ।
उक्त कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेकी फतिमा देरयानलाई सम्मान गरिएको थियो ।