
इरानको राजधानी तेहरानबाट युक्रेनको राजधानी कीएभतर्फ जाँदै गरेको विमान दुर्घटना हुनुअघि विमानस्थलतिर फर्किन खोजेको इरानी अनुसन्धाताहरूले बताएका छन् । विमान खस्दै गर्दा पाइलटले सहायताका लागि रेडियो कल नगरेको र विमानस्थलतिरै फर्काउन लागेको उनीहरूले बताए ।
तीन वर्षदेखि उडाइन थालेको विमानको मेन्टेनेन्स सोमवार गरिएको थियो । विमान उड्नेबित्तिकै प्राविधिक समस्यामा परेको बिहीवार जारी गरिएको रिपोर्टमा उल्लेख छ ।
विमान दुर्घटना भएको भोलिपल्ट एक प्रारम्भिक प्रतिवेदनमा इरानको नागरिक उड्डयन अधिकारीहरूले टिप्पणी गरेका हुन् ।
भुइँमा ठोकिनुअघि विमानमा आगो लागेको अनुसन्धाताहरूले बताए । विमान भुइँमा ठोकिँदा ठूलो विस्फोट भएको किनकि कीएभ जानका लागि त्यसले इन्धन भरेर लगेको उनीहरूको भनाइ छ ।
डेटा र ककपिटमा भएको संवाद राखिएको ब्ल्याक बक्सहरू झिकिएको भए पनि ती क्षतिग्रस्त भएको र तिनको मेमोरी हराएको प्रतिवेदनमा पुष्टि गरिएको छ । इरानको उड्डयन अधिकारीले यसअघि विमान निर्माता वा अमेरिकी उड्डयन अधिकारीलाई उपलब्ध नगराउने बताएका थिए ।
युक्रेनका अधिकारीहरू दुर्घटनाको अनुसन्धानमा सघाउन इरान पुगेका छन् ।
युक्रेनका परराष्ट्रमन्त्री भादीम प्रीस्ताइकोले विमानमा ८२ जना इरानी। ६३ जना क्यानडेली र ११ जना युक्रेनीहरू भएको बताएका थिए । विमानमा यात्रु र विमान कर्मचारी गरी कुल १७६ जना थिए र सबैको मृत्यु भएको छ ।
द गार्डियनबाट