३० जेठ २०८३, शनिबार

सुप विवि पदाधिकारी नियुक्तिमा ढिलाइ, ९ महिनादेखि तालाबन्दी

सुप विवि पदाधिकारी नियुक्तिमा ढिलाइ, ९ महिनादेखि तालाबन्दी
प्रतिकात्मक तस्वीर

कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ९ महिनादेखि निरन्तर तालाबन्दीको शिकार बनेको छ ।

नेपाल विद्यार्थी संघ कञ्चनपुरले ९ महिनादेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिरहँदा सरोकारवाला निकाय भने मौन छन् ।

नेविसंघले तत्कालीन उपकुलपति र रजिस्टारलाई गरिएको बर्खास्ती पुनर्बहालीको माग अघि सारेर तालाबन्दी गरेको भए पनि निलम्वनमा परेका पदाधीकारीको समयावधि सकिसकेको भएपनि तालाबन्दी खुल्न सकेको छैन ।

विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. भुषण श्रेष्ठ र रजिस्टार द्विजराज भट्टले कार्यसञ्चालनप्रति असन्तुष्टि बढेपछि प्रधानमन्त्री कार्यालयले गत पुस २७ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेपछि विवाद शुरू भएको थियो ।

गत चैत २७ गते विश्वविद्यालयकै विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा. पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा संकायका डीन डा. गोविन्द विष्टलाई रजिस्टारको जिम्मेवारी दिइयो । ‘एउटै विश्वविद्यालयमा २ वटा उपकुपति र २ वटा रजिस्टार हुने अवस्था आएपछि पदमुक्त भएकैलाई जिम्मेवारीमा फर्काउन तालाबन्दी गरेका हौं,’ नेविसंघका पूर्वकेन्द्रीय सदस्य कैलाश चन्दले भने, ‘अहिले सरकारले उपकुलपति र रजिस्टार नियुक्तमा गरिएको ढिलाइले अन्योलता बढेको छ ।’ उनले वरिष्ठता र योग्यताका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्नुपर्ने माग रहेको बताए ।

विश्वविद्यालयका कर्मचारीले केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कामकाज गर्न नपाएको गुनासो छ । विश्वविद्यालयको तालाबन्दी खुलाउन जिल्ला प्रशासन कार्यालयदेखि सर्वदलीय संयन्त्रमा पनि बहसको विषय बनेछ तर तालाबन्दी भने खुलाउन सकिएको छैन । जिम्मेवारीमुक्त गरिएका तत्कालीन उपकुलपति श्रेष्ठको समयावधि गत भदौमा सकिएको छ भने रजिस्टार भट्टको पदावधि माघ महिनामा सकिँदैछ ।

विश्वविद्यालयको उपकुलपतिमा कामचलाउरुपमा नियुक्त गरिएका प्रा.डा. पूर्णबहादुर चन्दले आफ्नो कार्यविधि गत मंसिर ६ गते सकिएको बताए । ‘नियुक्त दिँदा शुरूमा अर्को व्यवस्था नभएसम्म भन्दै पत्र दिइएको थियो,’ उनले भने, ‘पछि फेरि ३ महिनाका लागि दिइएको भए पनि त्यो समय सकिसकेको छ ।’

उनले करीब ८ महिना विश्वविद्यालयको नेतृत्व तालाबन्दीमै गरे । उपकुलपतिविहीन रहेको विश्वविद्यालयले नयाँ पदाधीकारी नआउँदासम्म कर्मचारीले कार्यालय बाहिरबाटै सञ्चालन गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्