
सांसदहरूको असन्तुष्टिका बावजुद् प्रदेश नम्बर ३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने निर्णय नेकपाको प्रदेश संसदीय दलले गरेको छ ।
हेटौंडामा शुक्रवार बसेको संसदीय दलको बैठकमा दलका नेता समेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय पारित भएको घोषणा गरेका हुन् ।
यसअघि नेकपाको केन्द्रीय सचिवालय बैठकले प्रदेशको नाम र राजधानीका सम्बन्धमा निर्णय गर्दै सोहीअनुसार गर्न पार्टी कमिटी र संसदीय दललाई निर्देशन दिएको थियो ।
‘पाँच दिनसम्म बैठक बसेर यस विषयमा गम्भीरतापूर्वक छलफल भयो, छलफलपछि दलका नेताले 'प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय पारित हुन्छ' भनेर भन्नुभयो,’ बैठकको निर्णयबारे जानकारी दिँदै प्रदेश सांसद विजय सुवेदीले लोकान्तरसँग भने ।
बैठकमा सांसदहरूले राखेका विचारलाई दलको सम्पत्तिको रूपमा ग्रहण गर्ने र विभिन्न जिल्लाका जनताको भावनालाई सम्बोधन गर्ने गरी संरचना तथा सेवा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा पनि सोचिने सांसद सुवेदीले बताए ।
नेकपाकै अर्का सांसद दीपक निरौलाले पनि प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय संसदीय दलबाट भएको बताए ।
‘नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय संसदीय दलले गरेको छ,’ सांसद निरौलाले लोकान्तरसँग भने, ‘प्रदेश सभामा निर्वाचनको प्रक्रिया शुरू भएपछि ह्वीप जारी हुन्छ ।’
प्रदेशको नाम र राजधानी तोक्न प्रदेश सभाको दुईतिहाइ बहुमत चाहिन्छ । प्रमुख सत्तारुढ दल नेकपासँग स्पष्ट दुईतिहाइ बहुमत छ ।
५ दिनसम्म चलेको संसदीय दलको बैठकमा अधिकांश सांसदले पार्टी सचिवालयको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
यसबीचमा मन्त्रीहरू तथा प्रभावशाली सांसदहरूलाई बालुवाटार बोलाएर सचिवालयको निर्देशनअनुसारकै निर्णय गर्न अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डले निर्देशन समेत दिएका थिए ।
प्रदेश ३ को प्रदेश सभाले नामांकन र राजधानीसम्बन्धी कार्यविधि पारित गरिसकेको छ । भोलि कार्यपरामर्श समितिको बैठक बसेर निर्वाचन कार्यक्रम तय हुने सांसद निरौलाले लोकान्तरलाई बताए ।
देशभरका कुल ७ मध्ये ३ वटा प्रदेश सुदूरपश्चिम, कर्णाली र गण्डकीले नामाकरण र राजधानी तोक्ने काम यसअघि नै सम्पन्न गरिसकेका छन् ।
प्रदेश ३ का अलावा प्रदेश १, २ र ५ मा भने बाँकी नै छ ।