०८ असार २०८३, सोमबार

हेलिप्याड बनाउन असहज, ग्रामीणवासीले पाएनन् सुविधा

हेलिप्याड बनाउन असहज, ग्रामीणवासीले पाएनन् सुविधा

रसुवाका अधिकांश बस्तीमा हेलिप्याड नहुँदा आकस्मिक रूपले लिनुपर्ने हेलिकप्टर सेवा अझै पनि ग्रामीणवासीले सहजरूपमा लिन सकेका छैनन् ।

हेलिप्याड मानव बस्तीको नजिक आवश्यक पर्ने र जिल्लाको प्राय भिरालो जमिन, गाउँटोल नजिक खुलाचौर वा सार्वजनिक स्थान नभएको, खेती गर्ने जमिनका वरिपरि बोटबिरुवा भएका कारण आकस्मिक हावाई सेवा लिन समस्या परिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

वर्षायाममा प्रायःजसो ग्रामीण सडक बाढीपहिरोले अवरूद्ध हुने र दुर्घटनाबाट गम्भीर चोटपटक लागेका, एपेन्डिसाइट भएका र गर्भवतीसमेतलाई छिटोछरितो हेलिकप्टरद्वारा राजधानीका सुविधा सम्पन्न अस्पताल पठाउन हेलिप्याडको जरुरी भएको नागरिक समाजले जनाएको छ ।

प्रत्येक ग्रामीण बस्तीमा हेलिप्याड निर्माणका लागि विगत लामो समयदेखि आफूले आवाज उठाउँदै आएको र छिटोछरितो कार्यान्वयन हुन स्थानीय सरकारसमक्ष आग्रह गरी रहेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार जिल्लाका अधिकांश बस्तीको भू–बनावट विकट भएको र जटिल बिरामीका लागि प्रयोग गर्नुपर्ने हेलिकप्टर सहजरूपमा अवतरण गराउने वातावरणका लागि पूर्वाधार निर्माण गराउन ५ वटै गाउँपालिकासँग समन्वयकारी भूमिका निर्वाह गरिएको बताए ।

पहिलो चरणमा ५ गाउँपालिका सदरमुकाम र दोस्रो चरणमा प्रत्येक बस्तीलाई पायक पर्नेबीच भागमा निर्माण गराइ हेलिप्याड निर्माण गर्ने अवधारणा बनाउन समेत गाउँपालिकासँग आग्रह गरिएको जिल्ला समन्वय प्रमुख भट्टले जानकारी दिए ।

स्थानीय सरकार गठन भएको लामो समय बितिसक्दा पनि जिल्लाका ५ गाउँपालिकामध्ये गोसाइँकुण्ड गाउँपालिकाबाहेक अन्य गाउँपालिकाले हेलिप्याड निर्माण गराउने अवधारणा ल्याउन बाँकी रहेको छ ।

गोसाइँकुण्डले स्याफ्रुबेसी, जिल्ला सदरमुकाम धुञ्चे एवं आफ्नो कार्यक्षेत्रको छ वडामा हेलिप्याड निर्माण गर्ने अवधारणा बनाइसकेको र कार्यान्वयनमा ल्याउन प्रक्रिया अगाडि बढिरहेको गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए । 

पर्यटकले प्रकृतिसँग रम्न क्षेत्र गोसाइँकुण्ड, लाङ्टाङ हिमाल, थुमनको नाकथली जस्ता पर्यटकीय प्रमुखस्थल एवं ऐतिहासिक व्यापारिक नाका रसुवागढी समेत गोसाइँकुण्डभित्र पर्ने भएकाले अत्यावश्यक सेवाका लागि झिकाइने हेलिकप्टर सहज तरिकाले अवतरण गराउने व्यवस्थापनका लागि उपयुक्त स्थान छनोट गर्ने काम भइरहेको अध्यक्ष तामाङले बताए ।

salt training

कमेन्ट गर्नुहोस्