
नेकपा नेताको प्रश्नः कालापानीसहितको नेपालको नक्शा किन सार्वजनिक भएन?
नेपाल र भारतबीच देखिएका कालापानीसहित सीमासम्बन्धी समस्या छिटो समाधान गर्न माग गरिएको छ।
बौद्धिक वृत्त नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘नेपाल–भारतसम्बन्धी गोष्ठी’ का वक्ताले कूटनीतिक तवरले सम्भव नभए राजनीतिक तहबाट समस्याको छिटो समाधान गरिनुपर्ने बताएका हुन्।
प्रबुद्ध व्यक्ति समूहका सदस्य सूर्यनाथ उपाध्यायले पछिल्लो समय भारतले आफ्नो नक्शामा राखेको कालापानी लिम्पियाधुराको विषय नेपालसँग भएका दस्तावेजका आधारमा समाधान गर्न सकिने बताए। काली नदीको मुहान लिम्पियाधुरा नै रहेको प्रमाण नेपालसँग सुरक्षित रहेकाले तथ्यका आधारमा कूटनीतिक एवं राजनीतिक तहबाट वार्ता गरी समस्याको समाधान गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले दुई वटा संसदीय समितिले सरकारलाई नेपालको वास्तविक नक्शा सार्वजनिक गर भनी निर्देशन दिँदा पनि गर्न नसक्नुका कारण के हो स्पष्ट पारिनुपर्ने बताए।
पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रकाे प्रश्न: 'राष्ट्र नायकको वीरगाथाबारे बोल्न नसक्ने ?'
पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र नायकहरूको वीरगाथाबारे बोल्न नसक्ने? भन्दै प्रश्न गरेका छन्।
२९८औँ पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा शनिबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले ‘जनमानसमा के छ के भइरहेको छ भन्ने सबैलाई स्पष्ट रहेको’ बताएका छन्। पृथ्वीजयन्ती आइतबार मनाइँदैछ।
उनले ‘राष्ट्र नायकहरूको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने? भन्दै प्रश्न मात्र गरेका छैनन् ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन’ उल्लेख गरेका छन्।
शाहले राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवं मुलुकले नसोचेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट हुनुहुँदैन भनेका छन्।
मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अभिभाज्य र अखण्ड रहनुपर्ने उल्लेख गर्दै देशको सबै भूभाग रक्षा र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने उनले बताएका छन्।
महामन्त्री शशांकको आरोप : ‘देउवासँग पार्टी सञ्चालनको योजना नै छैन’
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् ।
शनिवार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे ।
‘म ४ वर्षसम्म चुप लागेर बसेको हुँ । पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर तर आएन । अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ,’ उनले भने ।
शुरूमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको उनको भनाइ थियो । अहिलेसम्म संगठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रक्रियामा कुनै स्पष्ट खाका आउन नसकेको कोइरालाले बताए ।
सभापतिप्रति कडारुपमा प्रस्तुत बनेका महामन्त्री कोइरालाले अबका दिनमा कांग्रेसले के गर्दा देश उन्नतितर्फ जान्छ भन्ने सोच्नुपर्ने बताए । सरकारले पनि केही गर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनतामा निराशा छाएको उनको भनाइ थियो ।
प्रदेशको नाम ‘बाग्मती’ : कांग्रेस सांसदको प्रस्तावमा नेकपाको समर्थन !
प्रदेश नम्बर ३ को प्रदेश सभाको शनिवार बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश नम्बर ३ को नामकरणसम्बन्धी ‘बाग्मती’को प्रस्तावलाई छलफलको लागि प्रस्तुत गरेका छन् ।
प्रस्तावलाई सत्तारुढ नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयाल, साझा विवेकशील पार्टीको रमेश पौडेल र शोभा शाक्य, राप्रपाका रीता माझी र राप्रपा संयुक्तका रीना गुरुङले सर्मथन गरे ।
प्रस्तावमा नेपाल किसान मजदूर पार्टीका नेता सुरेन्द्रराज गोरसाइले संघीय राजधानी काठमाडौंलाई रक्षाकवजको रुपमा जोड्न प्रदेश नम्बर ३ को राजधानी हेटौंडा तोकिनु औचित्यपूर्ण रहेको उल्लेख गर्दै प्रदेश सरकारले आगामी वर्षहरूमा प्रदेशका जनतालाई आधारभूत विकासको साथै आर्थिक समृद्धितर्फ जोड्ने कार्यको लागि केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे ।
उनले प्राचीन सभ्यताको प्रतीकका रुपमा रहेको वाग्मतीको नामकरणलाई सहमतिका साथ पारित गर्न लागिपर्ने राय दिए । बाग्मती प्रदेशको नामकरण सम्बन्धी छलफलमा सहभागी हुँदै स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले उक्त प्रस्तावमाथि आफ्नो सर्मथन नरहेको र प्रदेशको अधिकांश जिल्लामा आदिवासी जनताको बहुल्यता रहेको तथ्य औंल्याउँदै उक्त समुदायलाई पनि आत्मसम्मानका साथ समेटिने खालको प्रदेशको नामकरण गर्न सरकारसँग माग गरे ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक आइतवार बिहान ९ बजे बस्ने गरी स्थगित गरे । शनिवार २ पटक सञ्चालन भएको बैठक करीब ३ घण्टा २० मिनेट चलेको थियो ।
मिडिया स्वतन्त्र भए देशमा लोकतन्त्र बलियो हुन्छ : पूर्व राष्ट्रपति यादव
पूर्व राष्ट्रपति डा. रामवरण यादवले मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताएका छन् ।
शनिवार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुन्छ ।’
विधिको शासन, सुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमा मात्र लोकतन्त्रको जग बलियो बनेर जाने उनको भनाइ थियो । देशवासीको सहअस्तित्व, समुदायमा एकता, समुदायको भावनालाई जोडेर हिँड्नुपर्ने दायित्व सरकार र संघीय सभामा रहेको उनले बताए ।
३ तहका सरकारबीचको समन्वयले मात्रै विकास सम्भव रहेको बताउँदै उनले राष्ट्रको समस्या संघीय सभाबाट समाधान गर्दै अघि बढ्नुपर्ने बताए । पूर्व राष्ट्रपति डा. यादवले भौगोलिक विविधता, समुदायको विविधतालाई एक बनाउँदै पूर्ण लोकतन्त्र र गणतन्त्रको आभाष हुने गरी काम गर्नुपर्ने बताए ।
नेकपा–कांग्रेस मिलेपछि राजधानी हेटौंडा र नाम बाग्मती सर्वसम्मत !
नाम र राजधानीको सम्बन्धमा हेटौंडामा बसेको सर्वदलीय बैठकले प्रदेश नम्बर ३ लाई बाग्मती नामाकरण गर्ने र स्थायी राजधानी हेटौंडालाई कायम गराउने एउटा मात्र प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । सो प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मत पारित गराउने निर्णय समेत भएको छ ।
स्थायी राजधानी र नामका विषयमा सर्वसम्मत गराउने प्रयासस्वरुप मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा शुक्रवार अबेर सर्वदलीय बैठक बसेको थियो ।
बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, विवेकशील नेपाली दल, विवेकशील साझा, नेपाल मजदूर किसान पार्टी, राप्रपा र राप्रपा संयुक्तका प्रदेशसभा सदस्यको उपस्थिति थियो ।
बैठकमा मुख्यमन्त्री पौडेलले महत्त्वपूर्ण विषयवस्तुमा यो वा त्यो दलभन्दा पनि सर्वदलीय सहमतिमा निर्णय गर्दा सकारात्मक सन्देश जाने र सकसमा रहेका अन्य प्रदेशले पनि प्रदेश नम्बर ३ ले स्थापित गरेको नजिरबाट समस्या हल गर्न सक्ने बताए । उनले सकेसम्म स्थायी राजधानीको एउटा मात्र नाम हेटौंडा र एउटा मात्र प्रदेशको नाम बाग्मतीलाई सबै दलले समर्थन गरेर जान अनुरोध गरे ।
प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले इतिहास लेखाउने बेलामा एक भएर जानुको विकल्प नरहेको बताए । ‘राजनीति चुनावका बेला गर्ने हो, अहिले साझा मुद्दामा सबै दल एक छन् भन्ने सन्देश दिन एकढिक्का भएर निर्णय गर्नुपर्छ,’ उनले भने ।
बैठकमा सहभागी हुनुअघि आफ्नो दलको संसदीय दलको बैठक बसेको र बैठकले प्रदेशसभामा प्रस्ताव हुने हेटौंडा र वाग्मतीको पक्षमा मत जाहेर गर्ने सर्वसम्मतिले निर्णय गरेको भन्दै नेता बानियाँले एकता प्रदर्शन गर्नुपर्ने बेलामा तलमाथि हुने देखिए ह्वीप लगाएरै भए पनि अगाडि बढ्ने बताए ।
नेकपा संसदीय दलका उपनेता तथा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले व्यक्तिगत रुचि र चाहनाभन्दा पनि माथि उठेर एकता प्रदर्शन गर्ने बेला भएको बताए । ‘हामीभित्र पनि विभिन्न धारणा थिए, अडान थिए तर छलफल र अन्तर्क्रियाबाट एउटै धारणा बनाएका छौं, अब सबै दलको धारणा एउटै भए जनतामा सकारात्मक सन्देश प्रवाह हुन्छ र राम्रो सन्देश जान्छ,’ उनले भने ।
नेपाल मजदूर किसान पार्टीका सुरेन्द्रराज गोसाईंले प्रदेशको राजधानी उपत्यकाभित्र वा आसपास हुनुहुँदैन भनेर आफ्नो दलले पहिल्यैदेखि भन्दै आएको बताए । उनले नाम समेत कुनै जातजाति, धर्म र संस्कृतिलाई प्रतिनिधित्व गर्ने र विवाद निम्त्याउने खालको हुनुहुन्न भन्ने माग रहेकामा हाल अघि सारिएको स्थायी राजधानी हेटौंडा र नाम बाग्मती आफूहरूलाई स्वीकार्य हुने बताए । राप्रपाका रीता माझीले प्रदेशसभामा ऐतिहासिक सहमति कायम हुनुपर्ने भन्दै नाम वाग्मती र सामरिक महत्त्वका हिसाबले हेटौंडा राजधानी उपयुक्त हुने बताए ।
राप्रपा संयुक्तका रीना गुरुङले आफूहरू शुरूदेखि नै हेटौंडाको पक्षमा रहेको र राजधानीको नामसमेत साझा आएकाले सर्वसम्मति गराउने मुख्यमन्त्रीको चाहनामा साथ दिने बताए ।
जतिसक्दो चाँडो एकतामा आउन विप्लवलाई प्रचण्डको आह्वान, भन्छन्– 'ढिला भयो भने फाइदा गर्दैन'
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
सो पार्टीद्वारा धुम्रबराहस्थित पार्टी कार्यालयमा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र अन्य कम्युनिष्ट पार्टीहरूलाई समय छँदै जतिसक्दो चाँडो पार्टी एकताबद्ध हुन आह्वान गरेका हुन् ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नुभएका नेता मोहन कार्की ‘जीवन्त’ र नेत्री सीता कार्कीलाई पार्टीमा स्वागत गर्दै उनले भने,'साथीहरू अप्ठ्यारो नमानिकन एकतामा आउनुहोस्, हामी सबैको उद्देश्य समाजवाद हो, देशलाई समाजवादतर्फ लैजाने आधार तयार भएको छ, अब समाजवादी एकै ठाउँमा आउनुको विकल्प छैन, म समयमै एकीकृत हुन आग्रह गर्दछु ।'
अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनको शुरुका चरणमा आन्तरिक र बाह्य कारणले विभाजन र एकताको प्रक्रिया चले पनि अहिले कम्युनिष्ट पार्टीहरूबीच एकताको लहर जारी रहेको भन्दै उहाँले अब कम्युनिष्टबीच एकताको विकल्प नरहेको बताए। अध्यक्ष दाहालले भने,'विप्लवहरू एकतामा आउनुहुन्छ, अन्य साथीहरू पनि आउनुहुन्छ, तर ढिला भयो भने फाइदा गर्दैन ।'
अध्यक्ष दाहालले तत्कालीन नेकपा (माओवादी र नेकपा (एमाले) बीचको एकतापछि मुलुकमा राजनीतिक स्थायित्व, स्थिर सरकार गठनसँगै आर्थिक विकास हुँदै मुलुक समृद्धिको बाटोमा अग्रसर भएको बताए।
नेता ‘जीवन्त’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आर्थिक विकाससँगै वैज्ञानिक समाजवादलाई पूरा गर्ने लक्षण देखेर आफूहरू पार्टी प्रवेश गरेको प्रष्ट पारे।